कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पिरोको खेतीले ‘हिरो’

मनोज पौडेल

कपिलवस्तु — उनलाई नपुग्दो केही छैन । रोजगारीका सिलसिलामा धेरै मुलुक पुगे । प्रशस्त सम्पत्ति जोडे । डेढ दशकभन्दा लामो समय विदेशी भूमिमा बिताएर दुई करोड रुपैयाँभन्दा बढी कमाएको बताउँछन् ।

पिरोको खेतीले ‘हिरो’

विदेशमा आर्जनपछि मुलुक फर्केर रित्तै बस्नुपर्छ भन्ने उनलाई लागेन । त्यसपछि बुद्धभूमि नगरपालिका १०, चेतरादेईका ५२ वर्षीय लालप्रसाद श्रेष्ठ किसान बनेका छन् ।

अहिले उनी व्यावसायिक पिरो (खुर्सानी) खेती गरेर जिल्लामै ‘हिरो’ बनेका छन् । विदेशमा सिकेको सीप यहाँ लागू गरेका छन् । उनले दक्षिण कोरियामा ११ वर्ष बिताए । त्यसपछि जापानमा पाँच वर्ष दु:ख गरे । ‘त्यहाँ दु:ख गर्न हुने,’ श्रेष्ठले भने, ‘यहाँ किन नहुने ?’ अहिले जिल्लामा उनी खुर्सानी खेती गर्ने अगुुवा किसान बनेका छन् । ७ कट्ठामा खुर्सानी खेती मात्रै गरेका छन् ।

गत वर्ष जेठमा बेर्ना उमारेर खेती थालेका थिए । अहिले खेतमा राता/हरिया खुर्सानी लटरम्म छन् । खेत मनमोहक देखिन्छ । खुर्सानी देखेर थोक व्यापारी घरसम्मै आउन थालेका छन् । ‘थोक व्यापारी घरमै आएपछि माग पुर्‍याउन धौ–धौ भयो,’ उनले भने, ‘गत कात्तिकदेखि यता ३० क्विन्टल बेचिसकें ।’

वैशाखसम्म मात्र दुई लाख रुपैयाँको खुर्सानी बिक्री गरेको उनले बताए । त्यतिखेर ६० देखि ८० रुपैयाँ प्रतिकिलोमा बेचे । अहिले मूल्य राम्रो छ । १ सय २० देखि १ सय ५० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । अझै पुगनपुग १० क्विन्टल खुर्सानी खेतमै छ । यसबाट एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने उनले बताए ।

‘विदेश जानुअघि सामान्य किसान थिएँ,’ उनले भने, ‘विदेशको सीपलाई यहाँ लागू गरें, अहिले कमाइ भइरहेको छ ।’ उनका अनुसार यो खेतीमा धेरै मिहिनेत गर्नु पर्दैन । एक पटक लगाएपछि निरन्तर सात/आठ महिनासम्म खुर्सानी टिप्न मिल्छ ।

गत वर्ष साउनमा रापेको खुर्सानी असोज/कात्तिकमा फल्न थालेको थियो । त्यसयता त्यसैबाट उत्पादन भइरहेको छ । नामधारी, सोल्जर र कोरियन प्रजातिका खुर्सानी लगाएका छन् । सुरुमा एक लाख लगानी गरेको उनले सुनाए ।

उपभोक्ताको मागअनुसार उनले पिरो, सामान्य पिरो र देख्दा राम्रो ठिक्कको पिरो खुर्सानी लगाएका छन् । ‘रुचीअनुसारका खुर्सानी तयार छन्,’ उनले भने, ‘जस्तो चाहियो
त्यस्तै दिन्छु ।’

मुलुक फर्केर खुर्सानी खेती गर्ने सोच बनाएर कोरियाबाटै बीउ ल्याएको उनले बताए । अझै खेती विस्तार गर्ने योजना छ । अर्को वर्षदेखि अग्र्यानिक र टनेलभित्र खेती गर्ने सोच बनाएका छन् । तरकारी र चाउमिनमा प्रयोग गर्ने खुर्सानी खेती गर्ने पनि उनको तयारी छ । ‘खुर्सानीमै विविधता खोज्छु । खेत प्रशस्त छ,’ उनले भने, ‘खोलाछेउमै खेत हुँदा सिँचाइको सुविधा छ । लगानीको समस्या छैन ।’ त्यही भएर उपभोक्ताले स्वादअनुसार रुचाएका खुर्सानी उत्पादनको योजनामा लागेको उनले बताए ।

अहिले दुई/तीन जना कामदार राखेका छन् । सधैं हरियाली हुने भएकाले रमाइरहेको उनले बताए । ‘जिल्लामा सात कट्ठामा खुर्सानी खेती गर्ने कृषक छैनन्,’ कपिलवस्तु नगरपालिकाअन्तर्गत कृषि शाखा प्रमुख खुर्सेद अहमद खाँले भने, ‘कार्यालयका तर्फबाट पनि सहयोग गरिरहेका छौं ।’ खुर्सानी घरमा नभई नहुने मसला बाली हो ।

यहाँ उत्पादित खुर्सानीले अझै माग धानेको छैन । त्यसैले भारतबाट आयात हुने गर्छ । दुई वर्षअघि कोरियाबाट फर्केका श्रेष्ठले कृषिमै भविष्य खोज्ने बताए । विदेशमा छँदा गार्मेन्ट, इलेक्ट्रिक, कपडा र गहना पसलमा काम गरेको उनले बताए ।

प्रकाशित : भाद्र २३, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?