१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

संस्कृति जोगाउन थारू महोत्सव

मनोज पौडेल

कपिलवस्तु — लोप हुँदै गएको थारू कला र संस्कृति जोगाउन थारू महोत्सव आयोजना गरिएको छ । थारू कल्याणकारिणी सभाको संयोजनमा शिवराज नगरपालिका–५ चन्द्रौटामा जिल्लास्तरीय तीनदिने महोत्सव आयोजना गरिएको हो ।

समाजमा बाह्य प्रभावका कारण थारू गाउँको संस्कृति र पहिचान हराउँदै गएकाले सचेतना फैलाउन महोत्सव आयोजना गरिएको छ । बुधबारबाट सुरु भएको महोत्सव शुक्रबारसम्म चल्नेछ । माघ १ लाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएको छ ।


त्यसैले नयाँ वर्षको उमंग र उत्साहमा रमाउँदै जातीय परम्परा, कला र संस्कृतिको जगेर्ना गर्न महोत्सवमा रूपान्तरण गरिएको थारू कल्याणकारिणी सभा अध्यक्ष उमाशंकर चौधरीले बताए । थारू समुदायमा आफ्नै पृथक संस्कृति छ । थारू मात्र बसोबास गरिरहँदा संस्कृतिमा मौलिकता थियो । भाषा, पहिरन, चाडपर्व, रहनसहन र संस्कृतिमा कसैको प्रभाव थिएन । ०४० पछि जिल्लामा गैरथारू समुदायको बस्ती बाक्लिन थालेपछि अन्य समुदायको प्रभाव पर्दा समस्या हुन थालेको थारू अगुवा कृष्णबहादुर चौधरीले बताए ।


‘त्यसपछि संस्कृतिमा मौलिकता कम हुँदै गयो,’ उनले भने, ‘त्यसको प्रभाव थारू बस्तीमा पर्न थाल्यो ।’ आफ्नो संस्कृतिको मौलिकता जोगाउन नसकेर हराउँदै गएपछि युवा पुस्तालाई जानकारी दिन महोत्सव गरिएको उनले बताए । महोत्सवमा थारू कला, संस्कृति र परिकारका ५० स्टल राखिएका छन् । विगत ४ वर्षदेखि महोत्सवलाई निरन्तरता दिइएको छ ।


यसअघि हथौसा, बरकुलपुर र गोरुसिंगेमा गरिएको थियो । क्रमश: गरेर ठाउँ छान्ने गरिएको अगुवा चौधरीले बताए । पहिला मधेसमा मलेरियाको प्रकोप रहेका बेला थारूलाई लाग्दैनथ्यो । अहिले यो समुदायले समेत परम्परागत र पौष्टिक खाना खान छाडेपछि यो रोगले सताउन थालेको उनले बताए । थारूको परम्परागत खाना घोंगी, सुंगुर, माछा, हाँस, कुखुरा, परेवाको मासु, ढिकरी र चिचरलगायतका परिकार हुन् ।


माघी मनाउन विभिन्न ठाउँमा पेसा व्यवसाय गर्दै बसेका, वैदेशिक रोजगारीमा गएका पनि घर फर्केका छन् । माघीको गाउँ–गाउँमा छुट्टै रौनक छ । युवकयुवती, वयस्क महिला–पुरुष र बूढापाका गाउँबस्तीमा नाचगान गरिरहेका छन् । विभिन्न ठाउँबाट आएका थारू समुदाय नेपाल राष्ट्रिय माविमा भेला भएका थिए ।


त्यसपछि बाजागाजाका साथ थारू पहिरनमा उनीहरू चन्द्रौटा बजार हुँदै महोत्सव स्थल पुगेका थिए । साना बालबालिकादेखि बूढापाका थारू पहिरनमा थिए । युवतीहरूले सजिएका ढकिया बोकेका थिए । उनीहरूले हसुली, कर्धन, कल्ला, नथुनी, बाला र बिन्दिया लगाएका थिए ।


युवक धोतीमा सजिएर हलो, जुवा र कोदालो बोकेका थिए । काठको चप्पल लगाउनेदेखि माछा मार्ने हेलुका र पखई नामको जाल र माछा राख्ने भाँडासहित मेलामा सहभागी भएका छन् । जिल्लामा दोस्रो बढी जनसंख्या थारू समुदायको छ । यहाँ झन्डै १७ प्रतिशत थारू छन् ।

प्रकाशित : माघ ३, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?