कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बिदाको दिन सफाइ र जनचेतना

नवलपरासी पश्चिमका युवा सामाजिक काममा सक्रिय
नवीन पौडेल

परासी — बिदाको अवसर पारेर यहाँका केही युवा सार्वजनिक स्थल सरसफाइ र ट्राफिक जनचेतना जगाउन जुटेका छन्  । बजार विस्तार हुँदै जाँदा सडक किनारमा फोहोर बढेको र चाडपर्वका बेला चालकले सवारी साधन तीव्र गतिमा चलाउने गरेका कारण यहाँका युवा सचेतना जगाउन जुटेका हुन्  ।

बिदाको दिन सफाइ र जनचेतना

कावासोतीका ३० वर्षीय एलएन दवाडी बिदाको दिन बिहानै मास्क र पन्जा लगाएर कुचो एवं डस्बिन लिई सरसफाइमा जुट्छन् । उनलाई सुधन लम्साल, ओमकार घिमिरेसहितका २०/२५ जना युवकयुवतीले साथ दिन्छन् ।


युवाहरूबीच अघिल्लो दिन नै सरसफाइ गर्ने स्थल र संघसंस्थासँगको सहकार्यबारे टुंगो लागेको हुन्छ । सोही योजनाअनुसार उनीहरू स्थानीयलाई समेत सहभागी गराउँदै बजार, सार्वजनिक स्थल, मठमन्दिर, खोलानाला सरसफाइमा जुट्छन् ।


‘दुई वर्षदेखि यसरी नै बिदा मनाउने गरेका छौं,’ दवाडीले भने, ‘अभियान बिस्तारै फैलिँदै छ ।’ अध्ययन र कामको समय कटाएर सुरु भएको अभियानले धेरैको मन जित्दै आएको उनले बताए ।


अभियानले चितवनदेखि पश्चिम र पूर्वी नवलपरासीका मुख्य बजार र सार्वजनिक स्थल सरसफाइ हुन्छ । अभियानमा कावासोतीदेखि चितवन र बुटवलसम्मका एक सय युवकयुवती संलग्न छन् । बजारीकरणसँगै फोहोर व्यवस्थापन नहुँदा सहरमा चुनौती थपिँदै गएको टोलीका अर्का युवा ओमकार घिमिरेले बताए ।


राष्ट्रिय सरसफाइ दिवसका अवसरमा दुई वर्षअगाडि सहभागी भएका यी युवा एक दिन मात्र औपचारिक कार्यक्रम गरेर सरसफाइ गर्दैमा आफ्नो नगर तथा घर सफाइ नहुने निष्कर्षमा पुगेका थिए । त्यसपछि आपसमा छलफल गरेर बिदाको दिनलाई सफाइ र जनचेतना जगाउने काममा सक्रिय हुने अठोट गरेपछि अहिलेसम्म निरन्तर लागेका छन् ।


गाउँभन्दा सहर फोहोर छ । गाउँमा सरसफाइ वा सामाजिक काम भनेपछि स्थानीय सजिलै सहभागी हुन्छन् । तर, सहरबजारमा सामाजिक कामका लागि सहभागिता न्यून हुन्छ ।

आफ्नै पसलअगाडि सरसफाइ गर्दा पनि पसल सञ्चालक हेरेर बस्छन् । त्यस्ता पसलेलाई पनि अभियान सिकाइ भएको अभियन्ता सुधन लम्सालले बताए । चार/पाँच जनाबाट सुरु अभियानमा अहिले एक सयभन्दा बढी युवा संलग्न छन् ।


उनीहरूले सरसफाइसँगै ट्राफिक सचेतनाको काम पनि गर्छन् । गर्मी समयमा बिहान–बेलुका सरसफाइ र जाडो मौसममा सडक किनारमा बसेर चालक तथा पैदल यात्रीलाई दुर्घटना न्यूनीकरणका विषयमा जनचेतना जगाउने काममा व्यस्त हुने गर्छन् । युवाहरू सक्रिय भएर सामाजिक काममा लागेपछि अहिले विभिन्न संघसंस्थाले आफ्नो कार्यक्रममा बोलाउने र जनचेतनामूलक गतिविधिमा सहभागी बनाउन थालेका छन् ।


युवाहरूको सरसफाइमा सक्रियता देखेपछि स्थानीयले दुर्घटना न्यूनीकरणका लागि पनि काम गर्न आग्रह गरे । पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड सबैभन्दा बढी सवारी दुर्घटना हुने क्षेत्र हो । यहाँ हरेक दिन सानाठूला दुर्घटना भइरहेका हुन्छन् । दुर्घटना न्यूनीकरणका लागि यिनै युवा प्रहरीसँगको सहकार्यमा सडकमा जेब्रा क्रसिङ निर्माणदेखि चालक र सडक प्रयोगकर्तालाई सचेतना जगाउने अभियानमा पनि सक्रिय भएर लागेका छन् ।


दुव्यर्सनीमा फस्ने उमेरका युवाले फुर्सदको समयलाई सदुपयोग गर्दै सामाजिक काममा खटेपछि अभिभावक समेत खुसी भएका छन् । दाउन्नेका शिव अधिकारीले युवकयुवतीले फुर्सदको समयलाई सामाजिक काम र सरसफाइमा लगाएर राम्रो उदाहरण देखाएको बताए । ‘आफ्नै खर्चमा सामाजिक काम । त्यो पनि घुम्ने, डुल्ने उमेरका युवकयुवतीबाट,’ उनले भने, ‘अन्य जिल्लाका युवकयुवतीलाई पनि यस्तो अभियान प्रेरणादायी हुन सक्छ ।’

प्रकाशित : आश्विन ३०, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?