कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सामुदायिक वनमा बढे वन्यजन्तु

वनमा डढेलो नियन्त्रण हँुदा ससाना कीरा फट्यांग्रा र वन्यजन्तु सुरक्षित छन् । जैविक विविधता र मित्रजीव जोगिने गरेका छन् ।
मनोज पौडेल

कपिलवस्तु — मुलुककै नमुना तिलौराकोट साझेदारी वनमा वन्यजन्तु बढेका छन् । गतिलो आहार पाएपछि वन्यजन्तु दोब्बर भएका हुन् । पाँच वर्षयता व्यवस्थित रूपमा वनजंगल संरक्षणको काम थालिएको छ ।

सामुदायिक वनमा बढे वन्यजन्तु

वनलाई चारैतिरबाट तारबार गरेर संरक्षण गर्दा मानव आवतजावत कम हुनु, अतिक्रमण नहुनु र वन क्षेत्रमा चारैतिर बाक्ला रूखबिरुवा र झाडी बढ्दै जाँदा वन्यजन्तुमैत्री वासस्थान बन्दै गएको छ । ६ हजार २ सय १२ हेक्टर वनलाई तारबार गरी संरक्षण गर्दा अवैध चोरीसिकार न्यून हँुदा वन्यजन्तुले सुरक्षित महसुस गर्न थालेका हुन् ।


‘वनमा चितुवा, काठे भालु, मृग र चित्तल प्रशस्त देखिन थालेका छन्,’ तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेले भने, ‘मयुर, नीलगाई, मलसाँप्रो, बँदेल, ठूलो न्याउरी मुसो र हरिणको संख्या बढ्दो छ ।’ आठ/नौ वर्षयता देखिन छाडेको चितुवा, काठे भालु र मृग देखिनु राम्रो संकेत भएको सहायक वन अधिकृत मदनमोहन साण्डिल्यले बताए । ठूला–साना गरी पाँच सयभन्दा बढी वन्यजन्तु वनमा विचरण गर्छन् । यसअघि मुस्किलले दुई सय थिए । ‘योजना बनाएर वन्यजन्तु गणना गर्छौं,’ उनले भने, ‘ठूला चितुवा र भालुजस्ता वन्यजन्तु २० भन्दा बढी छन् ।’


हरियाली बढ्नु, रूखबिरुवा पलाउनु र डढेलो न्यूनीकरण हुनु वन्यजन्तुका लागि उपयुक्त भएकाले वन्यजन्तु बढेको डिभिजन वन कार्यालय डीएफओ कृष्णदत्त भट्टले बताए । वासस्थान सुरक्षित भएपछि दुम्सी, खरायो, स्याल र अजिंगर बढेका छन् । वनमा पाँच/पाँच मिटर लामा र ठूल्ठूला पाँचवटा अजिंगर छन् । अन्य वनमा असुरक्षित महसुस हुन थालेपछि यहाँ वन्यजन्तु बढ्दै गएका हुन् ।


यहाँ वासस्थानसँगै वन्यजन्तुको आहार र पानीको स्रोत राम्रो छ । ठूला वन्यजन्तुको आहार हुने साना वन्यजन्तु पनि यहाँ प्रशस्त छन् । कपिलवस्तु नगरपालिका ९ कुश्माका विष्णुबहादुर विकले घाँस काट्न गएका बेला एकैपटक दुईवटा चितुवाले झम्टिन पुग्दा रूखमा चढेर ज्यान बचाएको बताए । ‘पाँच/सात वर्षदेखि देखेको थिइनँ,’ उनले भने, ‘तर, गत साता देखेको मात्र के थिएँ, आक्रमणमै उत्रिए । धन्न ज्यान जोगाएँ ।’


वनमा डढेलो नियन्त्रण हँुदा ससाना कीराफट्यांग्रा र वन्यजन्तु सुरक्षित छन् । जैविक विविधता र मित्रजीव जोगिने गरेका छन् । वन सुरक्षित हुँदा नयाँ–नयाँ घाँस पलाउने गरेका छन् । यही घाँस वन्यजन्तुको आहार हुने गरेको छ । साझेदारी वनले २० भन्दा बढी हेरालु राखेर नियमित वन संरक्षण गरेको छ । उपकरणसहित अग्निनियन्त्रक दस्ता पनि छ । वन क्षेत्र पूर्व किनारैकिनार ७ किमिसम्म वाणगंगा नदी रहेको छ । नदी वन्यजन्तुको पानी पिउने ठाउँ बनेको छ । वन क्षेत्रको बीचमा थुप्रै घोला र नाला छन् । वनमा चरा पनि बढेका छन् । उनीहरूको चिरविराहट र कोकिलकण्ठे बोली दिनभरि नै सुनिन्छ । तर, विषयविज्ञताको अभावमा के कति चरा बढे भन्ने थाहा हुन सकेको छैन ।


वन्यजन्तुको संख्या वृद्धि भएपछि वन कार्यालयले उनीहरूको बासस्थान पहिचान गरी हिँडडुल गर्ने कोरिडोर निर्माण गर्ने बताएको छ । यहाँको वनमा तराई र पहाडमा वस्न सक्ने दुवै वन्यजन्तुका लागि उपयुक्त वातावरण छ । वन क्षेत्र तराईको समथर फाँटदेखि पूर्व–पश्चिम राजमार्ग हुँदै अर्घाखाँचीको चुरे पहाड क्षेत्रसम्म फैलिएको छ ।


यो क्षेत्रमा सीमामा रहेको भारतको बलरामपुर जिल्लामा पर्ने श्वलेवा राष्ट्रिय निकुञ्जबाट पनि वन्यजन्तु आवतजावत गर्न सक्ने अवस्था छ । श्वलेवा राष्ट्रिय निकुञ्ज बाघका लागि विश्वमै राम्रो मानिन्छ ।


श्वलेवाबाट नेपालको शिवगढी गाविसको चुरे क्षेत्र हँुदै वनकसवासबाट दुविया गाविस हुँदै तिलौराकोट साझेदारी वनमा वन्यजन्तु आवतजावत गर्न सक्ने बाटो छ । अब वन्यजन्तु संरक्षणका लागि छुट्टै योजना र कार्यक्रम बनाउने योजनामा रहेको डिभिजन वन कार्यालयका डीएफओ भट्टले बताए । वनका साथ पर्यापर्यटनको पनि विकास गरी पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम बनाइनेछ । वनजंगलको काठ र यहाँको पर्यटनबाट स्थानीयले फाइदा लिन सक्ने गरी काम गर्ने डीएफओ भट्टले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?