१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सारंगी संग्रहालयको माग

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिकाको ऐतिहासिक अर्घा दरबारभन्दा तलपट्टि चिटिक्कको गन्धर्व बस्ती छ । एकै मोडलका घर छन् । भगवती मन्दिर र दरबार घुम्न आउनेले बस्ती देखिने गरी मोबाइलबाट तस्बिर खिचेर फेसबुकमा पोस्ट गर्छन् ।

सारंगी संग्रहालयको माग

सेल्फी खिच्दा बस्तीसँगै सिंगो सदरमुकामको तस्बिर आउँछ । केही भने बस्ती छिर्छन् । सारंगीको धुनमा गन्धर्वका गीत सुन्छन् । उनीहरूसँगै फोटो खिच्छन् र पैसा दिएर फर्कन्छन् ।


उतिबेला अर्घाका राजाले दरबारको दक्षिणतिर मनोरञ्जनका लागि गन्धर्व बस्ती बसाएको भनाइ छ । बस्तीमा पुग्दा पाका उमेरका सारंगी बजाउने व्यक्ति भेटिन्छन् । बालबालिका उनीहरूबाट सिक्छन् । ‘त्यतिबेलाका सम्झना ताजै छ,’ पार्थबाङका बेगमान गन्धर्वले भने, ‘जसले राम्रो सारंगी बजाएर गीत गाउँथ्यो, त्यसैले माना र पाथीभरि अन्न पाउँथ्यो ।’ बाबुले सारंगी बजाएर गीत गाउन सिकाएको उनले बताए । त्यतिबेला उनको मन पढाइभन्दा सारंगीतिर गयो । ‘यहाँ आउनेले चिन्छन्,’ उनले भने, ‘थाप्लोमा नाम्लो, हातमा सारंगी र झोला बोकेर नडुलेको कुनै गाउँ छैन ।’ उतिबेला पिँढी र आँगनमा बसेर सारंगी बजाउँदै गीत गाएको सुन्न गाउँले जम्मा हुन्थे । त्यसबापत लत्ताकपडा दिन्थे । माना भरेर मकै, कोदो, फापर, गहुँको पिठो, घ्यू दिन्थे । ‘केहीले सुका–मोहर पनि दिन्थे, त्यसैले गुजारा चल्थ्यो,’ उनले भने, ‘हिउँद/वर्षा सारंगी टुट्दैनथ्यो । नत्र परिवार भोकै हुन्थे ।’

अर्घाखाँचीस्थित पार्थबाङको गन्धर्व बस्ती


शैली फेरियो
अहिले उनको शैली फेरिएको छ । सभा, समारोहमा गीत गाउन आयोजकले बोलाउँछन् । महत्त्व बेग्लै छ । एउटा कार्यक्रममा गाउँदा एक हजार रुपैयाँसम्म दिने गरेको उनले सुनाए । ‘भगवती मन्दिरमा आएका तीर्थालु बस्तीमा आउँछन्,’ उनले भने, ‘गीत गाउन भन्छन्, पैसा दिएर फोटो खिचेर जान्छन् ।’ केही दिनअघि मन्दिर घुम्न आएकी दाङकी सुलोचना शर्माले सारंगी रेटेर गीत गाउने जातिबारे सुनेपछि चासो लागेको बताइन् । बस्तीमा पुगेर एक घण्टा गीत सुनिन् । मोबाइलमा भिडियो खिचिन् । ‘सारंगी बजाएपछि फोटो खिचेर फर्कें,’ उनले भनिन्, ‘यस्तो संस्कृतिको संरक्षण गर्नुपर्छ ।’


पहिले प्रधानपञ्च र प्रजातन्त्रपछि नेताले सारंगी सुनेर आनन्द लिन्थे । घटनालाई गीत बनाएर गाउने चलन थियो । अहिले राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय, विभिन्न क्लब, आमा समूह, कृषक समूहले बोलाउने गर्छन् । मागअनुसार सारंगी बजाएर गीत गाउँदा चासो दिएर सुन्ने अर्घाकै ठाकुर गन्धर्वले बताए । गाउँ डुलेर गीत गाउँदा सारंगी संरक्षण गर्नुपर्छ भनेर धेरैले भन्ने गरेको उनले बताए । युवा सन्तोष गन्धर्वलाई सारंगी बोकेर बाले हुर्काएको सम्झना ताजै छ । विदेश गएर पैसा कमाएपछि जीवन सहज हुने उनले बताए । आफ्नो पुस्ताले घाँटीमा सारंगी र पछाडि अन्न राख्ने झोला भिरेर गाउँ डुलेको शिक्षक हरि गन्धर्वले सुनाए ।


उनको घरमा पनि सारंगी छ । बेलाबेलामा बजाउँछन् । ‘स्वदेशमै जागिर खान नसके विदेश गएर कमाउँछन् । केको सारंगी बोकेर हिँडून्,’ उनले भने । सारंगीको महत्त्व छ, यसलाई सरकारले छुट्टै व्यवस्था गरेर संरक्षण गरोस् ।’ पार्थबाङलाई पर्यटकीय स्थल बनाउन स्थानीय सरकारले पहल गरिदिनुपर्ने तर्क उनको छ । यहाँ २१ गन्धर्व परिवारको बसोबास छ । पुख्र्याैली पेसाबारे नयाँ पुस्ताले थाहा पाउने गरी संग्रहालय बनाएर सारंगी संरक्षण गर्नुपर्ने उनले बताए । सन्धिखर्क नगर उपप्रमुख ठाकुर विकले सारंगीको संरक्षण गर्न नयाँ कार्यक्रम ल्याइने जनाए ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?