१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नीति तथा कार्यक्रम प्रस्तुत 

अमृता अनमोल

बुटवल — उच्चदरको आर्थिक बृद्धि हासिल गर्ने लक्ष्यसहित प्रदेश ५ सरकारले शुक्रबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत 

युवा श्रमशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सहकारी र निजी क्षेत्र साझेदारी गरी रोजगारीका अवसर सिर्जना गर्ने र ५ वर्षभित्र रोजगारीका लागि विदेशिनु पर्ने वाध्यता अन्त्य गर्ने कामलाई केन्द्रबिन्दुमा राखिएको छ ।


प्रदेश सभा बैठकमा प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गरे । विकास योजनालाई छिटो छरितो र प्रभावकारी बनाउने तथा कर्मचारीलाई रहरले काम गर्ने र हासेर सेवा दिने वातावरण तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


यस्तै, कृषिलाई प्राथमिकता दिदै पर्यटन र उद्योगलाई संवृद्धिसंग जोडिएको छ । प्रदेश सरकारले नेपालगञ्जलाई औद्योगिक राजधानी भैरहवा, परासी र चन्द्रौटा कृष्णनगरलाई औद्योगिक करिडोर बनाउने नीति ल्याएको छ ।


सबै कृषि योग्य जमिनमा सिंचाइ सुबिधा पुर्‍याउन सम्भाव्यता अध्ययन, त्रिबेणी सुस्तादेखि राजापुरसम्मको हुलाकी मार्गलाई पूर्णता र एक घर एक धारो नारा अनुसार सबै घरमा स्वच्छ पानी पुर्‍याउने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै, लुम्बिनी तिलौराकोट रामग्राम पर्यटन बस सञ्चालन र प्युठानको स्वर्गदारी, गुल्मीको रुरु र दाङको धारपानीलाई धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।


निकै महत्वकांक्षी नीति कार्यक्रम बनाएको प्रदेश सरकारले चुरे संरक्षणलाई भने विर्सिएको प्रतिपक्षी दलको आरोप छ । कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले चुरे कार्यक्रमलाई प्राथमिकता साथ अगाडि बढाउन र सपना देखाउने नभइ व्यवहारमा उतार्ने नीति लिन आग्रह गरे । यस्तै संघीय समाजवादी फोरमले संसद विकासका कार्यक्रम ल्याउन निरन्तर माग गरेपनि नसमेटेको आरोप लगाए । संसद विकास कार्यक्रम नहुँदा जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्न नसक्ने संघीय समाजवादी फोरमका सहश्रराम यादवले बताए ।

प्रकाशित : जेष्ठ २५, २०७५ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?