अझै ‘कमलरी’

उद्धार भएकालाई परिचयपत्र वितरणमा ढिलाइ
दुर्गालाल केसी

दाङ/बर्दिया — सरकारले मुक्त घोषणा गरे पनि कमलरी राख्ने क्रम रोकिएको छैन । २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । अहिले पनि पश्चिम तराईका जिल्लामा कमलरीको उद्धार बाँकी छ । मुक्त कमलरी विकास मञ्चका अनुसार ती जिल्लाबाट ९७ कमलरीको उद्धार हुन बाँकी छ ।

बर्दियामा ३६, कैलालीमा २८, दाङमा २१, कञ्चनपुरमा ७ र बाँकेमा ५ कमलरी रहेको मञ्चले जनायो । यीमध्ये ६१ मुक्त घोषणापछि पनि कमलरी बसिरहेका छन् ।

३६ जना ०७० सालभन्दा पहिले कमलरी बस्न गएका हुन् । कतिपय उचित पुन:स्थापन नहुँदा फेरि कमलरी बस्न बाध्य भएको मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् । ‘घरको अवस्था दयनीय भएपछि कतिपय पुन: काममा फर्किए,’ उनले भनिन्, ‘स्रोत, साधन र सीपविहीन मुक्त कमलरी फेरि जोखिमपूर्ण काममा फर्कन बाध्य छन् । अधिकांश किशोरी अवस्थामा रहेकाले विभिन्न बहानामा श्रम र यौन शोषणमा पर्ने गरेका छन् ।’ सरकारले मुक्त कमलरीको दिगो जीविकोपार्जनमा ध्यान नदिएको मुक्त कमलरीको गुनासो छ ।


मञ्चले गत बुधबार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर कमलरीको तत्काल उद्धार र पुन:स्थापनाको व्यवस्था गरिदिन माग गरेको छ । कमलरीलाई तत्काल उद्धार गरी ‘मालिक’ लाई कारबाही गर्न माग गरिएको मञ्च अध्यक्ष पुष्पा चौधरीले बताइन् । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले कमलरी उद्धारको काम तत्काल थालिने बताए । ‘कमलरी राख्नु कानुनविपरीत हो । उद्धार गरेर दोषीमाथि कारबाही हुन्छ,’ उनले भने, ‘हामी केही दिनमा योजना बनाएर उद्धार र पुन:स्थापना गर्छौं ।’


मुक्त कमलरीले परिचयपत्र नपाएको भन्दै मञ्चले भूमिसुधार कार्यालयमा समेत ज्ञापनपत्र बुझाएको छ । सरकारले मुक्त कमलरी परिचयपत्र वितरण कार्यविधि २०७४ तयार गरी भूमिसुधार कार्यालयमार्फत वितरण गर्ने प्रावधान राखेको छ । हालसम्म दाङमा ५ सय २३ र बर्दियामा १ सय ५८ जनाले मात्रै परिचयपत्र पाएको मञ्चका कार्यक्रम प्रबन्धक वीरबहादुर नेपालीले बताए । पश्चिम तराईमा १२ हजार ८ सय ६९ मुक्त कमलरी रहेकामा सरकारले ९ हजार ४ सय ७५ लाई मात्रै स्वीकृत गरेको उनले बताए । छुट भएका ३ हजार ३ सय ९४ लाई पनि मुक्त कमलरी प्रमाणित गरी परिचयपत्र दिन आवश्यक रहेको उनले बताए ।


परिचयपत्रका लागि दाङमा १ हजार २ सय मुक्त कमलरीले आवेदन दिएको र उनीहरूको छानबिन गरी वितरण गरिने निमित्त भूमिसुधार अधिकारी मानबहादुर कुँवरले बताए । ‘जनशक्ति अभाव भएकाले ढिलाइ भएको हो । सबै प्रावधान पुगेकालाई वितरण हुन्छ,’ उनले भने, ‘परिचयपत्र बाँडनुअघि बैठक बसेर निर्णय गर्नुपर्छ । बैठक बस्न पनि पर्याप्त बजेट नहुँदा समस्या हुने गरेको छ ।’ विभिन्न जिल्लाका ६ छात्रावासमा बसेर अध्ययन गरिरहेका घर र अभिभावकविहीन २ सय ९४ मुक्त कमलरीको शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ, भरणपोषणका लागि रकम वृद्धि गर्न आवश्यक रहेको मञ्चकी सल्लाहकार उर्मिला चौधरीले बताइन् । बेपत्ता कमलहरीको खोजी र मालिकको यौन शोषणबाट कुमारी आमा बनेकालाई न्याय दिने काममा पनि सरकारको गम्भीरता नदेखिएको उनले गुनासो गरिन ।

प्रकाशित : असार २, २०७५ १३:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चिउरीबाट गाउँमै साबुन

कान्तिपुर संवाददाता

प्यूठान — गाउँपाखामा खेर गइरहेको चिउरीबाट नुहाउने साबुन उत्पादन गरेर स्थानीय स्वरोजगार बन्न थालेका छन् ।

प्यूठान नगरपालिका ५ जुम्रीकाँढामा साबुन कारखाना नै स्थापना गरेर चिउरीको सदुपयोग गर्न थालिएको हो । नगरपालिकाको सहयोगमा साबुन उत्पादन गर्ने तालिम पाएपछि स्थानीय पाँच युवा मिलेर उद्योग सञ्चालनमा ल्याएका हुन् ।

स्थानीय कविराम पार्धे, प्रसादे भण्डारी, गणेश भण्डारी, दने पुन र पुठाराम घर्तीले उद्योग सञ्चालन गर्न थालेका छन् । प्यूठान नगरपालिका १० मरन्ठानाकी दुर्गा केसीले चिउरीको घिउबाट साबुन बनाएर राम्रो आम्दानी गरेको देखेपछि स्थानीय बेरोजगार युवालाई पाँचदिने तालिमको व्यवस्था गराएको वडाध्यक्ष लछुमन भण्डारीले बताए । उनका अनुसार नगरपालिकाले ५ लाख रुपैयाँ उद्योग सञ्चालनका लागि सहयोग गरेपछि प्रशिक्षकका रूपमा दुर्गाको सहयोगमा तालिम दिइएको थियो ।


तालिममा सहभागीले दुर्गा केसीको जस्तै साबुन बनाएर आम्दानी गर्ने संकल्प गरेर उद्योग चलाउन थालेको भण्डारीले बताए । ‘हाम्रो वडा क्षेत्रका पाखा/पखेरा, सामुदायिक वन, निजी जमिनमा चिउरीका थुप्रै रूख छन्,’ उनले भने, ‘चिउरीको घिउबाट साबुन उत्पादन गरे राम्रो आम्दानी गर्न सकिन्छ भनेर लगानी गरेका हौं ।’ कच्चा पदार्थ जम्मा गरेर साबुन बनाउन थालिसकेको कविरामले बताए । ‘एक धार्नी चिउरीको घिउबाट सयवटा नुहाउने साबुन बनाउन सकिने रहेछ,’ उनले भने, ‘यसले गर्दा हामी उद्योग सञ्चालन गर्न उत्साही छांै ।’


चिउरीको घिउ, नरिबलको तेल, स्प्रिड, चिनीपानीलगायत कच्चा पदार्थमार्फत साबुन बनाउने गरेको उनले सुनाए । साबुनको साइज मिलाएर काट्ने मेसिनलगायत उपकरण केही दिनमा ल्याइने कविरामले बताए । ‘सबै तयारी पूरा भएको छ,’ उनले भने, ‘नियमित ढंगले बजारमा साबुन बिक्री गर्ने गरी उत्पादन सुरु गर्दैछौं ।’

प्रकाशित : असार २, २०७५ १३:१३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT