सिफारिसबिनै जग्गा पास

परासी — मालपोत कार्यालय परासीले सिफारिसबिनै जग्गा पास गरेको घटना सार्वजनिक भएको छ । केही महिनाअगाडि सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको घटना सेलाउन नपाउँदै वडाको सिफारिसबिनै बकसपत्र पास गरेको रहस्य खुलेको छ ।

सिफारिसबिनै जग्गा पास

स्थानीय तहको अधिकार हनन गरेर गैरकानुनी काम गरेको भन्दै जनप्रतिनिधिले विरोध जनाएका छन् ।


सुनवल नगरपालिका १३ मा अंशबन्डाबापतको जग्गा पास गर्दा स्थानीय तहको सिफारिसबिना नै बकस गरेर पास गरिएपछि घटना सार्वजनिक भएको हो । मालपोत कार्यालयले जग्गा बेचबिखन र खरिद गर्दा अनिवार्य रूपमा बाटो, घर वा अन्य संरचना भए/नभएको भनेर वडा कार्यालयको सिफारिस माग्ने गर्छ ।


स्थानीय तहको सिफारिस नै नमागी सुनवल १३ का ज्ञानप्रसाद पाण्डेको जग्गा बुहारीका नाममा बकसपत्र स्वरूप रजिस्ट्रेसन पास भएको हो । कित्ता नम्बर २३७ को १ कट्ठा १२ धुर जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा पास भएको सुनवल १३ का वडाध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए ।


स्थानीय ज्ञानप्रसाद पाण्डेका दुई छोरा नेत्रलाल पाण्डे र अरूण पाण्डेले अंशबापत पाउनुपर्ने जग्गा स्थानीय तहको सिफारिसबिना नै अरूण पाण्डेकी पत्नी सुमित्रा पाण्डेका नाममा भदौ ६ गते पास गरिएको हो । ‘मालपोत कार्यालयको लापरबाही देखियो,’ वडा नम्बर १३ का वडाध्यक्ष देवकोटाले पत्रकार सम्मेलन गर्दै भने, ‘आफ्नो अख्तियारीभन्दा बाहिर गएर मालपोत कार्यालयले जननिर्वाचित स्थानीय तहलाई नै पाखा लगाउने काम गर्‍यो ।’


स्थानीयले जग्गा रजिस्ट्रेस गर्दा नाता प्रमाणित, घरगोठ सिफारिस, तिरो तिरेको रसिदबिना पास भएकाले आर्थिक चलखेल भएको भन्दै संलग्न कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् । मालपोत कार्यालय परासीका अधिकृत शिवध्वज अधिकारीले कर्मचारीले गल्ती गरेको स्वीकार्दै कार्यालयका तर्फबाट विभागीय कारबाही गरिने बताए । ‘पटकपटक यस्तो गल्ती दोहोरिएको छ,’ उनले भने, ‘कार्यालयको बदनाम गराउने छुट कसैलाई छैन ।’

प्रकाशित : भाद्र १३, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?