कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

हुलाकी सडकको बेहाल

मनोज पौडेल

काठमाडौँ — यहाँका ढृगनारायण पाण्डेले साबिक महाराजगन्ज गाविस अध्यक्ष निर्वाचित भएदेखि नै स्थानीय हुलाकी सडक निर्माण हुने चर्चा सुन्दै आएका हुन् । ०५४ सालको स्थानीय चुनावमा उनी अध्यक्ष निर्वाचित भए । महाराजगन्ज अहिले नगरपालिका भइसक्यो ।

हुलाकी सडकको बेहाल

पाण्डे प्रदेशसभा सदस्य छन् । व्यक्तिगत जीवनमा आकाशजमिनको फरक आयो । तर, सडकको अवस्था उस्तै बेहाल छ । ‘सडक बनाउने धेरै प्रतिबद्धता सुनिए,’ उनले भने, ‘तर, कसैले पूरा गरेनन् ।’ अहिले आएर टाउको दुखाइ बनेको उनले बताए ।

जिल्लास्थित जानकी माविका पूर्वप्रधानाध्यापक रामबहादुर गुप्ताले ३० वर्ष पढाए । सेवानिवृत्त भएको धेरै भो । यस अवधिमा धेरै उतारचढाव देखे । तर, हुलाकी सडक जस्ताको तस्तै छ । ‘हुलाकी सडकले विकासको आधार तय गथ्र्यो,’ उनले भने, ‘तर, दुई/तीन वर्षको अन्तर गिटी, बालुवा छर्किनेबाहेक केही काम भएका छैनन् । बाटो जस्ताको तस्तै छ ।’ यहाँस्थित २१ किलोमिटर दूरीको तौलिहवा–बहादुरगन्ज हुलाकी खण्ड जीर्ण हुँदा आवजावत जोखिमपूर्ण बन्दै छ ।

दायाँ–बायाँ १५/१५ मिटर चौडा सडकका ठाउँ–ठाउँमा खाडल छन् । मर्मत नहुँदा वर्षाका बेला कतिपय ठाउँमा हिलाम्य हुन्छ । हिलोमा गाडी फस्ने गरेका छन् । जिल्लाकै पुरानो सडकखण्ड स्तरोन्नति नहुँदा दैनिक आवतजावत गर्नेले सास्ती खेप्नुपरेको गैडहवाका नरसिंह कहारले बताए । ‘मोटरसाइकलमा सवार एक/दुई जना दैनिक पल्टिन्छन्,’ उनले भने, ‘यसबाटै सडकको हविगत थाहा हुन्छ ।’

सडक बनेको चार दशकभन्दा बढी बितिसक्दा पनि कालोपत्रे हुन सकेको छैन । सात/आठ वर्षअघि ग्राभेल गरिएको सडक ठाउँठाउँमा भासिएको छ । कतिपय ठाउँमा धूलो र हिलो छ । पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने सहायक मार्गका रूपमा रहेको उक्त सडक राम्रो नहुँदा बस सञ्चालन गर्न समस्या भइरहेको छ ।

बल्लतल्ल प्रतिघन्टा २५/३० किमिको गतिमा साना जिप गुडाउने गरिएको चालक समसुद्दिन खाँले बताए । सडकको संरक्षण पश्चिमाञ्चल सडक डिभिजन कार्यालय नं. ५ ले गरिरहेको छ । बजेट अभावमा आवश्यकताअनुसार मर्मतसम्भार गर्न नसकिएको इन्जिनियर पवन भट्टराईले बताए । ‘मर्मतका लागि सडक बोर्डबाट वर्षको १२/१५ लाख आउँछ,’ इन्जिनियर भट्टराईले भने, ‘त्यसबाट खासै केही गर्न सकिँदैन ।’ यस वर्ष पनि १२ लाख रुपैयाँ आएको थियो । मर्मतका लागि चार लाखको ठेक्का सम्झौता भएको उनले बताए ।

‘समान पूर्वाधार रहेका अन्य स्थानीय तहले ठूलो फड्को मारे,’ महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलामले भने, ‘हामी भने सडकका कारण जहाँको त्यहीँ छौं ।’ गैडहवा, जमुनी, बरइपुर र गगनी आसपास सडक धेरै बिग्रिएको छ । बहादुरगन्ज–झिंगहा १२ किमि हुलाकी सडकखण्डको अवस्था झन् दयनीय छ ।

कच्ची खण्डमा वर्षाका बेला ५/६ महिना त आवतजावत नै हँुदैन । तीन ठाउँमा पुल नहँुदा समस्या भइरहेको छ । यस वर्ष हुलाकी सडक आयोजना काठमाडौंले दुई स्थानमा साना पुल बनाउन सम्झौता गरेको जानकारी आएको इन्जिनियर भट्टराईले बताए । भारत सरकारको दोस्रो प्राथमिकतामा परेकाले स्तरोन्नति हुन नसकेको हो । पहिलो चरणका ६ वटा ठेक्कामध्ये पाँच ठेकेदार काम छाडेर गएकाले पहिलो चरणकै काम पूरा हुन नसकेको इन्जिनियर भट्टराईले बताए ।

यस्तै हुलाकी सडक अभिभावकविहीन बनेको छ । सडक कार्यालयको दायित्व भएको भन्दै स्थानीय तह पन्छिन गरेका छन् । सडक कार्यालयले पनि विभागअन्तर्गत रहेको हुलाकी सडक आयोजनाले काम गर्ने भन्दै चासो दिएको छैन ।

दक्षिणी क्षेत्रका सर्वसाधारणलाई उक्त सडक कालोपत्रे नहुँदा समस्या भइरहेको साबिक कुशहवा गाविसका पूर्वउपाध्यक्ष बुद्धिसागर शुक्लाले बताए । बाटो कालोपत्रे नहुँदा जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगरसँग पनि व्यापार व्यवसाय विस्तार गर्न समस्या भइरहेको तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयाद्दिन कुर्मीले बताए ।

प्रकाशित : भाद्र २४, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?