कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

स्वास्थ्य क्षेत्रमा व्यापार भयो : पूर्वराष्ट्रपति

दुर्गालाल केसी

दाङ — पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्य क्षेत्र सेवाभन्दा व्यापारमुखी भएको बताएका छन् । स्वास्थ्य क्षेत्र अहिले सेवाभन्दा व्यापारमा केन्द्रित भएको भन्दै उनले नेताका नाममा खुलेका अस्पताल पनि व्यापारिक भइरहेको बताए ।

स्वास्थ्य क्षेत्रमा व्यापार भयो : पूर्वराष्ट्रपति

रिपोर्टस क्लब दाङले बिहीबार तुल्सीपुरको टरिगाउँ विमानस्थलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले बीपी, गणेशमान, मनमोहनजस्ता नेताका नाममा खुलेका अस्पतालमा पनि व्यापार हुनु नेताहरुको अपमान भएको बताए । ‘उहाँजस्ता नेताहरुको लोकतन्त्रका लागि ठूलो योगदान छ । उहाँहरुको बदनाम हुने गरी व्यापार गर्ने होइन,’ उनले भने, ‘सबै अस्पताल जनताको सेवा गर्न तत्पर हुनुपर्छ । नेताको नाम जोडेर अस्पताल खोल्ने तर व्यापार गर्ने कुरा ठीक भएन ।’


वीपी, गणेशमानजस्ता नेताका नाममा खुलेका अस्पतालमा अभ्यास गर्न अनुरोध आए पनि पूर्वराष्ट्रपतिका रुपमा सीमाहरु भएकाले राजनीतिक हिसाबले अभ्यास गर्न नसकिने बताए । ‘म कांग्रेसमा प्रशिक्षित भएर राष्ट्रपति हुन सफल भए पनि अहिले राजनीतिक भूमिका निर्वाह गर्न सकिँदैन । मेरा सीमाहरु छन्,’ उनले भने, ‘मलाई बस्नै मन लागे पनि सरकारी अस्पतालमै बसेर सेवा गर्ने हो । नाफा गर्ने अस्पतालमा बस्न मिल्दैन ।’ तर, आफ्ना चाहनाहरु अहिले स्वास्थ्यभन्दा अन्य क्षेत्रमा केन्द्रित भइरहेको उनले बताए ।


हिमाल, पहाड र तराईको वन जंगल र वातावरण कसरी जोगाउने भन्नेमा आफू चिन्तित भइरहेको उनले बताए । ‘मलाई स्वास्थ्य क्षेत्रभन्दा वन वातावरण संरक्षणमा बढी चासो र चिन्ता छ,’ उनले भने, ‘यसकै लागि मैले चुरे संरक्षणका कार्यक्रमहरु ल्याएको हुँ ।’


उनले संविधान पूर्ण कार्यान्वयनका लागि पनि दवाव सिर्जना गर्दै आएको बताए । ‘मुलुकलाई सही दिशामा अघि बढाउन संविधान पूर्ण कार्यान्वयन जरुरी छ । सबैले आवाज उठाइरहेमा सरकारलाई दवाव पुग्छ,’ उनले भने, ‘मैले पनि दवाव पुगोस् भनेर सबैतिर यही कुरा बोलिरहेको छु । आमजनताको संविधान कार्यान्वयन हुनुपर्छ भन्ने धारणा छ । मेरो चाहना पनि त्यही हो ।’


आफ्नो सपना देशमा जातीय, क्षेत्रीय सद्भाव कायम होस् भन्ने रहेको उनले बताए । ‘देशमा राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम होस् भन्ने चाहना छ,’ उनले भने, ‘देशका सबै समस्या संविधान लागू भएर होऊन् भन्ने चाहना छ । केही असन्तुष्टि रहे पनि संविधानमार्फत संबोधन गर्नुपर्छ ।’


घोराहीस्थित शान्तिसुधा माविको शुक्रबार हुने रजत जयन्तीको कार्यक्रम सम्बोधन गर्न उनी दाङ आएका हुन् ।


प्रकाशित : पुस २६, २०७५ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?