१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

उपमहानगरमा स्तनपान कक्ष

दाङ — तुलसीपुर उपमहानगरपालिकाले स्तनपान कक्ष सुरु गरेको छ । सुत्केरी र बच्चाको स्वास्थ्य प्रबद्र्धन गर्ने उद्देश्यले स्तनपान कक्षको सुरुवात गरेको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक डा. गोकर्ण दाहालले बताए ।

उपमहानगरमा स्तनपान कक्ष

बच्चालाई ६ महिनासम्म अनिवार्य आमाको दूध मात्र खुवाउनुपर्ने भएकाले सुत्केरी प्रोत्साहन भत्ता लिन आउने र सानो बच्चा बोकेर आउने सेवाग्राही र कर्मचारीलाई मध्यनजर गरी कक्ष स्थापना गरिएको उनले बताए । करिब दुई लाख रुपयाँको लगानीमा निर्माण गरिएको उक्त कक्षमा सुतेर दूध खुवाउनका लागि एउटा खाट र बस्नका लागि सोफा राखिएको दाहालले जानकारी दिए ।

‘आमा र शिशुको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै स्तनपान कक्ष सुरु गरिएको छ । यसले मातृशिशु संरक्षणमा सहयोग पुर्‍याउने छ,’ उनले भने, ‘बच्चा बोकेर काममा आउनेलाई आजसम्म स्तनपानको समस्या थियो । कतिले स्थान अभावले नै बच्चालाई दूध नखुवाउने समस्या हुन्थ्यो । अब यो समस्या टरेको छ ।’

महिलाहरूले वर्षौंदेखि भोग्दै आएको समस्या भए पनि आजसम्म कसैले सार्वजनिक स्थलमा स्तनपान कक्षको आवश्यकताबारे ध्यान नदिएको उपमहानगरकी उपप्रमुख माया आचार्यले बताइन् । ‘बच्चा बोकेर काममा आउनुपर्ने तर स्तनपान गराउने ठाउँ नपाउने समस्या धेरैले भोग्दै आएका छन् । बच्चा जति रोए पनि दूध खुवाउन नपाउने अवस्था हुन्थ्यो,’ उनले भनिन्, ‘खुलारूपमा दूध खुवाउनु असुरक्षित र जोखिमपूर्ण हुन्छ । यो कक्षले स्तनपानको समस्या हटेको छ । सुत्केरीले अब सुरक्षित स्तनपान गराउन सक्छन् ।’

पाँच महिने छोरा बोकेर नगरपालिका पुगेकी तुलसीपुर ७ की विनीता केसीले स्तनपान कक्षमा स्तनपान गराउन पाउँदा धेरै सहज भएको बताइन् । ‘बच्चा बोकेर काममा हिँड्नुपर्छ । बच्चा भोक लागेर रुँदा पनि सुरक्षित ठाउँ नभएर स्तनपान गराउन पाइँदैन,’ उनले भनिन्, ‘जहाँ पायो त्यहीं बस्न पनि नसकिने । यहाँ छुट्टै कक्ष भएपछि धेरै सजिलो भयो । सबै कार्यालयले यस्तै व्यवस्था गरे राम्रो हुने थियो ।’

कर बुझाउन नगरपालिका आएकी तुलसीपुर ५ की विपना ओली पनि स्तनपान कक्ष उपयोग गर्न पाएकोमा खुसी भइन् । ‘यसअघि बच्चालाई रुवाउँदै हिँड्नुपथ्र्यो,’ उनले भनिन्, ‘अब यसले धेरै राहत मिलेको छ ।’ सुत्केरी आमा र बच्चाप्रति सबै सरकारी तथा गैरसरकारी निकाय गम्भीर हुनुपर्ने तुलसीपुर १७ की शर्मिला चौधरीले बताइन् । ‘समयमा दूध खुवाउन नपाउँदा बच्चालाई पोषण पुग्दैन,’ उनले भनिन्, ‘दिनभर काममा हुने महिलाहरूलाई धेरै नै समस्या छ । यो राम्रो कामको सुरुवात भएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?