१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बाढीले बगायो झिमरुक करिडोर

गिरुप्रसाद भण्डारी

प्यूठान — बाग्दुला बिजुवार क्षेत्रमा सवारी जाम र दुर्घटनाको जोखिम बढेको छ । नौबहिनी गाउँपालिका ८ लुप्लुङबाट चुनढुंगा बोक्ने टिपर झिमरुक नदी किनारै किनार गुड्न थालेपछि जोखिम कम भएको थियो ।

बाढीले बगायो झिमरुक करिडोर

तर, नदी किनारमा निर्माण गरेको झिमरुक करिडोर बगाएपछि बजारकै बाटो टिपर गुडदा सवारी जाम र दुर्घटनाको जोखिम बढेको छ । भदौदेखि करिडोरबाट टिपर गुड्न छाडेका छन् ।


बिहान ९ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म बिजुवार मित्रमणि चोक, बाग्दुला पुलचोक, बिजुवार भौका क्षेत्रमा सवारी जाम हुने गरेको छ । फोप्ली–लुप्लुङबाट शुभश्री, अग्नि सिमेन्टका लागि चुनढुंगा निकासी हुन थालेपछि दैनिक ८०/९० वटा टिपर थपिएका छन् । टिपर चल्न थालेपछि समस्या झन् थपिएको प्यूठान नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारी बताए । यस्तै यातायात सिन्डिकेट हटेपछि जिल्लामा धेरै यात्रुुवाहक सवारीसमेत थपिएका छन् । ‘चुनढुंगा बोक्ने टिपर झिमरुक किनारै किनार गुड्थे,’ राजभण्डारीले भने, ‘हिजोआज करिडोर बगाएकाले यतैबाट गुड्छन् । जाम त बढेको छ नै, साथसाथै बिजुवार क्षेत्रमा सास्ती पनि थपिएको छ ।’


बिजुवार क्षेत्रका साँघुरा सडकका कारण जाम हुने समस्या बढदै गएको जिल्ला ट्राफिक कार्यालयको भनाइ छ । ‘साँघुरो सडकमा धेरै गाडी चल्दा समस्या भएको हो,’ ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक छविलाल ढकालले भने, ‘प्यूठान नगरपालिका क्षेत्रको बाग्दुलादेखि दाखाक्वाडी क्षेत्रका जाम हुन्छ ।’ उनले दुर्घटना घटाउन र यात्राको समय बचाउन सडक फराकिलो बनाउनु पर्ने सुझाव दिए । बिजुवार बाग्दुला क्षेत्र जिल्लाकै मुख्य प्रवेशद्वार भएकाले धेरै सवारी यही क्षेत्र भएर गुड्ने गर्छन् । प्यूठानबाट रोल्पा, गुल्मी, अर्घाखाँचीसमेत यही बाटो भएर गाडी आवातजावत गर्छन् ।


०४४ सालमा ‘ट्रायक ओपन’ भएको प्यूठान–भालुबाङ सडक अझै दुई लेनको मात्र छ । बिजुवार, बाग्दुला क्षेत्रमा त सडक क्षेत्र नै अतिक्रमण गरी घर निर्माण भएका छन् । सडकमै निर्माण सामग्री राखिएको छ । सडक क्षेत्रको १५ मिटरभित्र नै भौतिक संरचना, टहरा निर्माण गरेर व्यापार गर्दा झन् साँघुरो हुँदै गएको छ ।


गाडी बढे पनि सडक नबढेकाले जाम लाग्ने गरेको चालक विष्णु भण्डारीले बताए । बिजुवार मित्रमणि चोकदेखि प्रहरी चौकीसम्म दिनहँु जाम हुने भण्डारीले बताए । ‘गाडी बढेका छन्,’ उनले भने, ‘तर, सडक बढेको छैन ।’


प्यूठान नगरपालिकाको कार्यालय खलंगाबाट बिजुवार सरेसँगै बिजुवार क्षेत्रमा सवारी चाप पनि बढेको हो । बिजुवार क्षेत्र आसपासमा तीव्र सहरीकरण भइरहेको छ । बजारमा जथाभावी मोटरसाइकल र गाडी पार्किङ गर्दा सवारी जाम हुने गरेको प्रहरीको भनाइ छ ।


बिजुवार क्षेत्रमा हुने सवारी जामको विषयमा गम्भीर भएर सडक छेउमा निर्माण गरेका टहरा हटाउने अभियान बनाएको प्यूठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताए । ‘चुनढुंगा बोक्ने टिपरलाई वैकल्पिक सडकको रूपमा झिमरुक करिडोरमार्फत चलाइयो,’ उनले भने, ‘हिजोआज करिडोर नदीले बगाएपछि टिपर पनि यहींबाट चल्दा समस्या थपिएको छ ।’


जिल्ला ट्राफिक प्रहरीको आँकलनमा यस सडकमा दैनिक एक हजारभन्दा बढी सवारी ओहोर–दोहोर गर्छन् । ‘सवारी चापको हिसाबले सडक दोहोरो लेनको हुनुपर्ने हो,’ सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख सुरेश न्यौपानेले भने, ‘फराकिलो गर्ने बजेट आएको छैन ।’ सडक ऐन ०३१ अनुसार सडकको दायाँ–बायाँ १५ मिटर छाडेर भौतिक संरचना निर्माण भए सवारी जाम हट्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १३, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?