कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियमविपरीत पराल र छवाली पोलिँदै

‘वातावरण दूषित मात्रै नभई माटोको जैविक पदार्थसमेत नष्ट भएर उर्वराशक्ति ह्रास हुन्छ’
माधव ढुंगाना

भैरहवा — धान र गँहु काटेपछि खेतमा रहेको छवाली र पराल जलाउन सरकारले प्रतिबन्ध लगाएको छ । सरकार मातहतकै यहाँस्थित एक कार्यालयले भने बर्सेनि जलाएर नियमको धज्जी उडाउँदै आएको छ ।

नियमविपरीत पराल र छवाली पोलिँदै

५२ बिगा क्षेत्रफलको भैरहवास्थित राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रमले आफ्नै स्वामित्वको जमिनमा धान र गहुँ काटिसकेपछि कामदार लगाएरै खेतमा पराल र छवाली जलाउने गरेको हो ।

कार्यालय परिसर र कर्मचारी आवास क्षेत्रबाहेक उक्त जमिनको पूरै भूभागमा धान र गहुँ लगाइन्छ । चारैतिर बस्तीबीचको उक्त कार्यालयले खेतमा आगलागी गर्दा निस्किने धूँवाले स्थानीय आक्रान्त बनेका छन् । खासगरी गहुँ काटेपछि थुपारिएको छवाली जलाउने बेला गर्मी समय हुने र त्यतिबेला तराईमा चल्ने तातो हावासँगै धूँवा चारैतिर फैलिँदा वातावरण निकै प्रदूषित हुन्छ । तातो हावाले उडाउने खरानी घरभित्रसमेत पस्ने गरेको स्थानीयले बताए ।

वातावरण संरक्षण ऐनअनुरूप खेतमा थुपारिएको पराल र छवाली जलाउन सरकारले प्रतिबन्ध लगाएको हो । पराल र छवाली जलाउँदा वातावरण दूषित हुनुका साथै माटोको जैविक पदार्थसमेत जलेर नष्ट हुने हुँदा यसलाई प्रतिबन्ध लगाएको कृषि विकास कार्यालय प्रमुख भोजराज सापकोटा बताउँछन् ।

‘खेतमा रहेको पराल र छवाली जलाइँदा गड्यौलालगायत लाभदायक जीव मर्ने र वातावरण दूषित हुन्छ,’ सापकोटोले भने, ‘आगो लगाउँदाको बेफाइदाबारे स्वयं कृषि मन्त्रालयले नै प्रचारप्रसार गर्नुका साथै जलाउनेमाथि दण्डित गर्ने गरेको छ ।’ उनका अनुसार जलाइँदा माटोमा रहेका जैविक पदार्थ नष्ट भई माटोको उर्वराशक्ति नै ह्रास हुन्छ ।

कम्बाइन र हार्बेस्टर मेसिन प्रयोग गरी खेतमा धान र गहुँ काट्दा पराल र छवाली खेतमै छुट्ने र किसानले त्यसमा आगो लगाइदिने भएकाले केही वर्षअघि सरकारले यी मेसिनको आयात र प्रयोगमै प्रतिबन्ध लगाएको थियो । कृषि प्रविधिको युगमा औजार प्रयोग नगरी हातैले खेती गर्न मजदुर अभाव हुँदा असम्भव हुने भएपछि ती मेसिनको साथमा पराल र छवाली संकलन गर्ने ‘स्ट्ररेपर’ नामको उपकरण पनि ल्याउनुपर्ने र प्रयोग गर्दा पनि ती जोड्नै पर्ने प्रावधान सरकारले ल्याएको छ । यी दुवै प्रावधान सरकारले लगाउनुको पछाडि खेतमा पराल र छवालीमा आगलागी हुनबाट जोगाउनु हो ।

राष्ट्रिय गहुँ बाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख शेषरमण उपाध्यायले खेतमा रहेको पराल र छवाली जलाउन नियमले नपाइने भए पनि छिटो नगल्ने र नि:शुल्क दिँदा पनि कसैले नलग्ने हुँदा जलाउन बाध्य भएको बताए ।

‘पराल र छवाली संकलन गर्न नै गाह्रो हुने भएकाले अतिरिक्त मजदुर खोजेर जलाउने गरिएको हो,’ उनले भने । यसरी जलाउँदा माटोको उर्वराशक्ति घट्ने, जैविक पदार्थ नष्ट हुने, वातावरण प्रदूषित हुने र लाभदायक जीव पनि मर्ने कुरामा उनी सहमत छन् ।

प्रकाशित : जेष्ठ १, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?