कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विकट गाउँ झिलिमिली

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको विकट राप्ती सोनारी गाउँपालिका १ खासकुश्मामा पहिलोपटक मंगलबारबाट बिजुली बलेको छ  । विद्युत् विस्तारपछि त्यस क्षेत्रका सर्वसाधारणको बत्ती बाल्ने सपना पूरा भएको हो  ।

विकट गाउँ झिलिमिली

गाउँमा बिजुली पुग्न सकिएको थिएन । मंगलबार खासकुश्मास्थित डेढ सय सर्वसाधारणका घरमा बिजुली पुगेको हो ।


केही दिनमै बाँकी चार सय घरमा बिजुली पुग्नेछ । त्यसका लागि चार सय बिद्युत् मिटर वितरण गरिसकिएको छ । ऊर्जा, जालस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बिजुली बालेर उद्घाटन गरेका हुन् । विकट क्षेत्रमा पहिलो पटक बिजुली बाल्न विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ पनि मन्त्रीसँगै आएका थिए । मन्त्री पुनले राप्ती सोनारी र त्यसभन्दा बढी पछाडि परेको नरैनापुर गाउँपालिकाका सबै बस्तीमा विद्युत् पुर्‍याउने प्रतिबद्धता जनाए ।


नरैनापुर गाउँपालिकाका सर्वसाधारण अझै टुकीको भरमा छन् । त्यस क्षेत्रमा विद्युत् विस्तारको काम दुई दशकअघि सुरु गरिएको थियो । पछिल्लो नौ वर्षदेखि वनले रूख काट्न अनुमति नदिएको जनाउँदै काम रोकिँदै आएको थियो । वर्तमान सरकारले विद्युत् विस्तारका लागि रूख काट्न बाटो खोलिदिएपछि बिजुलीको सपना पूरा हुने भएको हो ।


खासकुश्मामा दसैंअघि नै बिजुली बाल्ने गरी कामलाई तीव्रता दिइएको थियो । नरैनापुरमा आगामी वैशाखसम्म विद्युत् विस्तार भइसक्ने छ । संघीय सांसद महेश्वर गहतराजले आउने नयाँ वर्षसम्म बिजुली बाल्ने लक्ष्यसहित काम सुरु गरिएको बताए । उनका अनुसार विभिन्न कारणले रोकिएको विद्युत् विस्तारको कामले गति लिएको छ । राप्ती पारि विद्युत् विस्तारका लागि १३ वटा ट्रान्सफर जडान भइरहेका छन् । ‘दसैंसम्म खासकुश्मामा बिजुली बाल्न सफल भएका छौं । अन्य क्षेत्रमा पनि विस्तार हुन्छ,’ उनले भने ।


गत साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् विस्तारको बाटो खुला गरेको थियो । उक्त निर्णयपछि नेपालगन्ज एयरपोर्टदेखि र राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रको वन हुँदै विद्युत् विस्तारको काम सुरु भएको थियो । कोहलपुरबाट धामपुरसम्म ३३ केभी प्रसारण लाइनको अनुमति दिने निर्णय गरेको हो । तर उक्त लाइन विस्तारका लागि दुई वर्षको अवधि भए पनि पाँच वर्षसम्म पूरा हुनसकेको थिएन । पछिल्लो पल्ट त्यहाँबाट ११ हजार केभी प्रशासण लाइनबाट नरैनापुरसम्म विद्युत् वितरण गर्ने गरी तयारीको भइरहेको छ ।


राप्तीपारि विद्युतीकरणका लागि ३३ केभी लाइन विस्तारमा बिनौना(फत्तेपुर–गंगापुर, कटकुइँया–मटैया–कालाफाँटा–लक्ष्मणपुर, कोहलपुर–धामपुर र नरैनापुर–वैजापुर तथा धामपुरमा सबस्टेसन गरी ५ भागमा बाँडिएको छ । कोहलपुरदेखि राप्तीपारि धामपुरसम्म विद्युत् पोल जडान भइसकेको छ । बिजुली विस्तारमा ढिलाइ भएको र विद्युतका पोल ढल्न थालेपछि सर्वसाधारण निराश थिए । नौ वर्षयता विद्युत् विस्तारको काम ठप्प थियो ।

प्रकाशित : आश्विन २४, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?