भाषा शुद्धीकरणको सहर

‘आर्टिस्टहरू तालिम पाउँदा निकै प्रभावित भएका छन् । अबका बोर्डहरू शुद्ध हुनेछन् । विस्तारै सहर भाषा शुद्धतामा अगाडि बढ्नेछ’
दुर्गालाल केसी

दाङ — घोराहीलाई भाषा शुद्धीकरणको नमुना सहर बनाउने अभियान थालिएको छ । यसका लागि सार्वजनिक ठाउँमा टाँगिएका साइनबोर्ड र होर्डिङ बोर्डको भाषा सच्याउन लागिएको हो । घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयले भाषाविज्ञको एक टोली बनाएर सुधार्ने अभियान थालेको छ ।

भाषा शुद्ध बनाउन साइनबोर्ड लेखकलाई नै प्रशिक्षण दिइएको छ । बजार क्षेत्रमा टाँगिएका साइनबोर्डको भाषा शुद्ध बनाउन स्थलगत अवलोकन र अध्ययन भइरहेको अभियान उपसमिति संयोजक पद्मप्रसाद शर्माले बताए । ‘लेखिने र बोलिने भाषा फरक भयो । व्याकरण बिग्रियो, यसमा कसैको ध्यान नजाने भयो,’ उनले भने, ‘बजारका खुला ठाउँमा देखिने साइनबोर्डबाट शुद्धीकरण अभियान थालिनेछ । यसले सहरलाई भाषा शुद्धीकरणमा नमुना बनाउन सहयोग गर्नेछ ।’

हरेक पसलअगाडि टाँगिएका बोर्डको अध्ययन गरी भाषिक शुद्धता नभए सच्याउन पसल सञ्चालकलाई सुझाव दिने गरिएको छ । भाषा शुद्धीकरण अभियानमा नेपाली विषयका जानकार टीकाराम उदासी, अम्बिकाप्रसाद डाँगी, सुनिल पोख्रेल, राजेन्द्र गौतम, चन्द्रबहादुर थापालगायत खटिएका छन् । स्थलगत अवलोकनका क्रममा ९० प्रतिशत बोर्डमा भाषिक त्रुटि देखिएको अभियानका सदस्य उदासीले बताए । ‘हरेक साइनबोर्डका शब्दमा गल्ती भेटिएको छ । सच्याउन लिखित रूपमै सुझाव दिइरहेका छौं,’ उनले भने, ‘यसलाई सबैले सकारात्मक रूपमा लिएका छन् । यो प्रयासले सबैलाई उत्साहित बनाएको छ ।’

घोराहीलाई भाषिक शुद्धताको सहर बनाउन अभियान थालिएको पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष सुशील गौतमले बताए । ब्यानर र साइनबोर्ड लेख्ने कलाकारलाई प्रशिक्षण दिँदा झनै प्रभावकारी भएको उनले बताए । ‘अधिकांश सार्वजनिक सन्देश साइनबोर्डमार्फत सम्प्रेषण हुन्छ । साइनबोर्ड शुद्ध हुँदा भाषामा धेरै सुधार आउँछ,’ उनले भने, ‘आर्टिस्टहरू तालिम पाउँदा निकै प्रभावित भएका छन् । अबका बोर्डहरू शुद्ध हुनेछन् । विस्तारै सहर भाषा शुद्धतामा अगाडि बढ्नेछ ।’ साइनबोर्डपछि आमलेखन क्षेत्रमा सुधार ल्याउन बहस, अन्तक्र्रिया र प्रशिक्षण थालिने उनले बताए ।

भाषा शुद्धीकरण अभियानले नगरको इज्जत र प्रतिष्ठा बढाउने घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । ‘भाषामा धेरैको ध्यान जाँदैन तर भाषा बिग्रियो भने यसले धेरै नकारात्मक अर्थ दिन्छ । भाषा शुद्धीकरण अभियानले स्थानीय सरकारको ध्यान तानेको छ,’ उनले भने, ‘हामी पनि यो अभियानमा सहयोगी भूमिकामा छौं । भाषाविज्ञहरू नै अघि सरेकाले सुधार हुनेमा आशावादी छौं ।’

प्रकाशित : श्रावण २४, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्

भवन प्रयोगबारे अन्योल

कान्तिपुर संवाददाता

रोल्पा — सदरमुकाम लिबाङमा निर्माण गरिएको अत्याधुनिक भवन कसले प्रयोग गर्ने भन्नेबारे अन्योल भएको छ । मूलपानीस्थित भवन तीन करोड रुपैयाँको लागतमा बनेको हो ।

उक्त एकीकृत सेवा भवन छेउमै झन्डै तीन करोड रुपैयाँकै लगानीमा अर्को कर्मचारी आवास भवन पनि बन्दै गरेको छ । चार तलाको एकीकृत भवनमा ४० कोठा छन् । प्रत्येक तलामा १० कोठा छन् ।

एकीकृत भवनको निर्माणको जिम्मा राजधानीस्थित नेसनल–नीलगिरि जेभीले र कर्मचारी आवासको थेगिम कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएका हुन् । एक दशकअघि सरकारले स्थानीयबाट जग्गा खरिद गरेको थियो । सरकारले करिब १० रोपनी क्षेत्रफलमा भवन निर्माण थालेको थियो । जिल्ला प्रशासनका अनुसार भवनमा महिला तथा बालबालिका, भूसंरक्षण, निर्वाचन, कोष तथा लेखा नियन्त्रकको कार्यालय रहने सुरुवाती योजना थियो । राज्य पुन:संरचनापछि सरकारले जिल्ला तहमा महिला तथा बालबालिका र भूसंरक्षण कार्यालय खारेज गरिसकेको छ ।

‘सुरुवाती योजनाअनुसार बाँकी रहेका निर्वाचन र कोष तथा लेखा नियन्त्रण कार्यालयले त्यहीं सर्ने योजना बनाएका छन् । अरू कुनलाई पठाउने भन्ने निर्णय भएको छैन,’ प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले भने, ‘जिल्ला तहबाटै निर्णय गर्ने भएमा यसबारे थप सोच्न सकिने विकल्प छ ।’ सरकारले उक्त भवन निर्माण थाल्नुअघि सरकारी सेवा प्रवाह गर्दा जनतालाई सजिलो बनाउन र छिटोछरितो दिने उद्देश्यले एकै स्थानमा कार्यालय सञ्चालनमा ल्याउने योजना बनाएको थियो ।

प्रकाशित : श्रावण २४, २०७५ ०९:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्