कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सेवा पाउनै सास्ती

वीरेन्द्र केसी

अर्घाखाँची — दुई महिनादेखि निद्रा नलाग्ने, छटपटी हुने र कहिलेकाहीं जरोसमेत आएपछि खाँचीकोटका ८८ वर्षीय खिमबहादुर महत्रा छोरा श्रीधरको साथमा बुधबार सन्धिखर्क अस्पताल पुगे । रगत परीक्षणका लागि ४ सय ७० र ईसीजी गर्न १ सय ७५ रुपैयाँको पुर्जी बनाए ।

सेवा पाउनै सास्ती

बिरामीको भीड त्यति थिएन । करिब तीन घण्टा पालो कुरेपछि डाक्टरलाई आफ्नो सिकायत बताउन पाए । ल्यापटेस्ट र ईसीजी शाखामा पुगे । केही समय पालो कुर्नु पर्‍यो । फेरि डाक्टरलाई जँचाएर औषधि लिन दिनभर बित्यो । अस्पतालमा दैनिक ४० देखि ७० बिरामी आउँछन् । शुल्क बुझाउने, पुर्जी बनाउने, रिपोर्ट लिने र पुन : चिकित्सकलाई भेटेर उपचार गराउन सहज छैन ।

वृद्धका लागि भर्ना शुल्क तिर्नु पर्दाेरहेछ । त्यसका लागि अस्पताल प्रमुखको अनुमति लिनुपर्ने नियममा छ । उनले त्यो रसिद काटेपछि बल्ल थाहा पाए । भर्ना शाखामा पुगेर छुट मागे । तर, अस्पताल प्रमुखको आदेश नभएकाले दिन नसकिने भन्दै कर्मचारी पड्किए । बिरामीले छिटो छरितो सेवा सुविधा पाउन धेरै समय कुर्नुपर्ने अवस्था रहेको श्रीधरले बताए । बुधबार नै अस्पतालमा दुई वर्षीय छोरालाई जरोको उपचार गराउन आएका सुदीप खड्का पुर्जी बनाउन, डाक्टर देखाउन सजिलो नभएको बताउँछन् । डाक्टर देख्नै पाइँदैन । अरु त अरु डाक्टरलाई दोहोरो बोल्नसमेत फुर्सद नभएको देख्दा ठीक लागेन, उनले भने । उनी चार महिनापछि छोरालाई लिएर एक निजी क्लिनिक पुगे । त्यहाँ राम्ररी दोहोरो सोधपुछ भयो ।

तिनै डाक्टरसँग सरकारी अस्पतालमा एकोहोरोमात्रै कुरा भयो, उनले भने । सामान्य लेखपढ गरेको उनी छोरालाई डाक्टरले दिएको औषधिको नाम पढ्न सक्दैनन् ।


मेडिकलबाट औषधि किने । सरकारी अस्पतालमा नि:शुल्क के–के पाइन्छ भन्ने उनलाई थाहा छैन । सबै औषधि मेडिकलबाट किने । गुल्मीको हाडगाडेबाट कमला कुँवर पिसाब जँचाउन तीन घण्टा गाडीबाट सन्धिखर्क आइपुगिन् । रसिद लिएर रगत परीक्षण कक्षमा गइन्। त्यहाँ १२ बजेपछि जाँच गरिन्छ भन्ने ढोकामा लेखिएको थियो । एक बज्दासम्म डाक्टर नआउँदा उनी लाइन पर्खेरै बसेकी थिइन् । ‘१२ बजे जाँच्ने लेखिएको छ,’ उनले भनिन्, ‘एक बजेसम्म अत्तोपत्तो छैन । समयमै केही काम हुँदो रहेनछ ।’ चेक गराएर घर फर्किने गरी आएकी उनी दिनभर समय बितेको बताइन् । फलेपतका दामोदर कुँवर दुई महिनाकी गर्भवती श्रीमतीको जाँच गराउन अस्पताल आएका थिए । भिडियो एक्सरे कक्षमा समयमै डाक्टर आएनन् । बिरामी जाँचमा ढिलासुस्ती सधैं यस्तै हो, उनले भने ।

ढाड दुखेर आएकी सुस्मिता खनालले दुई/तीन घण्टा बेडमै कुरेपछि डाक्टरलाई नमस्कार गर्न पाएको बताइन् । थोरबहुत आफ्नो अवस्थाबारे कुरा सुनाउन भ्याइन् । त्यसपछि डाक्टरले औषधि लेखिदिए । निजी मेडिकलमा औषधि किनेर उनी घर फर्किन । भूमिकास्थान नगरपालिका–२ की खनाल स्वास्थ्य चौकीमा केही दिनअघि जरो आएर जचाउन पुगेकी थिइन् ।

सिटामोलसमेत चौकीमा रहेनछ । मेडिकलबाट किनेको उनले सुनाइन् । ‘पहिला त यत्तिकै दिन्थे,’ उनले भनिन्, ‘पीयनले जाँचेर औषधि किन्न भने । अहिले दिएनन् ।’ धेरै औषधिको नाम नजाने पनि सिटामोट चौकीबाट नि:शुल्क पाइन्छ भन्ने बुझेकी छन् । बिरामीका अनुसार दिउँसो सरकारी अस्पतालमा जागिर गर्ने डाक्टर निजीमा जान्छन् । त्यहाँ दोहोरो कुराकानी गरेर जाँच्ने, औषधि दिने, के खान हुन्छ, के खान हुँदैन भन्ने सबै भनिदिन्छन् । तर, सरकारीमा त्यस्तो हुँदैन । तीन नबज्दै डाक्टर क्लिनिकतिर दौडिन थाल्छन् । भीड नभए पनि उपचार गराउन समय कुर्नुपर्ने र नि:शुल्क पाइने औषधिबारे जानकारी नहुँदा बिरामीले सेवा सजिलै सेवा पाउन सहज नभएको गुनासो बिरामीको छ । औषधि पनि पर्याप्त नहुँदा नि:शुल्क पाइनेसमेत मेडिकलमा किन्नु परेको छ । पहिले जनस्वास्थ्यले औषधि खरिद गर्ने र स्वास्थ्य चौकीमा पठाइदिने गथ्र्याे । संघीय संरचनाअनुसार सबै अधिकार पालिकामा छ ।

स्वामित्व हस्तान्तर भइसकेको छ । औषधि खरिद र बिरामीको सहज रुपमा स्वास्थ्य उपचारमा जनप्रतिनिधि अलमलमा छन् । ‘पहिला जति औषधि अहिले छैन,’ खिल्जी स्वास्थ्य चौकीका इन्चार्ज अमरबहादुर थापाले भने, चौकीमा दिनमा १०/१५ बिरामी आउँछन् । यहाँ पनि बिरामीप्रति ध्यान दिएर जाँच्ने नगरेको खिल्जीका पुनाराम बेल्वासेले बताए । जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट र ठाडासहित गाउँका स्वास्थ्य चौकीमा सेवा प्रभावकारी नभएको गुनासो जताततै छ । जिल्ला अस्पतालसहित सबै स्वास्थ्य चौकीमा बिरामीको चापको तुलनामा सेवा प्रवाहले गति लिन सकेको छैन । ‘अस्पतालका बिरामीलाई छिटोछरितो स्वास्थ्य सेवा दिन नखोजेको होइन,’ प्रमुख डा. जगन्नाथ तिवारीले भने, ‘सक्दो कोसिस गरेका छौं । राम्ररी जाँच गरेकै छौं । रिपोर्ट आउन ढिलाइ हुन्छ, अरू सेवा समयमै दिएका छौं ।’

अस्पतालमा अहिले १५ बेड छ । तर बिरामीको चाप बढी भएपछि अस्पतालले ३५ बेडको बनाइएको हो । स्थायी डाक्टर दरबन्दी तीन जनाको छ । अहिले तिवारी मात्रै छन् । डा. चुनु दर्नाल र हरि पन्थी अध्ययन बिदामा गए । करारमा चार जना डाक्टर छन् । ‘बिरामीको चाप धेरै भएपछि ३५ बेडको अस्पताललाई आठ जना डाक्टर चाहिन्छ,’ तिवारीले भने, ‘स्थायी दरबन्दीको म एक्लै हुँ । करारको भर हुँदैन । कहिले खाली नै हुन्छ । तै पनि भर्ना भएकाको उपचारमा कमी हुन दिएका छैनौं ।’ ५० बेडको अस्पताल बनाउने चर्चा सधै चल्छ । चुनावमा नेताले नारा लगाउन छाडेका छैनन् । जिल्ला अस्पतालमा ७०, बर्थिङमा ३८, स्वास्थ्य चौकीमा ३५ र प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधि नि:शुल्क पाइने उनले बताए । पालिकामा सबै स्वामित्व हस्तान्तरण भइरहेकाले जनप्रतिनिधि औषधि खरिदमा अलमल भएको उनले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?