कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अन्तत: तकसेरा नै केन्द्र

रुकुमपूर्व — सरकारले २०७३ मा पुथाउत्तरगंगा गाउँपालिकाको अस्थायी केन्द्र कोलमा तोकेसँगै सुरु भएको केन्द्र विवाद बल्ल समाधान भएको छ । केन्द्र कोल बनाइएको विरोधमा उत्रिएको तकसेरामै शुक्रबार गाउँपालिका केन्द्रको उद्घाटन गरिएको छ ।

स्थानीय तह घोषणा र अस्थायी केन्द्र तोकिएसँगै १० र ११ नम्बर वडाका बासिन्दा तकसेरा केन्द्र हुनुपर्ने माग गर्दै आन्दोलित भएका थिए । कोलमा तोकिएको अस्थायी केन्द्रसमेत तकसेराका बासिन्दाले उद्घाटन गर्न दिएका थिएनन् ।


गाउँसभामा भएको मतदानमार्फत गाउँपालिकाको स्थायी केन्द्र टुंगो लगाइएको हो । गत साउन १० मा बसेको गाउँसभामा गाउँपालिकाको केन्द्र टुंगो लगाउन मतदान भएको थियो । मतदानले दुई तिहाई मत तकसेराको पक्षमा दियो । ६९ मत खसेकामा ४७ मत तकसेराले पायो भने २२ मत कोलको पक्षमा खस्यो । मतदान हुनुपूर्व वडा १३ पनि गाउँपालिका केन्द्रका लागि उम्मेदवार थियो । अन्तत: १३ नम्बर वडाले गाउँपालिकाको केन्द्रका लागि दिएको उम्मेदवारी फिर्ता लिएपछि तकसेराको पल्ला भारी भयो । गाउँसभाको निर्णय प्रदेश हुँदै संघीय सरकारमा सिफारिस गरिएको थियो ।


संघीय सरकारको मन्त्रिपरिषद्ले गाउँपालिकाको केन्द्र हेरफेर गर्ने स्थानीय तहको निर्णय सदर गर्दै पुथाउत्तरगंगा–१० तकमा स्थायी केन्द्र बनाउन गरेको निर्णय राजपत्रमा छापिएपछि शुक्रबार तकमा गाउँपालिका कार्यालय तथा त्यस मातहतका कार्यालयको उद्घाटन गरिएको हो । रुकुमकोट जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालले केन्द्रको उद्घाटन गरे ।


गाउँपालिकाको केन्द्रको टुंगो लागेसँगै अब विकास निर्माणमा सहजता हुने गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीमगरले बताए । ‘निर्वाचन हुनुअघिदेखिकै समस्या स्थानीय रूपमै समाधान भयो,’ उनले भने, ‘अब केन्द्रसम्बन्धी विवादका कारण अन्य कामकाजमा असहजता आउने छैन ।’ उनले अब आफू नियमित कार्यालय जाने पनि बताएका छन् ।


यसअघि अध्यक्ष आफैं पनि गाउँपालिका कार्यालय जान छाडेका थिए । साउन १० गते भएको मतदानले तकसेरा केन्द्र पास गरेपछि साबिकको कार्यालयमा जान छाडेका अध्यक्ष घर्तीले गाउँसभाको निर्णय कार्यान्वयनमा आएपछि अब गाउँपालिकाले गति लिने बताए ।


‘स्थानीय तहको केन्द्र तोकिएसँगै सुरु भएको समस्या अब समाधान भयो, हरेक कामकाजका क्रममा यही समस्याले हैरानी बेहोर्नुपथ्र्यो, अब त्यसो हुँदैन । हामी विकासमा अघि बढ्छौं,’ अध्यक्ष घर्तीले भने । लामो समयसम्म चलेको विवाद समाधान भएको दाबी अध्यक्ष घर्तीको छ । ‘अन्तत: वैधानिक तवरबाट केन्द्र टुंगो लागेको छ,’ उनले भने, ‘विधि र प्रक्रिया पुर्‍याएरै केन्द्र टुंग्याइएकाले सबै जनता खुसी छन् ।’


त्यसअघि वडा १३ को पदमी–बिर्गुममा पनि केन्द्र बनाउने निर्णय पारित भएको थियो । गाउँसभाको सामान्य बहुमत सदस्य पदमी–बिर्गुममा केन्द्र बनाउन सहमत भए पनि कार्यान्वयनमा भने आएन । गाउँसभाको सामान्य बहुमतले पदमी–बिर्गुममा स्थायी केन्द्र हुने निर्णय पारित भयो । तर, प्राविधिक त्रुटिले त्यो सफल हुन सकेको थिएन ।

प्रकाशित : पुस २८, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?