कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बाघले बढायो पाहुना

कान्तिपुर संवाददाता

बाँके — गाभर भ्यालीस्थित सामुदायिक होमस्टे बाघ अवलोकनका लागि आउनेको गन्तव्य बनेको छ । बैजनाथ गाउँपालिका १ स्थित बस्ती बाँके निकुञ्जसित जोडिएको छ । गाउँमा सञ्चालित होमस्टेमा बसेर निकुञ्जमा बाघ अवलोकन गर्न सकिन्छ । त्यसैले बाघ हेर्नेको संख्या पनि बढ्न थालेको हो ।

बाघले बढायो पाहुना

बाघ अवलोकनलाई मुख्य आधार बनाएर होमस्टे सञ्चालन गरिएको व्यवस्थापन समिति अध्यक्ष कृष्ण चौधरीले बताए । यहाँ आउने पाहुनाका लागि निकुञ्जमा चरा अवलोकन र हात्ती सफारी गर्ने व्यवस्था होमस्टेले गरेका छन् । पैदल, हात्ती वा जिप सफारीमार्फत निकुञ्ज घुम्न सकिन्छ ।

यहाँ सञ्चालन गरिएका यिनै सुविधाका कारण पनि पर्यटक आइरहेको सञ्चालनको भनाइ छ । यहाँको थारू संस्कृति र खानाले पर्यटकलाई लोभ्याउने गर्छन् ।

बाँके, बर्दिया निकुञ्ज र त्यहाँका वन्यजन्तु, पन्छी, चुरे पहाडको मनोरम दृश्य होमस्टेका मुख्य आकर्षण मानिएको छ । यहाँ मिश्रित संस्कृति छ । होमस्टेमा तीनथरीको मौलिकता पाइन्छ । ‘थारू, मुगाली, हुम्ली समुदायको मिश्रित मौलिक संस्कृति, खानाका परिकार अनि परम्परा यस होमस्टेमा एकैसाथ देख्न र अनुभव गर्न सकिन्छ,’ अध्यक्ष चौधरीले भने, ‘त्यसबाहेक निकुञ्जका वन्यजन्तु र बाघ थप आकर्षण हुन् ।’ त्यस्तै बाँके, बर्दिया, कैलाली र कञ्चनपुर भ्रमणको प्याकेज पनि होमस्टेको सुविधामा रहेको उनले बताए ।

आर्थिक सुधार
यहाँका समुदायले होमस्टेलाई आर्थिक समृद्धिको माध्यम बनाएका छन् । होमस्टे सञ्चालनपछि समुदायको आर्थिक अवस्था पनि सुधारिएको छ । पहिला बिरामी पर्दा सिटामोलसमेत किन्न नसक्नेले अहिले बालबालिकालाई गुणस्तरीय उच्चशिक्षा दिन सकेका छन् । होमस्टेबाट समुदायले वार्षिक १५ लाखभन्दा बढी आम्दानी गरेको अध्यक्ष चौधरीले बताए । संस्कृतिको संरक्षण र प्रचारप्रसार होमस्टेको उद्देश्य हो । त्यसका लागि स्थानीय समुदाय वन र वन्यजन्तुको संरक्षणमा पनि लागेका छन् ।

सञ्चालनको ४ वर्षमा २० हजारभन्दा बढी पर्यटक होमस्टेमा पुगेका छन् । भारत, अमेरिका, थाइल्यान्ड, दुबई, कतार, स्वीट्जरल्यान्डलगायत देशबाट १ सय २९ ले होमस्टे अवलोकन गरेका छन् । यो ५ घरबाट सुरु गरिएको थियो । अहिले ८ घरमा सञ्चालन गरिन्छ । अर्को वर्षसम्म थप २ घरमा विस्तार हुँदैछ । ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । एक पटकमा ४० जनासम्म बस्न सक्छन् । होमस्टेमा कृषि, वन, सामाजिक विषयसँग सम्बन्धित विद्यार्थी र अन्य सरोकारवाला पनि अध्ययन अनुसन्धानका लागि आउने गरेको व्यवस्थापन समितिले जनाएको छ ।

होमस्टेका ससाना र स्थानीय परम्परागत शैलीका घर र निकुञ्जका बाघ र वन्यजन्तु विदेशीका लागि आकर्षण बन्दै गएको सञ्चालक गंगादत्त जैसीले बताए । ‘विदेशी पर्यटक यहाँका घर र निकुञ्जका बाघ देखेर बढी रमाउने गरेका छन्,’ उनले भने, ‘पुराना घरको संरक्षण र स्थानीय परम्पराअनुसारकै घर निर्माण गर्न पनि उनीहरूले सुझाव दिने गरेका छन् ।’

प्रकाशित : श्रावण १०, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?