अतिक्रमणमा ताल

नवीन पौडेल

परासी — विश्व सम्पदा सूचीमा सूचीकृत प्रक्रियामा रहेको पश्चिम नवलपरासीस्थित पाल्हिनन्दन गाउँपालिका ६ सनई हकुहीमा रहेको ऐतिहासिक नन्दन ताल अब पोखरीमा परिणत भएको छ ।

अतिक्रमणमा ताल

करिब १ सय ४० बिघामा फैलिएको तालको जग्गा स्थानीयले अतिक्रमण गरेर खेती गर्दै आएका छन् । संरक्षण र प्रवद्र्धनका लागि बर्सेनि रकम विनियोजन भए पनि अतिक्रमणकारीको अवरोधले रकम फ्रिज हुने गरेको छ । बर्सेनि अतिक्रमण चपेटमा पर्नु र संरक्षणका लागि गुरुयोजना नबन्दा तालको अस्तित्व नै खतरामा परेको हो ।

विभिन्न सरकारी निकायको कार्यालय स्थापना गर्नुपर्ने भएपछि गाउँपालिकाले अहिले धमाधम सार्वजनिक जग्गा खोजिरहेको छ । पालिका अध्यक्ष बैंजुप्रसाद गुप्ताका अनुसार नन्दन ताल अतिक्रमण चपेटामा परेका कारण यसलाई हटाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको छ । ‘लामो समयदेखि अतिक्रमणमा परेको भए पनि राजनीतिक स्थायित्व नहुँदा अतिक्रमण रोक्न सकिएको थिएन,’ उनले भने,
‘अतिक्रमण रोकेर सुन्दर पार्क र तालको संरक्षण गर्न कार्ययोजना तयार पारेका छौं ।’ ताल अतिक्रमणसँगै जलचर र जल वनस्पति पनि लोप हुँदै छन् । नन्दन तालजस्तै पूर्वी र पश्चिम नवलपरासीका ऐतिहासिक तालतलैया धमाधम अतिक्रमण भइरहेका छन् । खेतीपाती वा बस्ती बसाउने नाममा सार्वजनिक ताल पुरेर संरचना निर्माण गर्दासमेत प्रशासन र स्थानीय तह मौन बस्दा यस्तो प्रवृत्ति झनै बढेको छ । रामग्राम नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी छन् ।

केही वर्षअघि स्थानीयले तालको पानी खान्थे । अहिले ताल सुक्दै जाँदा पानीको स्रोत नै सकिएको छ । नगरपालिकाले ताल संरक्षण गरेर आयआर्जन गर्ने योजना ल्याए पनि खासै प्रभावकारी हुन सकेको छैन । केन्द्रबाट वातारवरण मैत्री योजना आउँदा सार्वजनिक तालमा वृक्षरोपण र माछापालन गरे पनि कार्यक्रम सकिएपछि भने यसले निरन्तरता पाउन सकेको छैन । नगरपालिका सहरी विकास शाखाका प्रमुख रुदल यादवका अनुसार सार्वजनिक जग्गा र तालको खोजी भइरहेको छ । केही
स्थानमा हुने गरेका अतिक्रमण प्रयास रोकिएको उनले दाबी गरे ।

पश्चिम नवलपरासीकै बर्दघाट नगरपालिका जहदास्थित पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेको बुद्धमंगल तालको अवस्था उस्तै छ । यो गौतम बुद्धसँग सम्बन्धित ताल हो । बुद्ध त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा यस तालको कुटीमा एक रात बसी तालको पानी खाएर मात्र यात्रा गर्ने गरेको धार्मिक मान्यता अझै छ । केही वर्षअघि साबिक जहदा गाविसले ताल व्यवस्थापन गरी माछा पाल्न खोजे पनि ऐतिहासिक भएकाले माछा पालन गर्न नहुने भन्दै रोकिएको थियो । गौतम बुद्धसँग सम्बन्धित भएकाले प्रचारप्रसार र व्यवस्थित गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सक्ने सम्भावना रहेर पनि धमाधम अतिक्रमण भइरहेको छ । करिब १० देखि १२ बिघामा फैलिएको ताल वर्षांैदेखि अतिक्रमण चपेटामा पर्दा ७ बिघामा समेटिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सरावल गाउँपालिका तुलसीनगरको ताल कहिले माटोले पुर्ने त कहीले माछा पालन गर्ने भन्दै पुन: खन्दा वर्षामा मात्र पानी जम्ने पोखरीमा परिणत भएको छ । आयआर्जनका लागि भन्दै स्थानीयले माछापालन योजना ल्याए पनि सफल नहुँदा अस्तित्व नै धरापमा परेको छ । स्थानीयले अतिक्रमण गरेर वर्षौंदेखि खेती गर्दै आए पनि सरकारी निकायको उदासीनताले अतिक्रमण रोकिएको छैन । राजनीतिक दलको दबाब र अतिक्रमण गर्ने स्थानीय कुनै न कुनै पार्टी आबद्ध भएकाले यसलाई राजनीतिक मुद्दाका रूपमा सरकारी निकायले लिँदा स्थानीय तहले समेत रोक्न सकेको छैन । जिल्लास्थित सरकारी निकायलाई तालबारे जानकारी हुँदासमेत आवश्यक कदम चाल्न नसक्दा अतिक्रमणकारीको मनोबल बढेको छ । तालको संरक्षण र विकासका लागि तालको नापनक्सासमेत भएको छैन ।

प्रकाशित : वैशाख ८, २०७५ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?