कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बालविवाह गर्ने जोडी मण्डपबाटै पक्राउ

काशीराम डाँगी

रोल्पा — बालविवाह गरेको अभियोगमा प्रहरीले रोल्पा नगरपालिका-२ ह्वालीगाउँबाट एक जोडीलाई पक्राउ गरेको छ । कानुनविपरीत विवाह गरेका दुलाहा राजकुमार खड्कासहित दुलहीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उमेर नपुग्दै विवाह गरेका किशोरकिशोरीलाई दुलाहा खड्काको घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइएको हो ।

बालविवाह गर्ने जोडी मण्डपबाटै पक्राउ

प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बालविवाह गरेको अभियोगमा पक्राउ गरिएका किशोरकिशोरीको जोडीलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताए । विवाह गरेका केटाकेटी दुवैको उमेर १७ वर्ष छ । बालविवाह गरेको प्रमाणित भएमा तीन वर्षसम्म जेल चलान गर्ने र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । मुलुकी ऐन २०७४ को विवाहसम्बन्धी कसुरमा बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ ।

अधिकारकर्मी र गाउँलेहरुले सम्झाईबुझाई गर्दा पनि बालविवाह रोक्न नमानेपछि प्रहरीले उजुरीका आधारमा विवाहस्थलबाटै उनीहरुलाई पक्राउ गरेको हो । नगरपालिका-२ को रेउघास्थित प्रहरी चौकीमा विवाह रोक्ने उद्देश्यले बालविवाह न्यूनीकरण समितिले उक्त बालविवाह हुनु एक दिनअघि मंगलबार उजुरी दिएको थियो । समितिकी अध्यक्ष सविना घर्तीमगरले बालविवाह अत्यधिक बढेकाले रोक्न प्रहरीसँग सहयोग माग्दै उजुरी दर्ता गरेकी थिइन् । उजुरी अनुसार जिल्ला प्रहरी प्रमुख प्रनाउ फुयालले विवाह रोक्न प्रहरी परिचालन समेत गरेका थिए । तर, केटापक्षले प्रहरी र बालविवाह न्यूनीकरण समितिको सल्लाहविपरीत बुधबार बिहानै धुमधामले विवाह गरेका थिए । केटाका बुबा मैते खड्का विदेश छन् भने आमा दिलसरीलाई पनि प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सोधपुछका लागि लिएको छ ।


वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बालविवाह रोक्न पटक पटक पहल गरे पनि केटा पक्षले बेवास्ता गरेको बताए । विवाह गर्नुअघि नै केटाकेटी दुवैले माध्यमिक तहको पढाइ छोडेका थिए । प्रहरीले बालविवाह भोजमा सहभागीलाई समेत सोधपुछका लागि बोलाउने भएको छ । प्रनाउ फुयालले केटाकेटीको बयानपछि अरुसँग पनि सोधपुछ गर्न बोलाउन सकिने बताए ।

प्रकाशित : वैशाख १९, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?