कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रासायनिक मलले ‘माटो कमजोर’

खेतमा कृषि चुन र प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्छ
मनोज पौडेल

कपिलवस्तु — रासायनिक मलको जथाभावी प्रयोगले यहाँको माटो कमजोर हुँदै गएको छ । उब्जनी बढाउन जथाभावी मल प्रयोग गर्दा उर्वरा शक्तिमा ह्रास आएको हो ।

रासायनिक मलले ‘माटो कमजोर’

क्षेत्रीय माटो प्रयोगशाला पोखराको घुम्ती परीक्षण टोलीले कपिलवस्तु नगरपालिकाका विभिन्न ठाउँमा परीक्षण गर्दा यस्तो परिणाम देखाएको हो ।

‘१ सय ६ को खेतमा परीक्षण गर्दा छारीयपन बढी देखियो,’ नगरपालिकाको कृषि इकाइ प्रमुख खुर्सेद अहमद खाँले भने, ‘उर्वराशक्ति घटिरहेको छ ।’ नाइट्रोजन, फस्फोरस र पोटास कम देखिएकाले उत्पादन घटेको उनले बताए । यहाँ युरिया, डिएपीलगायत मलको अत्यधिक प्रयोग गरिन्छ । मनपरी प्रयोगले विभिन्न तत्वमा गम्भीर असर परेको प्राविधिक बताउँछन् । प्राङ्गारिक मलको साटो अहिले कृषकले रासायनिक मललाई प्राथमिकता दिएका हुन् । त्यसले सन्तुलनमा नकारात्मक असर बढदै जाने उनीहरूले बताए ।

रासायनिक मल सर्वसुलभ भएकाले प्रयोग बढेको छ । बोरामा ‘प्याकिङ’ मललाई बिक्रेताले खुलारूपमा बेच्ने गरेका छन् । खुलै बेच्दा माटोलाई आवश्यक तत्त्व नष्ट हुन्छन् । यसले नकारात्मक असर पुर्‍याइरहेको जिल्ला कृषि कार्यालय प्रमुख राकेश ओझाले बताए । कार्यालयअनुसार यहाँको कुल खेतीयोग्य ८३ हजार हेक्टर जमिनमा बलौटे, दोमट र चिम्टाइलो माटो छ । यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यमदेखि कम पाइन्छ ।

यस्तो अवस्थामा रासायनिक मल खेतमा प्रयोग गरिँदा ती तत्त्वको सन्तुलन बिग्रिएर उत्पादकत्व कमजोर बन्दै गएको उनले बताए । ‘प्राङ्गारिकको साटो रासायनिक मलको प्रयोगले भूमि बिग्रिन थालेको छ,’ ओझाले भने, ‘प्राविधिक सल्लाहबिना प्रयोग गर्नु हुँदैन ।’ यहाँ परम्परागत खेतीपाती हुन्छ । माटो परीक्षण गर्ने चलन छैन । ‘जिल्लामै खेतीभूमिको माटोको अवस्था राम्रो छैन,’ वरिष्ठ माटोविज्ञ निसार अहमद खाँले भने, ‘माटो परीक्षण गरी उपचार गरेर मात्र खेती गर्नुपर्छ । परीक्षणले अवस्था पत्ता लाग्छ र सुधारको अवसर मिल्छ ।’

खेतमा कृषि चुन र प्राङ्गारिक मल प्रयोगमा जोड दिनुपर्छ । त्यसले धेरै हदसम्म माटो ठीक हुने उनले बताए । जिल्लाका ८५ प्रतिशत कृषकले प्राङ्गारिक मलको प्रमुख स्रोत गाईबस्तुको गोबरको गुइँठा बनाउँछन् । गुइँठालाई खाना पकाउन ऊर्जाका रूपमा प्रयोग गरिन्छ । गाईबस्तुको मलमूत्रमा माटोलाई आवश्यक १६ तत्त्व हुन्छन् । तर गोबरको गुइँठा बनाइने तथा कतिपयले परम्परागत तरिकाबाट बनाइएका प्राङ्गारिक मल खेतमा राख्दा समस्या भइरहेको छ ।

खेतबारीका झारपात र ठूटाठूटीलाई आगो लगाई हटाउने चलनले पनि उर्वराशक्ति घटदै गएको विज्ञहरू बताउँछन् । वर्ष दिनमा एक जोर गाईबस्तुको मलमूत्रबाट ५८ किलो नाइट्रोजन उत्पादन गर्न सकिने प्राविधिक बताउँछन् । तर उक्त मलमूत्रको खाल्टो बनाएर उचित व्यवस्थापन नगरिँदा त्यसमा रहेका ९० प्रतिशत तत्त्व चुहावट भई खेर जाने गरेको उनीहरूले सुनाए । शिक्षा र चेतनाको अभाव छ, प्रमुख ओझाले भने, ‘कृषकले गाईबस्तुको मलमूत्रबाट खासै लाभ लिन सकेका छैनन् ।’

माटोको स्थिति सुधारका लागि अहिलेदेखि पहल नगरे १० वर्षभित्र कृषि उपजको उत्पादनमा ५० प्रतिशतभन्दा बढी कमी आउने प्राविधिक बताउँछन् । ३ दिन सञ्चालित शिविरमा माटोको महत्त्व बुझाउन कपिलवस्तु नगरपालिकाको महुवामा वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?