१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पूर्वीय दर्शनको केन्द्र

यो प्रदेशमा नेपाल संस्कृत र बौद्ध गरी दुईवटा पूर्वीय दर्शनमा आधारित विश्वविद्यालय छन् । विश्वविद्यालयमा सामान्य पठनपाठन मात्र नभई ज्ञानविज्ञान, दर्शन, कला, साहित्य, भाषा र संस्कृतिसमेत समेटिएको छ ।

काठमाडौँ — पदेश ५ मूलत: पूर्वीय दर्शन र शिक्षाको केन्द्र हो । दाङमा नेपाल संस्कृत र रूपन्देहीमा बौद्ध गरी दुईवटा पूर्वीय दर्शनमा आधारित विश्वविद्यालय हुनु गौरवको विषय हो । यी विश्वविद्यालयले यस क्षेत्रको पहिचान बोकेका छन् ।

पूर्वीय दर्शनको केन्द्र

यसका साथै यहाँ आयुर्वेद र प्राविधिक शिक्षाको राम्रो सम्भावना छ । संस्कृत विश्वविद्यालयमा सामान्य पठनपाठन नभई ज्ञानविज्ञान, दर्शन, कला, साहित्य, भाषा र संस्कृति समेटिएको छ ।

हामी ज्ञान र संस्कृतिका जति धनी छौं, त्यसविपरीत जनशक्ति र आर्थिक स्रोतमा कमजोर हुँदा अध्ययन, अनुसन्धान र अध्यापनमा अपेक्षित छैन । संस्कृत विश्वविद्यालयमा अध्यापन हुने पूर्वीय दर्शनमा आधुनिक विज्ञानको मिश्रण गरी शिक्षालाई समयानुकूल बनाउनुपर्ने आवश्यकता छ । उदाहरणका लागि पौराणिक वास्तुशास्त्र र आधुनिक आर्किटेक्चर इन्जिनियरिङको पाठ्यक्रमलाई मिलाएर नयाँ बनाउन सकेमा दक्ष जनशक्ति तयार गर्न सकिन्छ । वास्तुशास्त्रमा फलित ज्योतिष पनि मिलाएर पढाउन सकेमा ‘थ्री इन वन’ जनशक्ति तयार हुन्छ । आर्किटेक्चरले भवनको नक्सा र वास्तुले उपयुक्त डिजाइन मिलाउने र साइत हेर्ने ज्ञान एउटै व्यक्तिलाई दिन सक्छ । मावि तहमा केही आधारभूत कुरा मात्रै पढाएर बाँकी स्नातक र स्नातकोत्तर तहमा पढाउन सकेमा राम्रा इन्जिनियर तयार गर्न सकिन्छ ।

कृषियोग्य जमिन पर्याप्त भएकाले वैदिक कृषि शिक्षा सञ्चालन राम्रो हुन्छ । जलवायु, माटो, हावापानी अनुकूल कृषि उत्पादन गर्न सकिन्छ । यहाँको हावापानी अनुकूल पाठ्यक्रम भएन । यो पढाइ र व्यावहारिकता नमिलेको हो । शिक्षामा राज्यले प्रचुर लगानी गर्नुपर्छ । राम्रो मानिस उत्पादन गर्न भवन होइन, पाठ्यक्रम र गुरु चाहिन्छ । अहिलेका पाठ्यक्रम र गुरु खिया लागेका छन् । पाठ्यक्रम झारा टार्ने खालका छन् । त्यसकारण संस्कृति विश्वविद्यालयको पाठ्यक्रम परिवर्तन गर्दैछौं । स्वरोजगार उत्पन्न गर्न नसक्ने शिक्षाको काम छैन । रोजेको र आवश्यकताअनुसारको पढाइ हुनुपर्छ । यहाँ आफ्नो भाषाको ज्ञान छैन । अन्तर्राष्ट्रिय भाषाको पढाइ हुन्छ । नेपालको दर्शन र दार्शनिकका कुरा पाठ्यक्रममा भएनन् । पूर्वीय दर्शनका कुरा समावेश नभएका पाठ्यक्रमले कसरी यहाँको माटो सुहाउँदो जनशक्ति तयार हुन सक्छ । अब मनु, शुक्राचार्य, बृहस्पति, विदुरजस्ता दार्शनिकको ज्ञान पढेर बल्ल पश्चिमा दार्शनिकसँग तुलना गर्नुपर्छ । पूर्व अभिमुख पाठ्यक्रम चाहिन्छ, हाम्रो पाठ्यक्रम पश्चिम अभिमुख भयो ।

साहित्यको पाठ्यक्रममा कालीदास, व्यास पढेर मात्रै शेली, किड्स, शेक्सपियर खोज्नुपर्‍यो । साहित्यमा पश्चिमा संस्कृति मात्र पढियो । पश्चिमका विश्वविद्यालयमा पूर्वीय दर्शन र साहित्य अध्ययन विभाग खुलेका छन् । उनीहरूले पूर्वीय दर्शनको खोजी गरिरहेका छन् । हामी दरिद्र छौं । हाम्रो दर्शनको अध्ययनमा ध्यान दिएका छैनौं । मैले धेरैपटक पाठ्यक्रम अनुकूल नभएको विषयमा बहस गरेको छु । यसैगरी ‘लाइट अफ एसिया’ भनिएका बुद्ध अहिले ‘लाइट अफ वल्र्ड’ भएका छन् । बुद्धिज्म इन जापान, श्रीलंका, चीनजस्ता दर्शनबारे अध्ययन गरेर विश्वभर फैलाउन सक्छौं । साधन स्रोत अभावमा बौद्ध विश्वविद्यालयले गति लिन सकेको छैन । पाली बुद्धको मातृभाषा र संस्कृत ज्ञानको भाषा थियो । हामी न पाली, न संस्कृत पढाउँछौं । अबको शिक्षामा बुद्धको दर्शनबारे पढाइ हुनुपर्‍यो ।

यहाँका दुई विश्वविद्यालयलाई राष्ट्रले स्रोत साधन सम्पन्न बनाउन सकेमा धेरै उपलब्धि हासिल गर्न सकिन्छ । पौराणिक र आधुनिक शिक्षालाई जोडेर एउटा उत्कृष्ट शिक्षा दिन सकिन्छ । केही समय राज्यले लगानी गरेपछि विस्तारै शिक्षाले राज्यलाई लगानी फर्काउन सक्छ । राम्रो इच्छाशक्ति भएका मानिसले विश्वविद्यालय हाँक्नुपर्छ । शिक्षाको प्रतिफल सय वर्षपछि पनि देखिन सक्छ । त्यसकारण लगानी जरुरी छ । अहिलेकै अवस्थामा केन्द्रीय कार्यालय रहेको ठाउँलाई आधार मानेर राज्यले विश्वविद्यालयलाई प्रदेशमा सीमित गरेमा बर्बाद हुन्छ । सबै प्रदेशमा आंगिक क्याम्पस छन् । हिमाल, पहाड, तराई, ग्रामीण भेग, सहर, राजधानी सबै क्षेत्रमा क्याम्पस रहेको अवस्थामा विश्वविद्यालय प्रदेशमा सीमित भए यसको उन्नतिमा बाधा हुन्छ । यस क्षेत्रको शैक्षिक विकासका लागि यिनलाई केन्द्रीय विश्वविद्यालय नै बनाउनुपर्छ ।

संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षामा चिकित्सक उत्पादन भइरहेका छन् । यहाँ आयुर्वेद अस्पताल पनि छ । यसलाई अझ स्रोत साधन सम्पन्न बनाएर आयुर्वेदको अध्ययन अनुसन्धान केन्द्र बनाउन सकिन्छ । जडीबुटीको पर्याप्त सम्भावना भएकाले आयुर्वेद क्षेत्रमा यहाँ ठूलो प्रगति गर्न सकिन्छ । योग विज्ञान पनि अहिले आकर्षणको केन्द्र बनिरहेको छ । योग विज्ञानको पढाइ सुरु गर्न सकेमा खानपिन र जीवनशैली व्यवस्थित गर्न सकिन्छ । शरीर र प्रकृतिमा भएका तत्त्वको मिलनबाट बाँच्न सिकाउने पद्धति नै योग विज्ञान हो । संस्कृत शिक्षा अलि उपेक्षित शिक्षा भएको छ । राज्य र जनताको आकर्षणको केन्द्र हुन सकेको छैन । अब राज्यले यसको उन्नतिमा ध्यान दिनुपर्छ । ९–१२ कक्षामा संस्कृत, ज्योतिष, आयुर्वेद, सामवेद, संगीत, आधुनिक र वेद विज्ञान, आधुनिक र वैदिक गणितजस्ता विषयका पाठ्यक्रम बनाएर पढाउन थाल्नुपर्छ । यसले संस्कृत शिक्षाको विकासमा टेवा पुर्‍याउनेछ । यसो गरेमा विश्वविद्यालयबाट राम्रा चिकित्सक, ज्योतिष, वैज्ञानिक र विद्वान् उत्पादन गर्न सकिन्छ । संघ, प्रदेश र स्थानीय सरकारलाई संस्कृत जस्तो वैदिक र पौराणिक शिक्षाको संरक्षण र संवद्र्धनमा गम्भीर भइदिन अनुरोध गर्दछु । यसैले प्रदेशलाई समृद्ध बनाउनेछ ।

-कुलप्रसाद कोइराला
उपकुलपति, नेपाल संस्कृत विश्वविद्यालय
(दुर्गालाल केसीसँग कुराकानीमा आधारित)

प्रकाशित : जेष्ठ ११, २०७५ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?