कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टुँडिखेल आकर्षक बनाउन गुरुयोजना

माधव अर्याल

पाल्पा — वर्षौंदेखि अलपत्र र बेवारिसे तानसेनको एक मात्र खेल मैदान टुँडिखेलको स्तरोन्नति हुने भएको छ । धूलो र हिलोमा फुटबल खेल्दै आएका खेलाडीले समेत यसबाट राहत पाउने भएका छन् । तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले टुँडिखेलको बृहत्तर गुरुयोजना बनाइसकिएको बताए । ‘सोही गुरुयोजनाअनुसार स्तरोन्नतिको काम अगाडि बढ्नेछ,’ उनले भने, ‘अबको एक साताभित्रै काम सुरु हुन्छ ।’

टुँडिखेललाई खेल मैदानकै रूपमा विकास गर्ने नगरपालिकाको योजना छ । पहिलो काम अन्तर्राष्ट्रियस्तरको फुटबल खेल्न मिल्ने मैदान बनाउने उनले बताए । त्यसका लागि विदेशबाट कार्पेट मगाएर बिच्छ्याउने योजना नगरपालिकाले बनाएको छ । यसअघि दुवो रोपेर सफल नभएकाले नगरपालिकाले फुटबल खेलका लागि कार्पेट ल्याउने योजना बनाएको हो । विभिन्न देशमा कार्पेटका लागि बुझ्ने काम भइरहेको मेयर शाहीले बताए । यसअघि नेपाली सेनाले पटक–पटक दुवो रोपेर स्तरीय फुटबल खेल मैदान बनाउने योजना अघि सारेको थियो । अब अन्तर्राष्ट्रिय मापदण्डको फुटबल मैदान बनेपछि त्यसबाहेक अन्य खेलका लागि प्रवेश गर्न दिइने छैन । जसले गर्दा राष्ट्रियस्तरको खेल खेलाउनसमेत सकिनेछ ।


अहिलेको पैदल हिँड्ने ट्रयाकलाई समेत छेउमा लगिनेछ । ‘गेटबाट भित्र पस्दा दायाँ भागको तीनकुनेमा ज्येष्ठ नागरिक कर्नर बनाइनेछ,’ उनले भने, ‘टुँडिखेलका छेउछाउमा खाल्डा रहेकालाई मिलाइनेछ ।’ खाल्डाको तल र माथिलाई मिलाएर बार लगाएर बस्ने कर्नर बनाइनेछ । विभिन्न स्थानमा टहलिएर बस्ने सेड निर्माण हुने उनले बताए । अहिले अलकत्रा पोल्ने स्थल रहेको क्षेत्रमा सधैंलाई काम लाग्ने मञ्च बनाइनेछ । कन्सर्ट वा अन्य राजनीतिक दलका आमसभा गर्न मिल्ने गरी मञ्च बनाइने उनले बताए । त्यसको वरपर सार्न मिल्ने गरी गमला र फूल राखिनेछ । तानसेन नगरपालिकाको आगामी बुधबारदेखि सुरु हुने परिषद् सकिएपछि नै काम सुरु गर्ने मेयर शाहीले बताए ।


टुँडिखेलको बीचब–बीचमा रहेका सोलार बत्तीलाई पनि छेउमा सार्ने योजना छ । यसैगरी तानसेन नगरपालिकामा सोलार प्यानल राख्ने र टुँडिखेलमा झिलिमिली बनाउने योजना छ । त्यसका लागि १५/२० वटा ठूला लाइट राखिनेछ ।

नगरपालिकाले ४५ लाख र प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेका छन् । त्यसमा १० लाखसम्म थप्न सकिनेछ । काम गर्न सकियो भने बजेट थप्न पनि मिल्ने र ८० लाखसम्म खर्च गर्ने योजना रहेको उनले बताए ।


टुँडिखेलको वरपर हिँड्नका लागि दुवो पनि लगाउने उनले बताए । नगरपालिका अगाडि र माडी क्षेत्र देखिने साइडमा पनि बार लगाइनेछ । यसैगरी ज्येष्ठ नागरिकको विश्रामस्थल बनाउने योजना रहेको उनले बताए ।


नगरपालिकाले अघिल्लो वर्ष नै टुँडिखेलको स्तरोन्नति गर्ने योजना बनाएको थियो । ५ वर्षअघि पनि टुँडिखेलको स्तरोन्नतिका साथै तारबारका लागि छुट्टिएको बजेटका विषयमा अहिलेसम्म गुनासो रहँदै आएको छ ।


मेला महोत्सव नहुने

टुँडिखेलको स्तरोन्नति गर्ने भएपछि यस वर्ष कुनै पनि मेला महोत्सव नहुने भएको छ । तानसेनको टुँडिखेल मैदानमा हुने प्रचार गरिएको महोत्सव स्तरोन्नति गरिने भएपछि उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले महोत्सव गर्न नपाउने भएका हुन् । व्यापार संघले माघ १८ र उवासंघले फागुन १६ देखि व्यापार मेला गर्ने योजना बनाएका थिए । उद्योगी, व्यापारीले उक्त समय र स्थानमा महोत्सव नगर्ने पक्का भएको हो ।


यसअघिका महोत्सव टुँडिखेलमै गर्दै आएका थिए । सामान्य मिनी महोत्सव नारायणस्थान फूलबारीमा गरिन्थ्यो । उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले नयाँ कार्यसमितिको योजनाअनुसार नै फागुनमा महोत्सव गर्ने भनिएको बताए । मिति तय भएपछि विवाद सिर्जना भएको उनले बताए । ‘हामीले धेरै पहिले नै महोत्सव गर्ने निर्णय गरेका थियौं,’ उनले भने, ‘कुनै पनि ‘इभेन्ट’ गर्न टुँडिखेलमा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’


नगर सरकारले तत्कालै काम नगरी नहुने भनेपछि केही समयको पर्खाइमा रहेको उनले बताए । उपयुक्त समय र स्थानमा महोत्सव गर्ने बताउँदै उनले भने, ‘कुनै न कुनै मेला महोत्सव हुनु राम्रो पक्ष हो ।’ व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले संघले तीन महिनाअगाडिदेखि नै महोत्सव गर्ने मिति तय गरेको बताए । ‘महोत्सवका सम्बन्धमा अब हामी पुनर्विचार गर्छौं,’ उनले भने । उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजु महर्जनका अनुसार व्यापार संघको कुरा नआएको भए टुँडिखेलमै महोत्सव हुने थियो ।


मेयर शाहीले भने कुन संस्थाले महोत्सव गर्ने भन्ने भन्दा पनि कुनै एक संस्था वा दुई संस्थाले एकसाथ महोत्सव गर्नुपर्ने बताए । ‘अब तानसेन टुँडिखेलको विकल्प खोज्नुपर्छ,’ उनले भने, ‘त्यसैले अन्यत्र महोत्सव गर्नका लागि नगरपालिका सघाउन तयार छ ।’ विवाद भएपछि नगरपालिकाको संयोजनमा सर्वपक्षीय बैठकले टुँडिखेलमा कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको मेयर शाहीले बताए ।


सर्वपक्षीय बैठक

मेला महोत्सवका विषयमा विवाद उत्पन्न भएपछि नगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको छ । आइतबारको सर्वपक्षीय बैठकमा राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यापारी, सञ्चारकर्मीलगायत सबै क्षेत्रको सहभागिता थियो । नेकपा नेता नेत्रप्रसाद पाण्डेले सम्पूर्ण अधिकार नगर प्रमुखलाई दिएकाले आफ्नो किसिमले निर्णय गर्नुपर्ने बताए । कांग्रेस सचिव अजयमान कर्माचार्यले अहिलेसम्मको क्रियाकलाप हेर्दा टुँडिखेलमा काम छिट्टै सुरु नहुने भएकाले महोत्सव गर्न दिनुपर्ने राय दिए । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष डुलबहादुर कुँवरले योजना सार्वजनिक भइसकेकाले काम हुनुपर्नेमा जोड दिए ।


जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले दुई वर्षको परिदृश्य हेर्दा महोत्सव गर्दा टुँडिखेलमा खासै असर नपरेको बताए । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले स्थानीय सरकारले आफ्नो मातहतको सम्पत्तिको व्यवस्थापन

गर्न निर्णय गर्न सक्ने बताए ।


बैठकमा शिक्षक सुन्दर श्रेष्ठले फागुनमा विद्यार्थी अध्ययनमा व्यस्त हुने समय भएकाले अन्य मितिमा गर्न सुझाव दिए । ‘टुँडिखेलमै महोत्सव गर्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘अन्यत्र पनि गर्ने जग्गा धेरै छन् ।’ पूर्वसांसद यादवबहादुर रायमाझीले श्रीनगर क्षेत्रमा महोत्सव गर्न सुझाव दिए ।


नागरिक समाजका अध्यक्ष वासुदेव ढकालले तत्काल नगरपालिकाले काम सुरु गर्ने हो भने महोत्सव गर्न नहुने बताए ।

प्रकाशित : माघ १६, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?