१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बस दुर्घटनाको शोकमा दाङका विद्यालय बन्द

दुर्गालाल केसी

दाङ — शैक्षिक भ्रमणको बस दुर्घटनामा १९ विद्यार्थी र दुई शिक्षकसहित २३ जनाको मृत्यु भएको शोकमा आइतबार दाङका अधिकांश बिद्यालय बन्द गरिएको छ ।

प्याव्सन र एनप्याव्सन दाङले जिल्लाका सबै संस्थागत विद्यालय बिदा गर्ने निर्णय गरेका छन् । प्याव्सनका अध्यक्ष यादव गिरी र एनप्याव्सनका अध्यक्ष भिमबहादुर बुढाथोकीले प्रेस बिज्ञप्ती जारी गरी शोकमा आज जिल्लाका सबै विद्यालय बिदा गरिएको जानकारी दिएका छन् ।


यसैगरी घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, बबई गाउँपालिका लगाएतका स्थानीय तहले पनि आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।


घोराहीस्थित कृष्णसेन इच्छुक पोलिटेक्निक इन्स्टिच्युटका शिक्षक विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार बेलुका पौने पाँच बजे राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना भएको थियो ।


वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु प्रयोगात्मक अभ्यासका लागि सल्यानको कपुरकोटस्थि वनस्पती उद्यानको अवलोनका लागि शुक्रबार बिहान गएका थिए । बेलुकापख फर्कने क्रममा दुर्घटना हुँदा बस सडकदेखि सात सय मिटर तल भिरमा खसेको थियो ।


दुर्घटनामा १९ पुरुष र ४ महिला गरी २३ जनाको मृत्यु भएको थियो । २१ जनाको घटनास्थलमा, एक जनाको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुर र एक जनाको नेपालगञ्ज शिक्षण अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा सबैभन्दा धेरै जुम्लाका ११ जना छन् । यसैगरी दाङका ६ तथा जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १/१ जना छन् ।

प्रकाशित : पुस ८, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?