उन्नत प्रदेश

सबै दृष्टिकोणले ५ नम्बर प्रदेश अत्यन्तै महत्त्वपूर्ण गौरव बोकेको क्षेत्र हो । विकासका दृष्टिकोणले झन् महत्त्वपूर्ण छ । हामीले विकासका केही मुद्दाहरूसमेत अघि सारिसकेका छौं ।

काठमाडौं — सबै प्रदेशको आ–आफ्नै विशेषता छन् । ५ नम्बर प्रदेशले पनि विशिष्ट महत्त्व बोकेको छ । विकासका दृष्टिकोणले झन् महत्त्वपूर्ण छ । यसको सदुपयोग गर्न हामीले केही विकासका योजनाबद्ध मुद्दाहरूलाई अघि सारिसकेका छौं । पूर्व–पश्चिम राजमार्ग यो प्रदेशका लागि असाध्यै महत्त्वपूर्ण पूर्वाधार हो ।

उन्नत प्रदेश

यसलाई ६ लेनको सडकमा स्तरोन्नति गर्न ध्यान केन्द्रित भएको छ । हुलाकी राजमार्ग यो प्रदेशको अर्को महत्त्वपूर्ण संरचना हो । यसलाई छिटो पूरा गर्नुपर्छ भन्ने हाम्रो सोचाइ, चाहना र प्रयास छ । पूर्व–पश्चिम राजमार्गबाट जिल्ला सदरमुकाम हुँदै दक्षिणको सिमाना जोड्ने सडकलाई ४ लेनमा स्तरोन्नति वा निर्माण गर्नुपर्छ । यो योजना पनि अघि सारिएको छ । राप्ती राजमार्ग व्यवस्थित रूपमा पूरा गर्नु छ ।

हामीले गोरुसिंगेबाट ढोरपाटन हुँदै जाने बाटोलाई विकास गर्न चाहेका छौं । बुटबल–पोखरा सडक दुुई लेनमा स्तरोन्नति गर्ने र सिद्धबाबाको जोखिमबाट जोगिन सुरुङमार्ग निर्माण गर्ने प्रयास केन्द्रित भएको छ । उत्तर सिमानाबाट दक्षिण सिमाना पुुग्ने महत्त्वपूर्ण राजमार्ग सुनौली–बेलहिया–बुटवल–राम्दी–मिर्मी भएर कालीगण्डकीको किनारैकिनार बेनी–जोमसोम–कोरला जाने सडक निर्माण गर्ने प्रयास अघि बढाइएको छ । रूपन्देही, नवलपरासी, कपिलबस्तु, गुल्मी, अर्घाखाँची र पाल्पा ६ वटै जिल्ला जोडिने गरी लुम्बिनी चक्रपथ योजना अघि सारेका छौं ।

तराईको समथर भूभागमा सिंचाइका लागि केही महत्त्वपूर्ण कामहरू गर्नुपर्छ भन्ने सोचाइ छ । भेरी बबई डाइभर्सन, सिक्टा सिंचाइ आयोजना छिटो सम्पन्न गर्नु छ । राप्तीको पानी कपिलवस्तुमा खसाई सिंचाइ गर्ने काम गर्न अध्ययन सुरु गर्नुपर्छ । कालिगण्डकी तिनाउ आयोजना सुरु गर्नुपर्छ । कालिगण्डकीको पानी तिनाउ नदीमा खसाउने र त्यसबाट एकसाथ बिजुली, सिँचाइ, खानेपानी र पर्यटन प्रवद्र्धनका लागि प्रयोग हुनेछ । यसको बृहत् आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको अन्तिम चरणमा छ । डीपीआर बनेलगत्तै निर्माणको काम समयमै सम्पन्न गर्ने योजना अघि बढेको छ ।



सरकारी मेडिकल कलेजका योजनाहरू पनि अघि बढाएका छौं । बुटबलमा सरकारी स्वामित्वको मेडिकल कलेज स्थापना पनि हुँदै छ । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत अर्को मेडिकल कलेजको स्थापना गर्दै छौं । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै छौं । सुरुमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणाका साथ सुरु भएको थियो । अब यसलाई थप पाँच सय बिघा जमिन अधिग्रहण गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्दै छौं ।

रूपन्देहीको मोतीपुर, बाँकेको नौबस्तालगायतका विभिन्न ठाउँमा आधुनिक र अत्याधुनिक औद्योगिक क्षेत्र निर्माणको सुरुआत गरिसकेका छौं । खानेपानी, सहरीकरणको समस्या सामधान गर्ने गरी विभिन्न योजनाहरू अघि सारिएका छन् । लुम्बिनी, तिलौराकोट, रामग्राम विश्वकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण छ भन्ने स्थापित भइसकेको छ । यसबाट प्रदेश ५ नम्बरले भरपूर उपयोग गर्नुपर्छ । यसबाहेक बर्दिया राष्ट्रिय निकुञ्ज, पाल्पाको रानीमहल, गुल्मीको रेसुंगा, अर्घाखाँचीको पाणिनि, स्वर्गद्वारी, सिस्ने हिमालजस्ता ठाउँहरूलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न खोजिरहेका छौं । त्याग, बलिदान र समपर्णको अध्ययन गर्न चाहनेहरूका लागि रोल्पा, रुकुमजस्ता ठाउँहरूमा पर्यटन प्रवद्र्धन गर्ने हिसाबले जाँदै छौं ।

लुम्बिनीको बृहत्तर विकास अपरिहार्य छ । ५ नम्बर प्रदेशको अर्को ठाउँ बर्दिया राष्ट्रिय निकुञ्ज हो । अनेक जाति, प्रजातिका बन्यजन्तुहरू बर्दिया निकुञ्जमा भेटिन्छन् । यसको पनि आफ्नै विशिष्ट महत्व छ । महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक धेरै स्थलहरू छन् । जस्तो स्वर्गद्वारी, रेसुुंगा, रिडी आदि । ताजमहलसँग तुलना हुने रानीमहल छ । त्रिवेणीजस्तो पवित्र धाम छ । तानसेनमा भगवतीको मन्दिर छ । यीलगायत धार्मिक हिसाबले धेरै महत्त्वपूर्ण ठाउँहरू छन् ।

नदी प्रणालीको हिसाबले गण्डकी र कर्णाली दुुई ठूला नदीको बीचमा अवस्थित छ । अर्को राप्ती नदी पनि छ । यी नदी प्रणालीका कार्यहरूबाट यो प्रदेशले निकै लाभ उठाउन सक्छ । ५ नम्बर प्रदेशमै सिस्ने हिमाल छ । मुलुकको संघर्ष, त्याग, बलिदानको विशिष्ट कीर्तिमान कायम गरेको रोल्पाको थबाङजस्ता गाउँहरू छन् । एसियाकै ठूलामध्येको एउटा दाङ उपत्यका छ । जुन अत्यन्त्यै सम्भावनाको उपत्यका हो । पश्चिम नवलपरासी, रूपन्देही, कपिलबस्तु, बाँके र बर्दियाजस्ता समथर भूभाग छन्, जुन व्यावसायिक कृषि उत्पादनको दृष्टिकोणले अत्यन्त्यै महत्त्वपूर्ण छ ।

पाणिनिजस्ता विद्वान्हरूले तपस्या गरेको तपोभूमि अर्घाखाँचीमा छ । पाल्पाको आफ्नो गौरवमय इतिहास छ । राजा मणिमुकुन्द सेनले राज्य गरेको पाल्पा छ । ब्रिटिस साम्राज्यविरुद्ध मातृभूमिको रक्षा गर्न बहादुरीका साथ कर्णेल उजिरसिंहले नेतृत्व गरेर लडेको जितगढी किल्ला बुटवलमा छ । जसको नाम नै जितगढी हो । हाम्रो मातृभूमिको रक्षा गर्न उनले गरेको योगदान हामी इतिहास पढेर जानकारी लिन सक्छौं । आदिमानव रामापितिगसको विचरण क्षेत्र यही प्रदेशमा पर्छ । रामातिगसको जीवांश भेटिएको छ । प्रमाणित पनि भइसकेको छ । सबै दृष्टिकोणले हेर्दा ५ नम्बर प्रदेश अत्यन्तै महत्त्वपूर्ण गौरव बोकेको क्षेत्र हो ।


यी र अन्य क्षेत्रहरूको भरपूर उपयोग यो प्रदेशले गर्नुपर्ने हुन्छ । थप विकासका लागि सबैको दायित्व हुन्छ । अहिले हामी संघीय शासन प्रणालीअन्तर्गत छौं । संघ, प्रदेश र स्थानीय सरकारका आ–आफ्ना क्षेत्राधिकार तथा सीमा छन् । केन्द्र सरकारका तर्फबाट गर्नुपर्ने कामहरू प्रभावकारी ढंगले अघि लैजानुपर्छ । प्रदेश तथा सम्बन्धित स्थानीय तहले पनि त्यसैअनुरूप अघि बढ्नुपर्छ । जनताको भूमिका झन् महत्त्वपूर्ण हुन्छ । आफ्ना सरोकारका आयोजनाहरूको बारेमा स्रोतको दुरुपयोग नहोस्, गुणस्तरमा सम्झौता नहोस् भनेर निगरानी, समर्थन र सहयोग गर्नुपर्ने हुन्छ ।
पौडेल नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री हुन् ।
(कृष्ण आचार्यसँग कुराकानीमा आधारित)

के हुँदै छ ?
-पूर्व–पश्चिम राजमार्ग ६ लेन सम्पन्न
-बुटवल–पोखरा सडक दुुई लेनमा स्तरोन्नति
-सिद्धबाबाको जोखिमबाट जोगिन सुरुङमार्ग
-भेरी बबई डाइभर्सन, सिक्टा सिँचाइ छिटो सम्पन्न
-रोल्पा, रुकुमजस्ता ठाउँहरूमा बलिदानी पर्यटन प्रवद्र्धन केन्द्र
-बुटवलमा सरकारी स्वामित्वको मेडिकल कलेज
-दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत मेडिकल कलेज स्थापना
-सुनौली–बेलहिया–बुटवल–राम्दी–मिर्मीबाट बेनी–जोमसोम–कोरला सडक निर्माण
-बुटवल–भैरहवा, नेपालगन्ज–कोहलपुर र दाङ उपत्यकामा तीन महानगर निर्माण
-राप्तीको पानी कपिलवस्तुमा खसाई बिजुली, सिँचाइ, खानेपानी र पर्यटन प्रवद्र्धन

प्रकाशित : जेष्ठ ११, २०७५ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?