कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रोकियो गरिबी परिचयपत्र

पहेँलो रंगलाई मध्यम, नीलोलाई सामान्य र रातोलाई अति गरिबको पत्र दिइनेछ
मनोज पौडेल

कपिलवस्तु — वास्तविक गरिब छुटेपछि कपिलवस्तु नगरपालिकामा गरिबी परिचयपत्र वितरण रोकिएको छ । नगर कार्यपालिका बैठकले पाउनुपर्ने परिवारको नामावली छुटेकाले वितरण नगर्ने जनाएको हो ।

रोकियो गरिबी परिचयपत्र

‘वास्तविक गरिबको विवरण मन्त्रालयले पठाएको नामावलीमा देखिएन,’ कपिलवस्तु २ का वडाध्यक्ष रामभजन कलवारले भने, ‘पुन: नामावली संकलन गर्न माग गर्ने निर्णय गरेर पठाएका छौं ।’ वास्तविकले यस्तो परिचयपत्र नपाएर अन्यले पाउँदा राम्रो सन्देश नजाने उनले बताए । ‘सरकारको नीतिमा भेदभाव देखिएकाले सच्याउन माग गरेका हौं,’ नगर समिति सदस्य उर्मिला कोरीले भनिन्, ‘परिचयपत्र गरिबी निवारण मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरिएको हो ।’

सम्पन्न व्यक्तिको नाम सूचीमा देखेपछि अचम्म परेको उनले बताइन् । ‘जसलाई हातमुख जोर्नै समस्या छ, उसको नामचाहिँ छैन,’ उनले भनिन् । पहुँचवालाको नाम देखेपछि यस्तो निर्णय गरिएको हो । ‘यसमा टाठा–बाठाको हालीमुहाली देखियो,’ वडा १० का अध्यक्ष मोहन शर्माले भने, ‘जसको छानो छैन, एक छाक खान मजदुरी गर्नैपर्छ, त्यस्ता परिवार सूचीमा छैनन् ।’

त्यसैले परिचयपत्र वितरण नगर्ने निर्णय गरेको उनले बताए । तथ्यांक संकलन गरी वास्तविकलाई समेट्न मन्त्रालयसित माग गर्नेसमेत निर्णय गरेको उनले बताए । ‘गरिबका लागि बनाइएको नीतिमा ठूलाबडाको पहुँच देखियो,’ वडा १२ का अध्यक्ष ओमप्रकाश पाण्डेले भने, ‘वास्तविकलाई न्याय दिन पुनरावलोकन आवश्यक छ ।’ त्यसका लागि सक्दो छिटो काम थाल्न मन्त्रालयलाई आग्रह गरिएको छ ।

नगरपालिकामा ३ हजार ४ सय ७५ घरधुरी गरिब रहेको मन्त्रालयको तथ्यांकमा छ । उक्त निर्णय मन्त्रालयमा पठाएको प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्यले बताए ।

घरदैलोमा पुगेर ०६९ देखि विवरण संकलन गरिएको थियो । पाँच वर्षपछि परिचयपत्र वितरण गर्न लागिएको हो । ०७३ मा जिल्लामा समीक्षा बैठकमार्फत त्रुटि सच्याएर अन्तिम नामावली प्रकाशन गरिएको गरिब घरपरिवार समन्वय जिल्ला सचिवालयका सूचना अधिकृत विनोद त्रिपाठीले बताए ।

‘विवरण संकलनमा सजगता अपनाएका छौं,’ उनले भने, ‘त्रुटि कमजोरी छैन ।’ परिचयपत्र वितरणको सुरुवात कृषिमन्त्री चक्रपाणि खनालले पहिलोपटक मायादेवी गाउँपालिकाबाट गरेका थिए । गत असार २९ गते कपिलवस्तुबाट सुरु वितरण मुलुकका विभिन्न ठाउँमा जारी छ ।

जिल्लामा २८ हजार २ सय ३५ गरिब परिवार छन् । त्यसमध्ये १३ हजार ८ सय ८६ अति गरिब, ८ हजार ५ सय १५ मध्यम गरिब र २ हजार ५ सय ४३ सामान्य छन् । १६ सूचकका आधारमा पहिचान गरिएको थियो । सरकारले गरिबलाई तीन रंगको परिचयपत्रको व्यवस्था गरेको छ । पहेंलो रंगलाई मध्यम गरिब, नीलोलाई सामान्य र रातोलाई अति गरिब भनेर छुट्याएको छ ।

रातो कार्ड पाउनेलाई सरकारले नि:शुल्क स्वास्थ्य बिमा सुविधा दिएको छ । जिल्लाका कपिलवस्तु र शिवराज नगरपालिका तथा यशोधरा गाउँपालिकाले भने परिचयपत्र वितरण गरेका छैनन् ।

प्रकाशित : भाद्र ९, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?