१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

केन्द्र बनेपछि बाहानेमा भीडभाड

गिरुप्रसाद भण्डारी

नौबहिनी (प्यूठान) — पहिले बाहाने बजारमा चहलपहल नै हुँदैनथ्यो । लुङखोला क्षेत्रवासीलाई सरकारी कामकाजका लागि बिजुवार वा खलंगा जानुपथ्र्यो । नुन–तेल, लत्ताकपडा मात्र बाहानेमा किनेर घर फर्किन्थे । अहिले नौबहिनी ६ बाहानेमा गाउँपालिका केन्द्र भएपछि बजार फेरिएको छ ।

केन्द्र बनेपछि बाहानेमा भीडभाड

किनमेलका लागि मात्र नभएर अन्य सरकारी कामकाजका लागि समेत उनीहरू बाहाने झर्छन् । यसले पनि चहलपहल बढाएको हो ।


नयाँ–नयाँ बैंकका शाखा खुलेका छन् । होटलहरू बढे । स्टेसनरी, फोटोकपीका नयाँ पसल थपिँदै छन् । हालै मात्र इन्भेस्टमेन्ट र साइन रेसुंगा बैंकको शाखा खुलेपछि चहलपहल अरू बढेको स्थानीय बलेन्द्र केसीले बताए । वडास्तरमा काम सकेर गाउँपालिकामा भुक्तानी लिन आउने उपभोक्ता, बजार गर्न आउने ग्राहक, कृषि भेटेरिनरी, स्वास्थ्य र बैंकमा आउने सेवाग्राहीले बाहाने बजार क्षेत्रमा अहिले भीडभाड देखिने स्थानीय महेश थापाले बताए । ‘गाउँपालिकाको केन्द्र भएपछि चहलपहल बढेको छ,’ उनले भने, ‘यसले गर्दा बाहानेमा व्यापार पनि बढ्यो ।’ आफ्नो एग्रोभेटमा पहिलेभन्दा व्यापार बढेको थापाले सुनाए ।


गाउँपालिका आयोजनामा हुने तालिम, गोष्ठीलगायत कुनै न कुनै कामले गाउँका अगुवा दिनहुँ बाहाने झर्ने गरेको थापा सुनाउँछन् । साबिकका ६ गाविस फोप्ली, लुङ, डाम्री, स्याउँलीबाङ, खबाङ र लिघा समावेश गरेर नौबहिनी गाउँपालिका बनेको हो । सबै स्थानबाट स्थानीय सेवा लिन बाहाने झर्दा चहलपहल बढेको थापाले बताए । गाउँपालिकामा काम गर्ने कर्मचारी र निर्वाचित जनप्रतिनिधिले डेरा लिएर बस्न थालेपछि बाहानेवासीका घरका कोठा भाडामा लाग्न थालेको स्थानीय कृष्ण केसीले बताए । उनले उद्योग वाणिज्य संघको बाहाने बजार इलाका, बजारवासी र गाउँपालिकाको सहकार्यमा बजार सरसफाइ र भौतिक पूर्वाधार निर्माण हुन थालेपछि बजारको स्वरूप नै बदलिन थालेको सुनाए ।


गाउँपालिकाले समेत मुख्य केन्द्र भन्दै बाहाने बजार क्षेत्रलाई भौतिक संरचना निर्माण गरेर नमुना बनाउने गरी योजना अगाडि बढाएको गाउँपालिका अध्यक्ष शिव रिजालले बताए । ‘बाहानेमा ३५ लाख रुपैयाँ लगानी गरेर व्यवस्थित नाली निर्माण गरेका छौं,’ उनले भने, ‘हिजोआज सडकमा पानी जम्ने समस्या हटेको छ ।’ उनले लुङखोलासम्म पुग्ने सडक, नाली निर्माणको काम सकिएकाले बजारको सुन्दरता बढेको दाबी गरे । बाहाने बजारको भित्री सडकलाई गाउँपालिको ६० र स्थानीयको ४० प्रतिशत लागतमा कालोपत्रे गर्ने योजना अगाडि बढाइएको छ ।


स्थानीयको सहकार्यमा आठ मिटर चौडा सडक निर्माण गरेर बाहानेको लाखाचौरसम्म जोड्ने योजना अगाडि बढेको रिजालले सुनाए । ‘स्थानीयको साथले बजार पेटीमा रहेका टहरा, झुप्रा हटाएका छांै,’ उनले भने, ‘बजारबाट निस्केको फोहोरलाई व्यवस्थित गरिएको छ ।’


बाहानेले समग्र नौबहिनी गाउँपालिका कस्तो छ भन्ने झल्को दिने भएकाले यस बजार क्षेत्रको विकासमा ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीले बताए । ‘बाहानेलाई नमुना बजारका रूपमा विकास गर्ने योजनासहित काम अगाडि बढेको छ,’ उनले भने, ‘आगामी वर्ष पनि बाहाने बजार क्षेत्रको विकासका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।’ गाउँपालिकाकै लागतमा बजार क्षेत्रका पाँच स्थानमा भर्खरै सीसी क्यामरा जडान गरिएको छ ।

प्रकाशित : श्रावण २३, २०७५ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?