१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

माछा आकर्षण

मनोज पौडेल

कपिलवस्तु — किसानको मुख्य आकर्षण माछा । माछाकै लागि ७ सय हेक्टरमा पोखरी खनिएको छ । यसबाट वार्षिक १ हजार २ मेट्रिक टन उत्पादन भइरहेको छ । राम्रो आम्दानीकै कारण धेरै किसान यसतर्फ आकर्षित भएका हुन् ।

माछा आकर्षण

यहीकै कारण भारतीय माछाको आयात पनि कमी भएको छ । ५ वर्षअघि ८० प्रतिशतभन्दा आयात हुनेमा अहिले ३० मा झरेको छ । यहाँको उत्पादनले जिल्लाको ५० प्रतिशत माग पूरा हुन्छ ।

कृषि प्राविधिकका अनुसार २० प्रतिशत माछा अन्य जिल्लाबाट आउने गरेको छ । अहिले मुलुकमै बढी माछा उत्पादन गर्ने रूपन्देही र जनकपुरलाई जिल्लाले २ वर्षमा पछि पार्ने जिल्ला कृषि प्रमुख खुर्सेदअहमद खाँ बताउँछन् । ३ वर्षअघि ४ सय हेक्टरमा माछा पालिएको थियो । अहिले ७ हेक्टर पुगेको छ । ३ वर्षअघि वार्षिक ८ सय मेट्रिकटन उत्पादन हुनेमा अहिले १ हजार २ सय उत्पादन हुन्छ । उनका अनुसार चालु वर्ष थप १ सय हेक्टरमा माछापालन हुनेछ । त्यसले अन्य जिल्लाबाट आउने माछा अझै घट्ने उनी बताउँछन् ।

जिल्लामा वार्षिक २४ करोडभन्दा बढी मूल्यका माछा उत्पादन हुन्छन् । सिल्भर, ग्रास, बिगहेट, कामन, रोहु, भाकुर र नैनी जातका माछा बढी उत्पादन हुन्छ । जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा बढी माछा उत्पादन हुन्छ । ‘३ वर्षअघि क्षेत्र/विभागबाट माछा पोखरी हेर्न कोही आए कहाँ लगेर देखाउने भन्ने हुन्थ्यो,’ प्रमुख खाले भने, ‘अहिले सजिलो छ । सामान्य हेर्ने कि अत्याधुनिक भनेर उल्टै प्रश्न गर्छु ।’ गत वर्ष ६६ नयाँ किसानले व्यावसायिक पोखरी बनाएका थिए । उनीहरूले ६ कट्ठादेखि ३ बिघासम्ममा पोखरी बनाएका छन् । यस वर्ष ४० कृषकले पोखरी खनेर माछा पालन तयारी गरिरहेको कृषि कार्यालयले जनायो ।

जिल्लामै ठूला पोखरी बनाएर शिवराज नगरपालिका ११ हरहवाका फरहान र फुरकान अकवाल खाँले माछा पालेका छन् । ११ हेक्टरमा ४० पोखारी बनाइएको छ । २ करोड ७० लाख लगानी गरेर फर्म सञ्चालन गरेका छन् । ‘बर्सेनि ६० देखि ७० लाखमात्र आम्दानी गर्न सकेका छौं,’ फरहानअकवाल खाँले भने, ‘राज्यको नीति राम्रो नहुँदा समस्या भइरहेको छ ।’ उनको माछाको भुरा देशका १८ देखि २० जिल्लासम्म पुग्ने गर्छ । वाणगंगा नगरपालिका ९ चम्कीपुरका भरतबम कार्कीले पनि २ वर्षदेखि माछापालन सुरु गरेका छन् । २५ लाखभन्दा बढी लगानी गरेर उनले साढे ९ लाख भुरा र ३० हजार माछा पालेका छन् । भुरा उनले थोरै ठूलो बनाएर बिक्री गर्न लगानी गरेका हुन् । योजना बनाएर काम थालेको छु, कृषि प्राविधिकदेखि सबैले सहयोग गरेकाले उत्साहित भएको उनले बताए ।

जिल्लामा प्राकृतिक जलाशय बढी रहेको र धेरै इँटा भट्टा बन्द रहेकाले त्यसमा माछा पालन गर्न पोखरी खन्न नपर्दा कम लगानीमै काम गर्न सकिँदा कृषक आकर्षित बनेका हुन् । त्यस्तै जग्गा भाडामा लिएर पनि पोखरी खनी माछापालन गर्न कम लगानी हुने हुँदा आकर्षण बढेको हो । जोखिम कम आम्दानी बढी हुन्छ कृषिका योजना अधिकृत उमेश श्रेष्ठले भने, त्यही भएर माछापालनले व्यावसायिकता पाउँदै गएको छ । जिल्लामा माछा पाल्ने ६ सय कृषक छन् । जसमा १ सय महिला छन् । ५ वर्षअघि ३ बिघामा माछापालन थालेका शिवराज नगरपालिका ६ वसन्तपुरका लक्ष्मण भण्डारीले गत वर्ष थप ४ बिघामा पोखरी खनेका थिए ।

अनुभवले खारिँदै राम्रो आम्दानी गरिरहेका उनी अहिले सफल माछापालक कृषक बन्न लागिपरेको बताए । ५ वर्षदेखि एक बिघामा ३ लाखभन्दा बढी आम्दानी गर्दै माछापालन गरिरहेका छन् । राम्रो आम्दानी भएरै उनले अहिले माछापालनमा मात्र ७० लाखभन्दा बढी लगानी गरिसकेका छन् । धान गहुँभन्दा २ सय प्रतिशत बढी आम्दानी हुने हुँदा कृषक यता आकर्षित हुन थालेका कृषि प्राविधिक बताउँछन् । सातामा एक/दुई नयाँ कृषक माछापालनका लागि राय सुझाव लिन आउने गरेको अधिकृत श्रेष्ठले बताए ।

अन्य बालीभन्दा राम्रो आयआर्जन र माग बढी भएकाले कृषक त्यता आकर्षित भएका हुन् । माछा अझ बजारसम्म पुर्‍याउनै पर्दैन, यहीं किन्न आउने गरेकाले समस्या छैन । माछापालन बढेकै कारण अहिले वाणगंगा नगरपालिका ८ बभनीमा ६ करोडको लागतमा दाना उद्योग सञ्चालनमा आएको छ । चिनियाँ प्रविधिबाट उत्पादित दाना मुलुकभरि बिक्री वितरण गरिने बताएको छ ।

प्रकाशित : वैशाख १, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?