रूरूमा मेला भर्नेको भीड

माधव अर्याल

रूरू क्षेत्र — तीन जिल्लाको संगमस्थल रूरू क्षेत्रमा मकर संक्रान्ति नुहाउने र मेला भर्नेको मंगलबार बिहानैदेखि भीड लागेको छ । पाल्पा, गुल्मी र स्याङ्जाको संगम रहेको कालीगण्डकी किनारमा छिमेकी जिल्लासहित भारतका विभिन्न स्थानबाट समेत स्नानका लागि भक्तजन आएका छन् ।

रूरूमा मेला भर्नेको भीड

५ दिनसम्म लाग्ने मेलामा गण्डक स्नान गरी ऋषिकेशव, रूरू कन्या र भृंगुतुङ्गेश्वर महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका सदस्य परशुराम भट्टराईले धार्मिक महत्त्व अनुसार मेला ३ दिन मात्र लाग्ने भए पनि सांस्कृतिक र मनोरञ्जनसहित थप गरेर ५ दिन गराइएको बताए ।


रूरू क्षेत्रमा संक्रान्तिको २ दिनअघिदेखि नै विशेष चलपहल सुरु हुन्छ । संक्रान्तिकै असवर पारेर श्रीमद्भागवत् ज्ञान महायज्ञसमेत चलेको छ । मेलामा २ सयभन्दा बढी व्यापारिक स्टलसमेत छन् । रिडी मेला धार्मिकसँगै घरेलु सामग्री, राडी, पाखी, कम्बल, सुपो, डालो, घाँजी, कन्दमूललगायतका लागि समेत प्रख्यात छ । रिडी क्षेत्रमा स्थानीय रूरू फ्रेन्ड्स क्लबले बर्सेनि सांस्कृतिक कार्यक्रमसहित मेला व्यवस्थापन गर्दै आएको छ ।


‘यस वर्ष पनि सांस्कृतिक कार्यक्रमसहित घरेलु सामग्रीका लागि मेलामा विशेष प्राथमिकता छ,’ क्लबका अध्यक्ष रामलाल विकले भने, ‘गण्डकी स्नानसँगै लोप हुँदै गएका घरेलु सामग्रीको खरिद–बिक्रीका लागि मेला व्यवस्थापन गरेका छौं ।’ हराउँदै गएका घरेलु सामग्रीको प्रवद्र्धन र बिक्रीमा मेलाले सहयोग गर्ने गरेको उनले बताए ।


घरेलु सामग्रीका लागि प्रख्यात भए पनि मेलामा पछिल्ला वर्षमा स्वेदशीसँगै विदेशी तयारी कपडाको समेत व्यापार हुने गरेको छ । ‘व्यापारिक स्टल भयो भने मात्र मेला चलाएजस्तो हुने रहेछ,’ ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त रेग्मीले भने, ‘त्यसैले पाल्पा र गुल्मीतर्फ सांस्कृतिक कार्यक्रम, व्यापारिक स्टल बनेका छन् ।’ मेलामा २ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । रूरू क्षेत्रको गण्डकी स्नानका लागि पहिलो दिनलाई जेठी, दोस्रो दिनलाई माइली र तेस्रो दिनलाई कान्छी संक्रान्ति मानेर स्नान र पूजा गर्ने प्रचलन छ । यो क्षेत्रलाई चार धाममध्येको एक क्षेत्र पनि भनिन्छ । मन्दिरका पुजारी चूरामणि तिमिल्सेनाले ५ दिनसम्म मेला चलाउन महायज्ञ र सांस्कृतिक कार्यक्रम गरिएको बताए ।


महायज्ञको प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डेयले उद्घाटन गर्दै प्रतीक्षालय र विश्रामस्थल बनाउनका लागि आफूले सक्दो सहयोग गर्ने बताए । मेलालाई लम्ब्याउनका लागि सांस्कृतिक कार्यक्रमसमेत राखिएको छ । लोकपप गायक तथा कलाकार अर्जुन कौशलका अनुसार राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूका साथमा रूरू क्षेत्रको मेलालाई भव्य बनाउन लागिएको छ ।


‘३ दिनको मेलालाई ५ दिनसम्म पुर्‍याउने कोसिस गरिएको हो,’ उनले भने, ‘अघिल्ला वर्षमा गुल्मीतर्फ मात्र हुन्थ्यो, यसपटक पाल्पातर्फ पनि राखिएको छ ।’


माघ महिनाभर नै रूरू क्षेत्रमा स्नान गर्न आउने गर्छन् । मेलामा पाल्पा, बागलुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका जिल्लामा तयार गरिएका घरेलु सामग्री पर्याप्त मात्रामा उपलब्ध छन् । मेलामा नेपाली सेनाको गोरख दल गणले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाली सेनाको गुल्मी र पाल्पाको समन्वयमा शिविर राखेको गणका सेनानी मनोज डंगोलले बताए । शिविरमा मुटु, पेट, पुराना घाउ, ग्यास्ट्रिक, पेट दुख्ने, हाडजोर्नी दुख्नेलगायतका रोगको उपचार गरिएको क्याप्टेन डा. विजय श्रीवास्तवले बताए ।


गाउँगाउँमा महोत्सव

रूपन्देही – माघीको अवसरमा रूपन्देहीका गाउँ–गाउँमा खिचडी महोत्सव आयोजना गरिएको छ । थारू समुदायले माघी पर्व धुमधामका साथ मनाइरहेका छन् । प्रदेश सरकारले माघी मनाउन दुई दिन सार्वजनिक बिदा दिएको छ । त्यसले थारू समुदायको बाक्लो बस्ती रहेका क्षेत्रमा जमघट बाक्लिएको छ ।


थारू कल्याणकारिणी सभाले जिल्लाका १६ मध्ये १२ स्थानीय तहमा खिचडी महोत्सव आयोजना गरेको हो । सैनामैना नगरपालिकाको मुर्गियामा ३ दिने खिचडी महोत्सव जारी छ । नयाँ पुस्तालाई थारू पोसाक, खाना र संस्कृति सिकाउन र अन्य जातजातिबीच परिचित हुन महोत्सव आयोजना गरिएको थारू कल्याणकारिणी सभाका खुसीराम चौधरीले बताए ।


जिल्लाकै थारू बाहुल्य शुद्धोद्धन गाउँपालिकामा पनि माघी महोत्सव चलिरहेको छ । त्यसमा थारू समुदायका परम्परागत नाच झुमडा, झिझिया, झर्रा, झाम्टा, लाठी नाच प्रदर्शन गरिएको छ । घोंगी, कछुवा, गँगटा, मुसा, ढिकरी, पतोसमी (गावाको साग र पकौडा), अनुवा माछा, सर्पे माछा, चेर्ची (चामलको मालपुवा) लगायत थारू समुदायका परम्परागत खाना मेला र महोत्सवमा उपलब्ध रहेको चौधरीले बताए । महोत्सवमा परम्परागत खानालाई प्राथमिकताका साथ प्रदर्शन गरिएको छ ।

प्रकाशित : माघ २, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?