२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सरकार व्यवस्थापनमा सहयोग गर्ने संस्थालाई आर्थिक अनुदान दिने प्रदेश सरकारको निर्णय

घनश्याम गौतम

रुपन्देही — प्रदेश ५ को बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार र प्रदेशसभा सचिवालय व्यवस्थापनका लागि भौतिक पूर्वाधार सहयोग गर्ने संघसंस्थालाई आर्थिक सहयोग अनुदान दिने निर्णय गरेको छ ।

सरकार व्यवस्थापनमा सहयोग गर्ने संस्थालाई आर्थिक अनुदान दिने प्रदेश सरकारको निर्णय

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार प्रदेशसभा सचिवालय र बैठक सञ्चालनका लागि पूर्वाधार उपलब्ध गराउने उद्योग वाणिज्य संघलाई ४० लाख, प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको आवास व्यवस्थापनमा भवन उपलब्ध गराउने बुटवल टेक्निकललाई १० लाख, बालमन्दिरलाई २ लाख, महिला मगर संघलाई १ लाख र महिला जेसीजलाई १ लाख रुपैयाँ एकमुष्ट अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।


वाणिज्य संघलाई बालमन्दिर परिसरमा हल निर्माण गर्न, बुटवल टेक्निकल शिक्षालयलाई आफ्नै भौतिक पूर्वाधारका लागि अनुदान उपलब्ध गराइएको हो ।


त्यस्तै, मन्त्रीपरिषद बैठकले प्रदेश ५ को सरकारलाई सल्लाह सुझाव दिने गरी संघीय सरकारकै ढाँचामा प्रदेश मन्त्रीपरिषद समिति पनि बनाउने निर्णय गरेको छ ।


त्यस्तै प्रादेशिक योजना आयोगमा दुई सदस्य थप गर्ने निर्णय पनि गरेको छ । यसअघि एक महिला सहित दुई सदस्य हुने व्यवस्था गरेकोमा निर्णय परिवर्तन गर्दै १ महिलासहित ४ सदस्यको व्यवस्था गरेको हो ।


सरकारको बुधबारको बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र सार्ने गाउँपालिकाको दुई तिहाईको निर्णय अनुमोदन गर्दै केन्द्र सार्न संघीय सरकारलाई सिफारिस गरेको छ ।


अहिले रहेको चिराघाटबाट वडा नं. ४ को जुम्लेकुलामा सार्ने निर्णय शान्तिनगर गाउँपालिकाको गाउँसभाले गरिसकेको छ ।


स्थानीय तहको केन्द्र परिवर्तनका लागि गाउँ/नगरसभाको दुई तिहाई सहितको निर्णय, प्रदेश सरकारको सिफारिस भए संघीय सरकारको सिफारिसको आधारमा गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित : श्रावण २३, २०७५ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?