भूतखोलामा भासियो सडक

राजमार्गको कम्तीमा ८० मिटर भासिएकाले यातायातका साधन सञ्चालनमा समस्या
माधव अर्याल

दोभान (पाल्पा) — जिल्लाको तिनाउ गाउँपालिका ३ भूतखोलानजिक सिद्धार्थ राजमार्ग भासिएपछि एकतर्फी गाडी सञ्चालन भइरहेका छन् । गत वर्ष केही भाग भासिएको थियो ।

भूतखोलामा भासियो सडक

यस वर्षको बर्खामा झन्डै दुई मिटर गहिरो भत्किएको छ । कम्तीमा ८० मिटर लम्बाइमा राजमार्ग भासिएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको स्थानीय सडक डिभिजन कार्यालयका लेन्थवर्कर सुपरभाइजर जंगबहादुर सुनारले बताए ।

सडकबाट ठाडो भाग सडक दुई मिटर तल बगेको छ । ‘यस वर्षको बर्खामा सडक बढी भासिँदै गएको थियो,’ उनले भने, ‘सडकको ५० मिटरमाथिबाट तिनाउ खोलासम्म बगेको छ ।’

उनका अनुसार दुई घरलाई पूर्ण रूपमा क्षति पुगेको छ । नजिकै सञ्चालन भएको भूतखोला होटललाई पनि क्षति पुगेको छ । माथिल्लो भागमा समेत घर छन् । तल्लो भागमा भने तिनाउ खोला पर्छ ।

दुई साताअघि यही स्थानमा सडक भासिएपछि केही समय सवारी साधन अवरुद्ध भएका थिए । ‘एक मिटरजति उचाइमा ग्राभेल राखेपछि मात्र एकतर्फी यातायात सञ्चालन गर्न सकिएको हो,’ सडक डिभिजनका प्राविधिक सन्तोष कार्कीले भने, ‘नभए सवारी साधन सञ्चालनमै समस्या हुने गरी सडक भासिएको थियो ।’

अहिले पनि विस्तारै सडक भासिँदै गएको छ । एक महिनाअघि एक मिटर मात्र भासिएको थियो । अहिले झन् बढी भासिँदै झन्डै दुई मिटर भासिइसकेको उनले बताए । सडकको भित्रभित्र पानी बगेको छ । माथिल्लो भागमा पानी रसाएकाले झन् समस्या भएको छ । पानीको मूलका कारण पनि यसको दीर्घकालीन समस्या समाधानमा असर गर्ने प्राविधिकहरू बताउँछन् ।

‘पहिले पनि पानी निकासका लागि भित्रै पाइप राखेको भेटिएको छ,’ उनले भने, ‘अहिले पनि पानीकै कारण जमिन भासिँदै गएको छ । बुटवल, भैरहवा, सुनौलीबाट गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्मका सवारी साधन यही बाटो भएर गुड्छन् ।

सडकमा दैनिक पाँच हजारभन्दा बढी सवारी साधन गुड्छन् । पहाडी भेगमा जाने मालवाहक ट्रक र असोज लागेपछि चुनढुंगा बोक्ने ट्रिपर गुड्ने भएकाले झन् समस्या आउने उनले बताए ।

सडक भासिँदा यस भेगका यात्रु र सवारी साधन त्रासमा यात्रा गर्न बाध्य छन् । ‘साना सवारी साधनलाई भासिएको सडकमा झनै अप्ठ्यारो हुन्छ,’ मोटरसाइकल चालक विष्णु पाण्डेयले भने, ‘हामी जहिले पनि त्रासको यात्रा गर्न बाध्य छौं ।’ राजमार्ग विस्तारै भासिँदै गएको छ ।

तर, माथिल्लो भागमा एक मिटरजति जमिन छाडिसकेकाले अझै खतरा बढेको उनले बताए । तल्लो भागबाट आएका सवारी साधनले माथिल्लो भागबाट आउनेलाई देख्न मुस्किल छ । कतिपय अवस्थामा यहाँ घण्टौं सवारी साधन जाम हुने समस्यासमेत बढेको उनले बताए ।

अहिले सवारी साधन अगाडि जान नसक्ने भएपछि आलोपालो गर्दै आउजाउ गरेका छन् । यहाँ अघिल्लो वर्ष समस्या देखिएपछि डिभिजन सडक कार्यालयले मर्मतका लागि ठेक्का लगाएको थियो । अघिल्लो आर्थिक वर्षमा लगाएको ठेक्का गत वैशाखमा सम्झौता भएर ग्याभिन वाल लगाउन सुरु गरेको छ ।

सडक डिभिजनका इन्जिनियर पवित्रमणि आचार्यका अनुसार ठेक्का लगाएपछि तिनाउखोलाको किनारमा ग्याभिन वाल लगाएको बताए । ‘अघिल्लो वर्ष कटान गरेको भए सडक चौडा भइसक्थ्यो,’ उनले भने, ‘स्थानीय जग्गावालाले तल्लो भागमा पर्खाल नलगाइकन कटान गर्न नदिँदा ढिलाइ भएको हो ।’

प्रकाशित : भाद्र २२, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?