२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

रमणीय नरपानी उपेक्षित

वीरेन्द्र केसी

अर्घाखाँची — पर्यटकीय स्थल नरपानीको वनभोजस्थलमा प्रसाद ग्रहण गर्नेबीच बारम्बार झगडा, भनाभन र झडप भएपछि त्यस क्षेत्रमा मदिरा निषेध गरिएको छ ।

रमणीय नरपानी उपेक्षित

धार्मिक पर्यटकीय स्थल सुपा देउराली दर्शन, पूजापाठ र बलि चढाएपछि प्रसाद ग्रहण गर्न दुई किमि उत्तरको नरपानी आउने गरिन्छ । दैनिक बोका र पाठीको बलि चढाइन्छ । दैनिक एक सयभन्दा बढी तीर्थालु दर्शन गर्न नेपाल र भारतका विभिन्न ठाउँबाट यहाँ आउँछन् । नरपानी चिसो ठाउँ भएकाले गर्मी छल्न तराईबाट पर्यटक आउने गर्छन् ।

शनिबार सन्धिखर्क र कपिलवस्तु चार नम्बरका दुई समूहबीच प्रसाद ग्रहण गर्ने सबालमा कुटाकुट भएपछि घुम्तीदेखि बुढीचौरसम्म करिब १० किमि क्षेत्रमा मदिरा सेवन गर्न र बेच्न प्रतिबन्ध लगाइएको हो । जिल्ला प्रशासनमा बसेको सर्वदलीय बैठकले रोक लगाएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

यस क्षेत्रमा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने र कुनै पनि पसलेले बिक्री गरेमा अब कानुनबमोजिम कारबाही हुने भएको छ । लाइसेन्स लिएर मदिरा बिक्री गर्ने पसल र होटलवालाले पनि बिक्री गर्न नपाउने उनले बताए ।

मन्दिरमा बलि चढाएको प्रसाद नरपानीमा ल्याएर खानपिन गरिन्छ । त्यसैले नरपानी पर्यटकीय गन्तव्य बन्दैछ । गर्मी सिजनमा शीतल हुने भएकाले तराईबाट बस्न आउने बढदै गएपछि होटल र रेस्टुराँ खुल्ने क्रम बढदो छ ।

सुपा देउराली मन्दिर आसपासमा यसअघि नै मन्दिर व्यवस्थापन समितिले मदिरा सेवन निषेध गरेको थियो । १० वर्षसम्म मन्दिर सानो आकारको थियो । धार्मिक व्यक्ति नरनारायणले आधुनिक मन्दिर निर्माण गरिदिएपछि तीर्थालु बढेका हुन् । धार्मिक जनविश्वासले भक्तजन बर्सेनि थपिँदै गएको मन्दिर समितिका सचिव यादव घिमिरेले बताए ।

जिल्ला सदरमुकाम पुग्ने सन्धिखर्क–गोरुसिंगे सडक छेउमै रहेकाले यो बाटो भएर गुड्ने गाडीका यात्रु त्यहाँ पुगेपछि मन्दिरको दर्शन गरी भेटी चढाउने गर्छन् । पछिल्लो समय भारतका विभिन्न ठाउँबाट उल्लेख्य मात्रामा तीर्थालु आउने गरेका छन् ।

स्वदेशी र भारतका यिनै तीर्थालु प्रसाद ग्रहण गर्न नरपानी गएर दिनभर नाचगान, मनोरञ्जन, इष्टमित्र, नातेदार र साथीभाइबीच आपसमा खुसियाली साटासाट गरेर बेलुका फर्कने गर्छन् । पिकनिक स्पोटर्समा दिन बिताउने पर्यटकलाई भुल्ने पर्यटकीय पूर्वाधार बनाउनतिर कसैको ध्यान गएको छैन । नरपानीका स्थानीय युवा र नेपाली सेनाले स्पोटर्स निर्माण गरेपछि त्यहाँ पुग्ने पर्यटकलाई खाना पकाउन भने केही सजिलो भएको छ । नरपानी र सुपा देउराली क्षेत्रमा अग्ला चुचुरासहितका पहाड भएकाले सामान्य संरचना बनाएर यहाँ आउने पर्यटकलाई कम्तीमा एक दिन बास बसाल्न सकिन्छ । ‘यससम्बन्धी कुरा लिएर बारम्बार नेता र सरकारी निकायमा धायौं तर अहिलेसम्म कसैको ध्यान गएको छैन,’ घिमिरेले भने ।

पूर्वाधारबिना चिसो मौसम र रमाइलो ठाउँ नरपानीमा पुग्ने पर्यटकलाई शान्ति सुरक्षाको व्यवस्था मिलाउनुको साटो मदिरा निषेधित गर्नु बेठिक रहेको घिमिरेको भनाइ छ । ‘आवेशमा आएर निषेधित गरे,’ उनले भने, ‘बरू मदिरा नखाने समय निर्धारण गर्नुपथ्र्याे ।’ पर्यटकलाई केन्द्रित गरेर करोडौं लगानीका होटल सञ्चालन भएका छन् । स्थानीय उत्पादन बिक्री गरेर गाउँले स्वरोजगार बनेका छन् । पर्यटक नै बसेनन् भने आम्दानीको स्रोत हराउने निश्चित छ । नरपानीको घटनालाई मन्दिरासँग गाँस्न नहुने घिमिरेले बताए । ‘यस क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउनतिर नेताको जोड छैन,’ उनले भने, ‘खालि मन्दिरमा भेटी कति संकलन भयो भनेर पैसाको मात्रै कुरा गर्छन् ।’

नरपानीमा पर्यटकीय पूर्वाधार बनाउँछौं भनेर चुनाव र अन्य समयमा यहाँ हुने कार्यक्रममा नेताले खुबै भाषण गर्छन् । तर, कसैले पनि गुरुयोजना बनाएर विकास गर्नेतिर चासो दिएको देखिँदैन । ‘नेता टोपबहादुर रायमाझीले गुरुयोजना बनाएर पूर्वाधार बनाउन करोडौं रुपैयाँ बजेट भित्र्याएर पर्यटकको केन्द्र बनाउने बारम्बार भाषण गर्छन् तर काम कहिल्यै भएन,’ नरपानीका पर्यटन व्यवसायी पदम केसीले भने, ‘राज्यबाटै नरपानी उपेक्षित छ । जनप्रतिनिधिले पनि गफ गरे, काम गरेनन् ।’ नरपानीमा आएका पर्यटकलाई शान्ति सुरक्षा दिनुपर्नेमा उल्टै मदिरा निषेधित क्षेत्र घोषणा गरेर नकारात्मक सन्देश प्रवाह गरिएको उनले बताए ।

नरपानीको अग्लो पहाडमा र मसिनाको लेकमा जाने पैदल मार्ग बनाउने, पर्यटकलाई भुलाउने र रमाउने खालमा संरचना निर्माण हुनु जरुरी छ । ‘स्वस्फूर्त आएका पर्यटकलाई भुलाउन सक्यौं भने गाउँ स्वरोजगार हुन्थ्यो, राज्य सञ्चालन गर्ने प्रतिनिधिका गफले मात्रै केही हुँदो रहेनछ,’ केसीले भने, ‘लुम्बिनी आएका पर्यटकलाई सुपा देउराली र नरपानी भित्र्याउने र त्यसपछि सन्धिखर्क हुँदै अर्घा लैजाने कुरा बारम्बार उठ्छ । यत्तिकै गाउँ हेर्न कोही जाँदैनन्, पहिले पर्यटक भुल्ने, फोटो खिच्ने र रमाउने संरचना बनाउनतिर ध्यान दिनुपर्‍यो ।’

प्रकाशित : भाद्र २७, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?