१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

अनुशासित चालकलाई सम्मान

कान्तिपुर संवाददाता

पाल्पा — तानसेन नगरपालिका ६ बर्तुङका चालक तथा गाडीधनी जुद्धबहादुर कार्कीलाई नचिन्ने कमै छन्  । जिल्लाको रामपुर क्षेत्रमा कार्कीको गाडी चलाउने तरिका अरूको भन्दा फकर छ  ।

अनुशासित चालकलाई सम्मान

(पाल्पा) - तानसेन नगरपालिका ६ बर्तुङका चालक तथा गाडीधनी जुद्धबहादुर कार्कीलाई नचिन्ने कमै छन् । जिल्लाको रामपुर क्षेत्रमा कार्कीको गाडी चलाउने तरिका अरूको भन्दा फकर छ । उनले चलाएको बसमा बसेपछि यात्रा सुरक्षित हुन्छ भन्ने विश्वास छ । कच्ची तथा साँघुरो सडकमा उनले सधैं सुरक्षित यात्रा गराए ।


‘रामपुरको सडक ओटासिल भएपछि चलाएको छैन,’ उनले भने, ‘कच्ची र अप्ठेरो बाटो हुँदा गुडाएँ ।’ उनले सुरक्षित चलाउने विश्वासले त्यही गाडीमा यात्रा गर्ने धेरै थिए । अहिले तानसेन–बुटवल खण्डमा गाडी चलाउँछन् । कार्कीलाई जिल्ला प्रहरी र ट्राफिकले सम्मान गरेका छन् । पाका र गाडी चलाउने शैली फरक भएकाले दुर्घटना गराएका छैनन् । अनुशासित चालकका रूपमा आफ्नो स्थान बनाएका छन् । ‘अहिलेसम्म सुरक्षित यात्रा गराएको छु,’ उनले भने, ‘धेरै वर्ष भयो तर पनि त्यस्तो अवस्था आएको छैन ।’


उनी मात्र होइन किरण राउत क्षत्री सुरक्षित गाडी चलाउने चालकमा दरिएका छन् । युवाले तीव्र गतिमा चलाउने आरोपबाट मुक्त छन् । ‘अनुशासित भएर चलाएको छु,’ उनले भने, ‘आगामी दिनमा पनि सुरक्षित यात्रा गराउने प्रतिबद्धता छ ।’ उनलाई पनि सम्मानित गरिएको हो । जिल्लाको रामपुर, बाकामलाङ, ग्रामीण भेगका साथै पक्की सडकमा चलाउने केही चालक छनोट गरेर सम्मान गरेको हो । चालक–सहचालकलाई जिम्मेवार, पेसाप्रति सम्मान र उनीहरूलाई सचेत गराउन सम्मान गरिएको प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।


उनका अनुसार लामो समयदेखि चालकको काम गर्दै आएका उत्कृष्ट चालक र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने व्यक्तित्वलाई सम्मान गरेको हो । ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याएका टीका पौडेललाई नगद र प्रमाणपत्रबाट सम्मान गरिएको छ । कार्की र राउत क्षत्रीसहित मीनबहादुर गुरुङ, चन्द्रबहादुर घर्ती, बलनारायण श्रेष्ठ, शिवबहादुर घर्ती र ऋषिराम भट्टराईलाई उत्कृष्ट चालकका रूपमा सम्मान गरिएको छ ।


चालक भइसकेपछि कुनै दुर्घटना नगराएका, सडक अनुशासन र ट्राफिक नियम पालना गरेकालाई सम्मान प्रदान गरिएको ट्राफिक प्रहरी प्रमुख डम्बर गिरीले बताए । उनका अनुसार आगामी दिनमा उत्कृष्ट चालक सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ । यातायात व्यवसायी महासंघका प्रदेश संयोजक डिलबहादुर ढुंगानाले यस्तो कदमले चालकको मनोबल बढ्ने र अन्य चालकलाई पनि सही काम गर्दा पुरस्कृत भइन्छ भन्ने भावना जागृत हुने बताए । ‘पुरस्कार र दण्ड जरिवानाले अनुशासित बनाउन मद्धत गर्छ,’ उनले भने, ‘यस्तो कामलाई निरन्तरता दिनुपर्छ ।’


सहायता कक्ष
तानसेन बसपार्कसहित विभिन्न स्थानमा यात्रु सहायकता कक्ष सुरु गरिएको छ । यात्रुको सुरक्षित यात्राका लागि जिल्लाका तानसेनबाहेक रामपुर बसपार्क, आर्यभञ्ज्याङ, हार्थाेक, छहरा, ताँहु, सराई लगायतका स्थानमा यात्रु सहायता कक्ष सुरु भएको हुन् । बसपार्कमा राखेको कक्षको एसपी पोखरेलले उद्घाटन गर्दै यात्रुलाई सुरक्षित रूपमा यात्रा गराउन सहयोगीको भूमिका निर्वाह हुने बताए ।


कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र नागरिकको सक्रियता रहनेछ । चाडपर्वको समयमा अत्यधिक सवारी साधन गुड्छन् । दुर्घटना नहोस् भनेर चालक, सहचालक र यात्रुलाई सहयोग गर्ने उनले बताए । कक्षबाट जनचेतना फैलाउने, गन्तव्यमा पुग्न बाधाअवरोध नहोस् भन्ने चाहनासहित सहायता कक्ष सुरु गरेको एसपी पोखरेलले बताए ।

प्रकाशित : आश्विन २४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?