कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हत्याको विरोधमा राेल्पा बन्द

रासस

रोल्पा — नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण साेमबार बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ ।

हत्याको विरोधमा राेल्पा बन्द

तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो ।


बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् । लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा यात्रु विचल्लीमा परेका छन् । पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।


अपराधीलाई कारवाही नहुँदासम्म आन्दोलन जारी रहने नेपाल विद्यार्थी सङ्घ रोल्पाका सचिव नारायण रेग्मीले बताए । मृतक पुनको शव परीक्षणका लागि जिल्ला अस्पताल रेउघामा लगिएको प्रहरीले जनाएको छ ।


का‌ंग्रेसद्वारा दुःख व्यक्त

यसैबीच, नेपाली कांग्रेसले आइतबार राति विज्ञप्ति जारी गरी हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ ।


पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट नजिकै भएको घटनामा पनि हत्यारालाई पक्रन प्रहरीले तदारुकता नदेखाउनु दुःखद् भएको उल्लेख छ । कांग्रेसले हत्या भएका पुनमाथि श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।


यसैगरी कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो दलका रोल्पा नगर समितिका अध्यक्ष रोहित पुनको हत्या भएकोमा दुःख व्यक्त गरेको छ ।


दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले एक विज्ञप्ति जारी गरी आइतबार दिउँसो सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पुनमाथि गोली हानिएको भन्दै दुःख व्यक्त गरेको हो ।


हत्यामा संलग्नलाई तत्काल नियन्त्रणमा लिइ कडा कारवाही गर्न नेपाल तरुण दल माग गरेको छ । हत्यारालाई नियन्त्रणमा लिएर कारवाही नगरे तरुण दलले देशभर आन्दोलन गर्ने जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?