कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भूम्यामा झुम्दै मगर समुदाय

लेकबाट बाढी–पहिरो नझरोस्, बेंसीको बालीनाली खोलाले नबगाओस्, बालीनाली सप्रियोस् र जनधनको क्षति नहोस् भन्ने कामना गरिन्छ
हरि गौतम

रुकुम पूर्व — जिल्लाका अधिकांश चोक–चौतारामा केही दिनदेखि बल पूजाका लागि सर्वसाधारणको भीड लागेको छ ।

भूम्यामा झुम्दै मगर समुदाय

तीन स्थानीय तहमात्र रहेका जिल्लाका सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका धेरैजसो ठाउँमा लेक र गाउँका देउतालाई पुज्नुका साथै भूम्या नाचेर बल पूजा मनाउने चलन छ ।

मगर समुदायको वर्षभरिकै ठूलो पर्व मानिने यसलाई हरेक वर्ष जेठ १ देखि असार ५ गतेसम्म मनाइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म मौलिक पोसाकमा नाचेर पर्व मनाउँछन् ।

वर्षातो समयमा लेकबाट बाढी–पहिरो नझरोस्, बेसीको बालीनाली खोलाले नबगाओस्, बालीनाली सप्रियोस् र जनधनको क्षति नहोस् भन्ने कामनासाथ बल पूजा गरिने चलन रहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर बताउँछन् । जेठ १ गते सामान्य विधि गरेर बल पूजा अर्थात् भूम्या नाच सुरु गरिन्छ ।

त्यसपछि चौतारामा पुगेर हरेक दिन आफ्नै वेशभूषामा भूम्या नाचिन्छ । केटाकेटी, युवायुवती र वृद्धवृद्धा एउटै तालमा एउटै बाजामा नाचेर यो पर्व मनाउँछन् । यसरी नाँच्दा देउता खुसी हुने र अनिष्ठ हुनबाट जोगिने जनविश्वास छ । अध्यक्ष बुढामगर भन्छन्, ‘यो चलन पुर्खौंदेखि चलिआएको हो । प्राकृतिक प्रकोपबाट लेकबेंसी कतै पनि केही क्षति नपुगोस् भन्ने कामना गर्दै पूजा गरिन्छ ।’

जेठ मसान्तका दिन लेकका पन्थ्यौली देउतालाई धार, धूप, ध्वजा र अक्षताले पुजेर भेडाको मासु खाने चलन छ । पुथाउत्तरगंगा गाउँपालिका १० का तेजेन्द्र खाममगर भन्छन्, ‘देउतालाई चढाउन नभई देउता पुज्न लेक पुगेकालाई ख्वाउन भेडा काट्ने प्रचलन छ ।’

पन्थ्यौली देउतालाई पुजिसकेपछि लेकमा फुलेका फूल र मुर्ला बेंसी अर्थात् भूमिमा ल्याइन्छ । खाम भाषामा मुर्ला भनेको सिंगो रूख हो । जरैबाट उखेलेर लेकबाट ल्याएको उक्त मुर्ला बेंसीको चौतारो अर्थात् भूम्या नाच्ने ठाउँमा गाडिन्छ ।

बल पूजाको अन्तिम दिन असार ५ गते सबै जम्मा भएर भोज खाएपछि पूजा विधिपूर्वक सम्पन्न हुन्छ ।

प्रकाशित : जेष्ठ १५, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?