कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जबरजस्ती करणीका उजुरी बढे

प्यूठान — जबरजस्ती करणी र हिंसाका घटनामा उजुरी गर्ने क्रम बढेको छ । यस्ता अपराधमा शून्य सहनशीलता अपनाउन थालेपछि न्याय मिल्ने विश्वाससाथ पीडितले प्रहरीमा उजुरी दिन थालेका हुन् । गत वर्षदेखि उजुरी दिन आउनेको संख्यमा चौगुणाले बढेको जिल्ला प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीका उजुरी बढे

प्रहरीको तथ्यांकअनुसार ०७२/७३ मा ९, ०७३/७४ मा ७ उजुरी परेका थिए । ०७४/७५ को आठ महिनामै २७ जबरजस्ती करणी उद्योगसम्बन्धी उजुरी परेका छन् । स्थानीयमा जनचेतना वृद्धिले उजुरी गर्ने बढेको जिल्लास्तरीय मानव अधिकार रक्षक संयोजक पार्वता आचार्यले बताइन् । ‘पहिले पनि गाउँघरमा जबरजस्ती करणीका घटन घटेकै हुन्थे,’ उनले भनिन्, ‘सहजै न्याय पाइन्छ भन्ने भएपछि पछिल्लो समय उजुरी बढेका हुन् ।’ उनले पहिले चेतनाको अभावले गाउँमै पीडित अन्याय सहेरै बसेको बताइन् ।

विभिन्न निकायले गाउँ–गाउँमा भिडियो डकुमेन्ट्री, सडक नाटक र जनचेतना जगाउने खालका र्‍यालीमार्फत कार्यक्रम लिएर गएकाले उजुरी बढेको आचार्यको बुझाइ छ । उनले जनचेतना फैलाउन सञ्चारको पनि भूमिका रहेको बताइन् । एसियाली विकास बैंकको सहयोगमा लैगिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम एक वर्षदेखि सञ्चालन गर्दै आएको जिल्ला प्रहरीका प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए । ‘महिला हिंसा र जबरजस्ती करणीमा हामीले शून्य सहनशीलता अपनाएका छौं,’ उनले भने, ‘यसले गर्दा अन्यायमा परे पनि न्याय पाइन्छ भनेर उजुरी गर्ने बढेका छन् ।’

चालु वर्षमा २७ उजुरी परेकोमा २४ को मुद्दा सरकारी वकिलमार्फत जिल्ला अदालतमा पेस गरिएको उनले बताए । प्रहरीले घटनामा संलग्न २४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको अनुसन्धानअनुसार यस वर्षमा छिमेकीबाट जबरजस्ती करणीका घटना बढी छन् । २०७४/७५ मा भएका घटनामध्ये एकै घरको १, छिमेकबाट १८, चिनजानबाट ६ र नातेदारबाट २ जबरजस्ती भएका थिए । धेरैजसोपीडितलले घटना भएको भोलिपल्टै प्रहरीमा उजुरी गरेका छन् ।

प्रकाशित : चैत्र २७, २०७४ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?