१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चिकित्सक नहुँदा उपचार प्रभावित

अमृता अनमोल

बुटवल — दैनिक बिरामीको चाप हुने यहाँस्थित सरकारी लुम्बिनी अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक छैनन् ।

चिकित्सक नहुँदा उपचार प्रभावित

९७ चिकित्सकको दरबन्दी भएकोमा अहिले ३७ जना कार्यरत छन् । यसले उपचार सेवा पनि चुस्त छैन ।

टाढाबाट आएका बिरामी उपचारका लागि पालो कुर्न बाध्य छन् । यसले निजी अस्पतालमा महँगो सेवा लिन बाध्य छन् । गत भदौं १२ गते अर्घाखाँचीको छत्रदेवकी मीना खत्री प्रसूति समस्या लिएर आइन् । शल्यक्रियाका लागि पालो नपाएपछि सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पुगिन । नि:शुल्क प्रसूति सेवाका लागि झन्डै ५६ हजार खर्च भएको बताइन् ।

अस्पतालमा ५० विशेषज्ञ र ४७ जना मेडिकल अधिकृतको दरबन्दी छ । अहिले १५ विशेषज्ञ र ४२ जना मेडिकल अधिकृतको दरबन्दी रिक्त छ । दरबन्दीका चिकित्सक पनि काजमा गएका छन । अस्पताल विकास समितिले १७ मेडिकल अधिकृत नियुक्त गरेको छ । त्यसमध्ये ५ जना छैनन् ।

यसबाहेक डेन्टल सर्जन, नाक कान घाँटीलगायतका २/२ जनाको दरबन्दी रिक्त छ । अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले दरबन्दी अनुसारका चिकित्सक पठाउन पटक–पटक आग्रह गरे पनि बेवास्ता भएको बताए । ‘बिरामीको चापअनुसार चिकित्सक छैनन्,’ उनले भने, ‘सेवा प्रभावित छ ।’

अस्पतालमा १५ विभागको विशेषज्ञ उपचार गर्नुपर्ने कार्यादेश छ । त्यसमध्ये १० मात्रै चलेका छन् । न्युरो, ग्यास्ट्रो इन्टेरोलोजी, नसा तथा स्नायु रोग उपचार सेवा न्युरोलोजी, नेफ्रोलोजी र युरो सर्जरी सञ्चालनमा छैनन् ।

मेडिकल सुपरिन्टेन्डेन्ट कृष्ण खनालले दरबन्दीअनुसार चिकित्सक नहुँदा अत्यावश्यक मानिएका उपचार सेवा सुरु गर्न नसकेको बताए । ‘विशेषज्ञकै अभाव छ । मेडिकल अधिकृतको त खडेरी छ,’ उनले भने, ‘पूर्वाधार अभावले नयाँ सेवा सुरु गर्न सकेका छैनौं ।’

यहाँ भएका चिकित्सकले पनि पूरै समय अस्पतालमा बिताउँदैनन् । निजी क्लिनिकमा व्यस्त हुन्छन् । समयमा विशेषज्ञ सेवा नपाउँदा २ वर्षयता अस्पतालमा प्रसूतिका ८ सहित १५ बिरामीले ज्यान गुमाएका छन् ।

अस्पतालले चिकित्सक हतार र थकानमा हुने भए पनि लापरबाही नभएको दाबी गरेको छ । यो अस्पताल विसं १९६७ सालमा ६ बेडबाट सुरु भएको हो । लामो समय १ सय बेडसहित अञ्चल अस्पतालका रूपमा थियो । २०७३ जेठ ७ मा स्तरोन्नति गरी उपक्षेत्रीय अस्पताल बनाइएको थियो । यससँगै ३ सय बेडको स्वीकृति मिलेको थियो । विकास समितिले थप १ सय बेड सञ्चालन गर्नुपर्ने प्रावधान छ । अहिले २ सय १० वटा बेड मात्रै राखिएको छ । दुई वर्षअघि चिकित्सक परिचालन निर्देशिकाबाट केही विशेषज्ञ ल्याइएको थियो ।

प्रदेश सरकारलाई समेत दरबन्दी मिलानलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ । अस्पतालमा भएको जनशक्ति र भौतिक दुवै समस्याबारेको विवरण प्रदेश सरकारलाई बुझाइएको छ ।

त्यसमा विकास समिति मार्फत राखिने चिकित्सकका लागि अख्तियारी पठाउन समेत आग्रह गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने तत्काल प्रदेश सरकाले अस्पतालमा चिकित्सकको दरबन्दी पूरा गर्न नसक्ने बताए ।

प्रकाशित : भाद्र २०, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?