कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिकाइमै बित्यो वर्ष

पाल्पा — माथागढी गाउँपालिकाका जनप्रतिनिधिको एक वर्ष सिक्नमै बितेको छ । आठ वडा रहेको गाउँपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरूले सिकाइ एवं भोगाइमै वर्ष दिन बिताए । उनीहरूले देखिने गरी काम गर्न विभिन्न बाधा/अवरोधले गर्दा नसकिएको बताए ।

सिकाइमै बित्यो वर्ष

‘नयाँ व्यवस्था, कानुन र भोगाइ पनि भएकाले होला,’ माथागढी १ का वडाध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘यो एक वर्ष हाम्रो सिकाइमै बितेको छ ।’ गाउँपालिकाले पनि कानुन बनाउने, योजना बुन्ने र जनतासँगको सहकार्यलाई एक वर्षमा जोड दिएको छ । वडावडामा विकास निर्माणका काम भने विगतमा जस्तै छ । जनताले फरक अनुभव गर्न पाएका छैनन् ।


अघिल्लो वर्ष प्रदेश र केन्द्रीय संसद्को चुनाव भएर पनि खासै धेरै काम गर्न नसकेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए । ‘प्रदेश र केन्द्रको निर्वाचनले पनि केही महिना काम गर्न सकिएन,’ उनले भने, ‘पहिलो वर्ष भएकाले सिकाइ र भोगाइ नै अनुभव बनेको छ ।’


उनका अनुसार मुख्य काम कार्यालयको संस्थागत व्यवस्थापन नै हो । कर्मचारी र भवनको अभाव छ । वडा कार्यालयको भवनबाट गाउँपालिका चलाउनु परेको छ । ६ नम्बर वडा कार्यालय व्यवस्थित बनाउन सकिएको छैन । स्थानीय विकास निर्माण र स्थानीय समस्यालाई स्थानीय तहमै समाधान गर्न सुरु भएको उनको एक वर्षको अनुभव छ । ‘जनतालाई स्वच्छ खानेपानी व्यवस्था गर्नका लागि लिफ्ट खानेपानी योजना ल्याएका छौं,’ उनले भने, ‘सुरुवाती चरण भएकाले पनि कतिपय योजना सम्पन्न हुन बाँकी छन् ।’ कृषि, शिक्षा, स्वास्थ्य र विकास निर्माणलाई नै जोड दिएको उनले बताए ।


‘४ सय ५० जना युवालाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी तालिम दिइएको छ,’ अध्यक्ष थापामगरले भने, ‘गाउँपालिकाको ५० लाख र स्थानीय जनताको २२ लाख रुपैयाँको लागतमा झन्डै १ किलोमिटर सराई–एक्लेवर मोटरबाटो कालोपत्रे गरिएको छ ।’


‘एक वर्ष अनुभव लिँदालिँदै बितेको छ,’ गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले भनिन्, ‘अबका दिनमा पक्कै पनि सही ढंगले काम अगाडि बढ्नेछ ।’


गाउँपालिकाको डिजिटल वस्तुगत विवरण, मोबाइल एप्स र त्यसैका आधारमा आवधिक र दीर्घकालीन योजना बनेको गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले बताए ।


‘गाउँपालिकामा काम गर्नलाई सबैभन्दा अप्ठ्यारो भनेको कर्मचारी अभाव नै हो,’ उनले भने, ‘एकातिर हामीमा अनुभवको कमी रह्यो भने अर्कोतिर संघीय र प्रदेश सरकारबाट अनावश्यक हस्तक्षेप पनि भएको छ ।’ न्यून बजेट अर्को समस्या भएको वडाध्यक्ष जनक रिजेलले बताए । ‘जे जसरी सिंहदरबारको अधिकार गाउँघरमै पुग्यो भनेर प्रचार गरियो, त्यो हुन सकेन,’ उनले भने ।


कतिपय अवस्थामा राजनीति पूर्वाग्रही बन्दा पनि समस्या भएको छ । गाउँपालिकाका अध्यक्ष थापामगरका अनुसार बाँसटारीबाट झडेवा जाने मोटरबाटोलगायत केही योजनामा अख्तियारमा मुद्दा हालेर अवरोध गर्ने प्रयास भएको छ । ‘विपक्षीको काम दु:ख दिने मात्र होइन, सुझाव दिएर पनि अघि बढ्न सकिन्छ,’ उनले भने ।

स्थानीय जनताको स्थानीय विकासमा सहभागिताले पनि काम गर्न सहज बनाएको उनले बताए । सीमित कर्मचारी भए पनि मिहिनेत गर्ने भएकाले उत्साह जगाएको उनले बताए । ‘माथागढी गाउँपालिकाको समृद्धि सम्भव छ,’ उनले भने, ‘समुन्नत माथागढीका लागि यस वर्ष पनि जनताको उत्साहपूर्ण सहभागिता र साथ रहने अपेक्षा गरेका छौं ।’

प्रकाशित : भाद्र २९, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?