कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लुम्बिनी पर्यटन महोत्सव सुरु

भैरहवा — लुम्बिनी क्षेत्रको पर्यटन र स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवामा बिहीबारदेखि लुम्बिनी पर्यटन, कृषि तथा व्यापार मेला सुरु भएको छ ।

‘पर्यटन कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ मूल नारासहित सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाले आयोजना गरेको यो महोत्सव यो सातौं महोत्सव हो ।


महोत्सवको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी र बुद्धसँग सम्बन्धित महत्त्वपूर्ण अन्य स्थलहरूका कारणले भैरहवा/लुम्बिनी क्षेत्र विश्व शान्ति र समृद्धिका लागि महत्त्वपूर्ण ऐतिहासिक स्थल भएको बताए । लुम्बिनीसँग जोडिँदै रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा रहेका बुद्धसँग सम्बन्धित स्थलहरूलाई एकीकृत रूपमा गुरुयोजनाले जोडेर अघि बढाइनुपर्ने उनले बताए ।


‘यी तीन जिल्लालाई बुद्धसँग जोडेर हेर्ने हो भने र भौगोलिक बनावटले हेर्ने हो भने पनि हरेक दृष्टिले समान छन्’ उनले भने, ‘विस्तृत परियोजनाले समेट्न सकिने खालका भएकाले यी तीन जिल्लालाई एउटै जिल्ला बनाएर बृहत्तर लुम्बिनी गुरुयोजनाले समेट्दा फरक पर्दैन ।’ लुम्बिनी क्षेत्र पर्यटनको प्रचुर सम्भावना भएकाले यस क्षेत्रले मुलुकलाई रोजगारीमा आत्मनिर्भरता र सुदृढ अर्थतन्त्र बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उनले बताए ।


लुम्बिनी सबै भाषाभाषी र वर्ग, समुदायलाई गर्व गर्न मिल्ने स्थल भएकाले प्रदेशको नामकरण लुम्बिनी राखिनु न्ययपूर्ण हुने उनले बताए । प्रदेश राजधानी भने तत्काल विवाद सिर्जना गर्नुभन्दा आठ/दस वर्षका लागि पहिलाकै सरकारले तोकेको स्थानलाई मान्ने पार्टी र सरकारको मान्यता भए पनि यसको अन्तिम टुंगो लगाउने फैसलाको अधिकार प्रदेश सरकारलाई रहेको उनले बताए ।


निजी क्षेत्रलाई नेपालमा लगानी गर्ने ढुक्क किसिमको वातवरण सिर्जना राज्यले गर्न थालेको दाबी गर्दै उनले नेपालमा लगानी गरेपछि नाफा पनि राम्रो आउँछ, उत्पादन र रोजगारी सिर्जना गर्न सक्छु भन्ने व्यवसायीलाई आत्मविश्वास गराउने जिम्मा राज्यको भएको बताए ।


सांसद घनश्याम भुसालले कम्युनिस्ट सरकारले दुई तिहाईको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए । उनले राजा, कांग्रेस र पञ्चायतले अवसर पाउँदा पनि कुनै पनि रोजगारी सिर्जना नगर्दा सिद्धिएको जनाउँदै

आफ्नो पार्टी नेतृत्वको सरकारलाई पनि सचेतताका साथ काम गर्न आग्रह गरे ।


नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाणले सरकारको काम कारबाहीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे । उनले प्रदेश राजधानी कहाँ राख्ने भन्ने विषयमा ठूला नेताहरू जे पायो त्यो नबोल्न पनि अनुरोध गरे ।


करिब २ सय ५० वटा स्टल रहेको यस महोत्सवले संघ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई थप टेवा पुग्ने आयोजकको विश्वास छ । महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति, भैरहवा आइडल, बालउद्यान, कुस्ती तथा भलिबल खेल एवं लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामलगायतका पुरातात्त्विक क्षेत्रको टुर प्याकेजलगायतका कार्यक्रम समावेश छन् ।


करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको महोत्सवमा ८ करोड बराबरको कारोबार हुने जनाइएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?