२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अदालतमा मुद्दा खेप्दै स्थानीय तह

गाउँपालिकाको निर्णयमा स्थानीय असन्तुष्ट
दुर्गालाल केसी

दाङ — अधिकार सम्पन्न भएको भन्दै जथाभावी काम गर्न थालेपछि स्थानीय तहले विभिन्नखाले मुद्दा खेप्न थालेका छन् । स्थानीय तहमै न्यायिक समिति भए पनि सेवाग्राही न्यायका लागि अदालत धाउन थालेका हुन् । स्थानीय तहविरुद्ध एकपछि अर्को मुद्दा थपिँदै गएका छन् ।

अदालतमा मुद्दा खेप्दै स्थानीय तह

शान्तिनगर गाउँपालिकाले विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन कार्यविधि बनाई हरेक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सम्बन्धित वडाध्यक्ष या उनले तोकेका व्यक्ति हुने व्यवस्था गरेपछि यसविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट पर्‍यो ।

गाउँपालिकाले चैत २१ मा केराघारी प्राविलाई पत्र पठाई नयाँ व्यवस्थापन समिति गठन गर्न निर्देशन दिएको थियो । त्यसपछि समिति अध्यक्ष वीरबहादुर टमाटाले गाउँपालिकालाई विपक्षी बनाई जेठ २० मा रिट दायर गरे । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश ईश्वरराज आचार्यको इजलासले जेठ ३० मा व्यवस्थापन समिति गठन नगर्न गाउँपालिका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बंगलाचुली गाउँपालिकाले पनि शिक्षा कार्यविधि बनाई व्यवस्थापन समिति अध्यक्षमा वडाध्यक्ष वा सदस्यहरू रहने व्यवस्था गर्‍यो । स्थानीय भेषराज खत्रीले यसविरुद्ध जेठ २८ गते उच्च अदालत तुलसीपुरमा रिट दायर गरे । न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले २९ गते कारण देखाऊ आदेश जारी गर्‍यो ।

रेवताकुमारी पाण्डे रेग्मीले उच्च अदालत तुलसीपुरमा तुलसीपुर उपमहानगरपालिकाविरुद्ध वैशाख २७ मा निषेधाज्ञा परमादेश माग र ३१ मा अदालतको अपहेलनासम्बन्धी रिट दायर गरेकी छन् । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले जेठ ३० मा प्रमाण बुझ्ने आदेश दिएको छ ।

गढवा गाउँपालिका ५ का लोकबहादुर बुढाथोकीले वडा कार्यालयबाट सिफारिस नपाएको भन्दै पुस ३० मा उच्च अदालतमा रिट दायर गरे । अदालतले जेठ ३१ मा सेवाग्राहीलाई सिफारिस दिन वडाध्यक्ष प्रकाश भण्डारीका नाममा परमादेश जारी गर्‍यो । मुख्य न्यायाधीश सुवेदी र न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले बुढाथोकीलाई सिफारिस दिन आदेश जारी गरेको हो । पैतृक सम्पत्ति पाउन बाँकी रहेकाले आमा पूर्णकुमारी बुढाथोकीबाट अंश पाउन मालपोत कार्यालयलाई सिफारिस गरिदिन बुढाथोकीले कात्तिकमा वडा कार्यालयमा निवेदन दिएका थिए ।

उनले वडाबाट सिफारिस नपाएपछि गाउँपालिकामा उजुरी गरे । गाउँपालिकाको न्यायिक समितिले दस्तुर बुझी सिफारिस गरिदिए पनि मालपोतले नमानेपछि अदालतमा रिट दायर गरेको बुढाथोकीले बताए । ‘जनप्रतिनिधिले मनपरी गर्न थाले । अधिकार छ भन्दैमा जनताका काम नै रोक्न थाले,’ बुढाथोकीले भने, ‘बाध्य भएर अदालतको सहारा लिनुपर्‍यो । जनप्रतिनिधि बेलगाम भएका छन् । यस्तो प्रवृत्ति रोकिनैपर्छ ।’

वडाध्यक्ष भण्डारीले बुढाथोकीको घरायसी विवादका कारण सिफारिस दिन नसकिएको बताए । अब अदालतको आदेशलाई सम्मान गर्दै सिफारिस दिन कुनै समस्या नपर्ने उनले बताए । ‘निवेदकका भाइहरूबीच विवाद भएकाले सिफारिस दिन समस्या भएको हो । नियमअनुसार नै काम गर्न खोजेको हो,’ उनले भने, ‘अदालतको आदेशलाई हामी मान्न बाध्य छौं । नियम कानुन सबैले मान्नुपर्छ ।’ बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली स्थानीय तहले आफ्नो क्षेत्रमा आवश्यक नियम बनाएर लागू गर्न पाउनुपर्ने बताउँछन् । ‘संघीय संरचनाअनुसार हामी स्थानीय नियम कानुन बनाएर लागू गर्न पाउँछौं । हामीलाई नियम नै बनाउन नदिएपछि कसरी काम गर्ने ?,’ उनले भने, ‘जनप्रतिनिधि आइसकेपछि विद्यालय व्यवस्थापन समितिमा पनि उनीहरूकै नेतृत्व हुनुपर्छ । हामीले कार्यविधि बनाएर काम गर्न खोजेका छौं ।’ स्थानीय तहविरुद्ध अदालतमा रिट हालेर काममा अवरोध गर्न खोजिएको उनले बताए ।

स्थानीय तहले नियम कानुन नबुझी मनपरी काम गर्न थालेपछि अदालतको सामना गर्नु परिरहेको अधिवक्ता रेवतीरमण भट्टराई बताउँछन् । उनका अनुसार स्थानीय तहले विद्यमान नीति नियमलाई ख्याल गरेर कार्यविधि बनाउनुपर्छ । ‘जथाभावी नियम बनाउन थालेपछि सेवाग्राही अदालतको सहारा लिन बाध्य भएका हुन्,’ उनले भने, ‘यसले स्थानीय तहलाई विवादमा तानेको छ । जनप्रतिनिधि जनताप्रति जवाफदेही हुन सकेनन् भने समस्या बढदै जान्छ ।’

प्रकाशित : असार ९, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?