कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रमुखद्वारा कर्मचारीको काज फिर्ता

नेपालगन्ज — बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले शिक्षा शाखा अधिकृत खगेन्द्रबहादुर मल्लको काज फिर्ता गरेका छन् । गाउँपालिकाको शैक्षिक कार्यक्रम र शिक्षा समितिसँग समन्वय नगरेको र अटेर गरेको आरोप लगाउँदै उनको काज फिर्ता गरेको चौधरीले बताए ।

प्रमुखद्वारा कर्मचारीको काज फिर्ता

‘समन्वय अभावमा शैक्षिक गतिविधि सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखिएकाले काज फिर्ता गरिएको हो,’ चौधरीले काज फिर्ताको पत्रमा उल्लेख गरेका छन् ।


निर्णयबारे संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन र शिक्षा विकास समन्वय एकाइलाई बोधार्थ दिइएको छ ।


मल्ल आठ महिनादेखि उक्त गाउँपालिकामा शिक्षा समिति सदस्य–सचिवका रूपमा खटिएका थिए । शैक्षिक सुधारका लागि समन्वयमा काम गर्दै आए पनि त्यहाँबाट आफूलाई हटाउन प्रमुख चौधरीले गलत आरोप लगाएको मल्लको दाबी छ ।


संघ र प्रदेश शिक्षा कानुनसित बाझिने गरी गाउँपालिका प्रमुखले स्थानीय कानुन पास गराउन खोज्दा त्यसो नगर्न सुझाव दिएकाले काज फिर्ता गरिएको उनले बताए ।


शिक्षा ऐन–२०२८ र नियमावली–२०५९ बमोजिम शिक्षक नियुक्ति, सरुवा, बढुवा गर्न पाउने व्यवस्था छ । ‘तर, उक्त कानुनसँग बाझिने गरी गाउँपालिकाले शिक्षा ऐन पारित गर्ने प्रयास गर्‍यो,’ मल्लले भने, ‘संघ तथा प्रदेशसित बाझिएमा कानुन खारेज हुने सुझाव दिँदा मान्नु भएन । उल्टो काज फिर्ता गर्नुभयो ।’


संघीयसित बाझिने गरी कानुन बनाउन नपाइने संवैधानिक व्यवस्था छ । गाउँपालिकाअन्तर्गतका तीन विद्यालयमा हाल शिक्षक भर्नाका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।


स्थानीय शिक्षा इकाइको संंयोजक आफू रहेको भन्दै प्रमुख चौधरी शिक्षक भर्ना, सरुवा तथा बढुवा गर्न सक्ने कानुन बनाउने तयारीमा छन् । कार्यकारी अधिकृत दीपक पौडेलले मल्लले समन्वयमा काम नगरेका कारण गाउँपालिका प्रमुखले उक्त निर्णय गर्नुपरेको दाबी गरे ।

प्रकाशित : जेष्ठ २५, २०७५ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?