१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

टुँडिखेल अब ‘ग्रिनपार्क’

रोल्पा — रोल्पा नगरपालिकाले स्थानीय टुँडिखेल संरक्षण गर्न तारबार गरेको छ । तारबारभित्र दुबो र वृक्षरोपण गरेर हरित बगैंचा (ग्रिनपार्क) निर्माण योजना तयार गरिएको हो । दुई वर्षअघिदेखि यसका लागि काम भइरहेको छ ।

टुँडिखेल अब ‘ग्रिनपार्क’

नगरले बगैँचा बनाउन त्यहाँबाट बसपार्कसमेत हटाइसकेको छ । बसलगायत यातायातका साधन पार्किङ नगरिएपछि टुँडिखेलमा हरियाली मौलाएको छ । नगरप्रमुख पूर्ण केसीले सदरमुकाम र जिल्लाकै आकर्षण बढाउन हिलाम्य र धुलाम्य टुँडिखेललाई ग्रिनपार्क बनाउने योजना अघि सारिएको बताए । तारको घेराभित्र रहेको टुँडिखेलमा सानो खालको खेल मैदान पनि रहने नगरले जनाएको छ ।


‘बिरुवा रोपेर टुँडिखेललाई हरियाली बनाउनु राम्रो काम हो,’ रोल्पा उद्योग वाणिज्य संघ अध्यक्ष विश्वकुमार चन्दले भने, ‘सबै मिलेर टुँडिखेलको गरिमा जोगाउनु पर्छ ।’ उनका अनुसार नगरलगायत सरोकारवालाको चासो वृद्धि गर्नुपर्छ । संघको आहानमा व्यवसायीले समेत बिरुवा रोपेका छन् । युवा व्यवसायी रमेश अधिकारले नगर हरियाली बनाउन स्वेच्छाले बिरुवा रोपिएको बताए । नगरले ग्रिनपार्क बनाउन उद्योगी व्यवसायीबाट सहयोग मागेको हो ।


टुँडिखेलमा नेपाली सेना र प्रहरीले समेत बिरुवा रोपेका हुन् । नगरले आह्वान गरेपछि विद्यार्थीले समेत दुवो रोपेका थिए । वृक्ष र दुवो रोप्ने काम अझैसम्म जारी छ । विभिन्न चासो र चर्चा चलेपछि जनप्रतिनिधिको पहलमा टुँडिखेललाई हरियाली बनाउने प्रयास थालिएको हो ।


दुई वर्ष लगाएर टँुडिखेलको स्वरूपसमेत फेरेको छ । नगरले टुँडिखेल सम्याउन, घेराबार गर्न तथा वृक्षरोपण गर्न अहिलेसम्म करिब १ करोड बजेट खर्च गरिसकेको छ । नगरले विभिन्न चरणमा टुँडिखेलको स्वरूप फेर्न विभिन्न योजना सञ्चालन गरेको हो ।


नगर प्रमुख केसीले सबैको सुझाव र सल्लाहअनुसार टुँडिखेललाई हरियाली बनाउन थालिएको बताए । तर, नगरले सदरमुकामकै लागि गरेको ठूलो रकम खर्चबारे अन्य वडाबासीले असन्तुष्टि व्यक्त गरेका छन् । ‘जे गर्नुछ टुँडिखेललाई मात्र गरिएको छ । यसबाहिरका कैयौं गाउँ आधारभूत सुविधाबाट बन्चित छन् ।’


प्रकाशित : श्रावण ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?