कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

विदेश बिर्सेर गाउँमै च्याउ खेती

१६ हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका सुनार अहिले १ करोड रुपैयाँभन्दा बढीको लगानी जुटाउन सफल भएका छन् 
करिश्मा चौधरी

बाँके — ६ वर्ष विदेशको गर्मीमा बिताए । ६ वर्ष आफ्नै गाउँमा च्याउखेती गरे । बराबर समय । उस्तै मिहिनेत । खजुरा गाउँपालिका ३ के गाउँका लालबहादुर सुनारलाई आम्दानी र सन्तुष्टि भने स्वदेशमै धेरै मिल्यो । अहिले उनी व्यावसायिक च्याउ खेतीमा रमाएका छन् ।

विदेश बिर्सेर गाउँमै च्याउ खेती

‘अर्काको बन्धनमा बसेर काम गर्नु र आफ्नो मनले काम गर्नु धेरै फरक रहेछ,’ उनले भने, विदेशको दु:ख सम्झेर आफ्नै देशमा केही गर्छु भनेर फर्किएको हुँ ।’ ६ वर्ष कुवेतमा बिताएका सुनारले विदेशमा बस्नु आफ्नो मजबुरी भएको बताए । साहूको ऋण तिर्न भनेरै उनी विदेश हान्निएका थिए ।


विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन । उनले एक वर्षसम्म नेपालगन्जमा फलफूल र तरकारीको ठेला लगाए । पछि जिल्ला कृषि विकास कार्यालयको युवा लक्षित कार्यक्रम अन्तर्गत ६० हजार रुपैयाँबाट तरकारी खेती सुरु गरे । तरकारी खेती गर्दा ०६९ सालमा टहरा बनाएर १६ हजार रुपैयाँको लगानीमा च्याउ खेती सुरु गरे ।

सुरुमा १ सय २० पोकाबाट च्याउखेती सुरु गरेका उनी उत्पादन राम्रो भएपछि च्याउ खेतीमै रमाएका छन् । १६ हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका सुनार अहिले १ करोड रुपैयाँभन्दा बढीको लगानी जुटाउन सफल भएका छन् । दुई वर्षअघि एसियाली विकास बैंकबाट २९ लाख ६४ हजार आर्थिक सहयोग पाए । ‘लक्ष्मी बैंकबाट ३५ लाख रुपैयाँ ऋण लिएँ,’ उनले भने, ‘यसले च्याउखेती विस्तारमा सहयोग पुगेको छ ।’


टहराबाट च्याउखेती सुरु गरेका सुनारले दुई वर्षअघि आधुनिक पक्की संरचना बनाए । अहिले च्याउ लगाउनका लागि ८ वटा ठूला कोठा निर्माण गरेका छन् । पराल राख्ने, पराल पखाल्ने, पकाउने छुट्टाछुट्टै उपकरण र ठाउँ बनाएका छन् । उनले छोराका नामबाट श्यामसुन्दर च्याउ उद्योग फर्म दर्ता गरेका छन् । च्याउ फर्ममा ५ जनाले नियमित रोजगारी पाएका छन् । सिजनमा २० जनाभन्दा धेरै हुन्छन् ।

आवश्यकताअनुसार दैनिक कामदार लगाउँछन् । कन्य च्याउको उत्पादन गर्दै आएका सुनारले यस सालदेखि गोब्रे च्याउको पनि उत्पादन सुरु गर्ने बताए । सुनारले च्याउ फर्मबाट राम्रो आम्दानी गर्छन् । च्याउको सिजन सुरु भइरहेको छ । विगतका वर्षमा दैनिक तीनदेखि पाँच क्विन्टलसम्म च्याउ बेचेका सुनारले यस वर्ष यसलाई बढाउने लक्ष्य लिएका छन् ।


उत्पादित च्याउको बजारका लागि कुनै समस्या छैन । यहाँको च्याउले नेपालगन्ज, कोहलपुर, धनगढी र सुर्खेतसम्म बजार पाएको छ । तालिमबिना नै च्याउ खेती सुरु गरेका सुनार अचेल आफैं तालिम दिन्छन् । मिहिनेत गरे सफल भइन्छ भन्ने सोचाइ सुनारको छ । खेती गर्दै जाँदा अनुभव भयो ।

आत्मविश्वास बढ्यो । यसैमा लागिपरे । कर्म गरे । रात दिन भनेनन् । ‘कर्म गरे अवश्य फल पाइन्छ,’ उनले भने, ‘हिजो १०/१५ हजारका लागि अरूसँग हात जोड्नु पथ्र्याे । आज २/४ लाख दिने मान्छे छन् ।’ व्यावसायिक च्याउ खेती गरिरहँदा सुनारलाई विभिन्न समस्या पनि नपरेका होइनन् । तर, उनी च्याउखेतीमै लागिपरे र सफल भए । ‘०७३ सालमा खोर नै सखाप भएको थियो । १७ लाखको लगानी खेर गयो । तर, हिम्मत हारिनँ,’ उनले भने, ‘साथीभाइको साथले फेरि सुरु गरें ।’ समस्या आए पनि काम गर्छु भन्ने आत्मविश्वास भए र मिहिनेत गरे कृषिकर्ममा सफलता पाइने उनले बताए ।


सुनारले समूह, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार पनि पाएका छन् । पुरस्कार र सम्मानले मैले पनि केही गरिरहेको छु भन्ने लाग्ने उनी बताउँछन् । ‘आफ्नो काममा खुसी र सन्तुष्ट छु,’ उनले भने, ‘तर, अझै धेरै गर्न बाँकी छ ।’

प्रकाशित : आश्विन १६, २०७५ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?