जातीय र लैंगिक हिंसाको गुनासो
बुटवल — दलित र महिला भएकै कारण आफूहरू दोहोरो मारमा परेको दलित महिलाहरूले गुनासो गरेका छन् ।
शिक्षा र चेतनामा पछि परेका दलित महिलाले अन्यायको विरोध गर्न नसक्ने र बोलिदिने नहुँदा पुरुषको तुलनामा धेरै भेदभाव र छुवाछूत सहनुपरेको बताए ।
दलित महिला संघले बुटवलमा बुधबार आयोजना गरेको दलित महिलाको प्रादेशिक मुद्दाहरू र समाधानका उपाय विषयक छलफल कार्यक्रममा सहभागीले दलित महिलाले जातीय र लैंगिक दुवै किसिमका हिंसा सहनु परेको बताएका हुन् ।
‘पुरुषको तुलनामा महिला दलितमाथि हिंसा र भेदभाव धेरै छ । दमन र थिचोमिचो छ,’ प्रदेश ५ की सांसद दीपा विकले भनिन्, ‘यौन हिंसा र बलात्कारका घटना पनि दलित महिलामाथि नै धेरै भएका छन् ।’ यसलाई रोक्न क्षतिपूर्तिसहितको जागरण अभियान थाल्नुपर्ने उनले बताइन् ।
प्रदेश सांसद रीना नेपाल विकले जातीय भेदभाव र छुवाछूत रोक्न टोलबाटै योजना ल्याउन सुझाव दिइन् । ‘टोल हुँदै वडा, वडाबाट पालिका हुँदै जिल्ला गरेर अभियानलाई सानो क्षेत्रबाट ठूलो क्षेत्रमा लैजानुपर्छ,’ उनले भनिन्, ‘यसले मात्रै वास्तवमा जातीय भेदभाव र छुवाछूत रोक्न सकिनेछ ।’ सांसद कमला विश्वकर्माले सीप भएर पनि दलित समुदायले होटल/रेस्टुराँ खोल्न नसकेको र आत्मसम्मानका साथ आफू जन्मेको गाउँमा घुलमिल हुन नपाएको दुखेसो पोखिन् । यसलाई हटाउन दलित र गैरदलितबीच अन्तरघुलनका कार्यक्रम ल्याउन उनले सुझाव दिइन् ।
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले इतिहासको सबैभन्दा प्राविधिक र दक्ष जनशक्ति दलित भएकाले वर्तमान अवस्थामा उनीहरूमाथि भेदभाव गर्नु भनेको इतिहासलाई धिक्कार्नु भएको बताए । संविधानले दलित हकलाई मौलिक हक र भूमिहीन दलितलाई जग्गाको समेत व्यवस्था गर्न आग्रह गरेकाले अब दलितहरू पनि हेपिएर बस्न नहुने उनले सुझाव दिए । नकारात्मकको सट्टा सकारात्मक रूपमा शिक्षा, स्वास्थ्य, रोजगार, राजनीतिलगायतका अवसरमा पहुँच बढाउन सके छुवाछूत र भेदभाव आफैं हट्ने भएकाले युवकयुवतीलाई त्यसतर्फ आकर्षित गर्न उनले आग्रह गरे ।
प्रदेशका तर्फबाट अन्तरपालिका स्तरीय जातीय भेदभावविरुद्धका अभियान थाल्ने भन्दै मन्त्री बरालले स्थानीय तहलाई पनि वडास्तरबाटै छुवाछूतमुक्त अभियान थाल्न सुझाव दिए । दलित महिला संघकी केन्द्रीय अध्यक्ष कला स्वर्णकारले सबै प्रदेशमा दलित महिलाका मुद्दा खोतलेर समाधानको उपाय खोज्न कार्यक्रम आयोजना गरेको बताइन् ।