३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलात्कार मुद्दामा शून्य सहनशीलता

५ वर्षमा ३२ मुद्दा
काशीराम डाँगी

रोल्पा — जिल्लामा जबरजस्ती करणी मुद्दाको निष्पक्ष अनुसन्धान र छानबिन गरेर पीडितलाई न्याय प्रदान गर्न सरोकारवालाले माग गरेका छन् ।

बलात्कार मुद्दामा शून्य सहनशीलता

जिल्ला प्रहरीले मंगलबार सदरमुकाममा आयोजना गरेको ‘जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान’ अन्तर्गत कार्ययोजना निर्माण कार्यक्रमका सहभागीले जबरजस्ती करणी, त्यससम्बन्धी उद्योग र यौनजन्य हिंसाविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीसित माग गरेका हुन् ।

सहभागीले प्रहरीले चनाखो भएर निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा जोड दिए । अधिकारकर्मी श्रीकुमारी रोकाले अपराध ढाकछोप गर्न राजनीतिक दलले दबाब दिने गरेको आरोप लगाइन् । ‘सबै प्रकारका अपराधलाई जस्तै जबरजस्ती करणी र बलात्कारका घटनालाई ढाकछोप गर्न राजनीतिक संरक्षण दिनु राम्रो होइन,’ उनले भनिन्, ‘प्रहरीले पनि निष्पक्ष र शून्य सहनशीलताको सिद्धान्तअनुसार अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्छ ।’ जिल्लामा जबरजस्ती करणीका घटना वृद्धि भएकोमा चिन्ता थपिएको उनले बताइन् । यसलाई रोक्न नसकिए भावी पुस्ताले ठूलो पीडा सहनुपर्ने अवस्था आउने उनले बताइन् ।

रोल्पा नगरकी उपमेयर मनकुमारी घर्तीमगरले समाजमा जनचेतना वृद्धि गर्न स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै त्यसका लागि आमा समूह, महिला समूह तथा विद्यालयमा समेत सहभागिता विस्तार गर्नुपर्ने योजना अघि बढाएको सुनाइन् । नगर न्यायिक समिति संयोजकसमेत रहेकी उनले सबै प्रकारका चुनौतीका बीच समितिले काम गरिरहेको बताइन् । उनले पीडितलाई सुरक्षित स्थानमा राखेर थप अनुसन्धान गर्न सेफ हाउस निर्माणको अवधारणा अघि सारिएको जानकारी दिइन् ।

रोल्पा जिल्ला अदालतका स्रेस्तेदार मानबहादुर विष्टले अदालतमा दर्ता हुने घटनामध्ये जबरजस्ती करणी तथा बलात्कारसँग सम्बन्धित मुद्दाको संख्या बढी भएको बताए ।

उनले यस्ता अपराधप्रति शून्य सहनशीलताको सिद्धान्तअनुसार कार्य गर्नुपर्ने सुझाव दिए ।

विगत ५ वर्षको अवधिमा भएका जबरजस्ती करणीका घटनाको तथ्यांक प्रस्तुत एवं विश्लेषण गर्दै प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले यस अवधिमा यौनजन्य हिंसाका घटनामा वृद्धि भएको बताए । ‘जबरजस्ती करणीसम्बन्धी घटनालाई मुद्दाको रूपमा दर्ता गर्ने चेतना कम भएकाले यसलाई विस्तार गर्नुपर्ने देखिन्छ,’ प्रनाउ फुयालले भने । उनका अनुसार ५ वर्षको अवधिमा रोल्पामा जबरजस्ती सम्बन्धीका ३२ घटना भए ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७०/७१ मा जबरजस्ती करणी ६, जबरजस्ती करणी उद्योग १, ०७१/७२ मा जबरजस्ती करणी २, जबरजस्ती करणी उद्योग ३, ०७२/७३ जबरजस्ती करणी २, जबरजस्ती करणी उद्योग १, ०७३/७४ मा जबरजस्ती करणी ८, जबरजस्ती करणी उद्योग ३, ०७४/७५ को हालसम्म जबरजस्ती करणी ५ र जबरजस्ती करणी उद्योगका १ घटना दर्ता भएका छन् । यसरी जबरजस्ती करणीका २३ वटा र जबरजस्ती करणी उद्योगका ९ घटना छन् । तीमध्ये अधिकांश मुद्दा अदालतबाट फैसला भएको र केहीको अनुसन्धान जारी राखिएको फुयालले बताए ।

प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महरा क्षत्रीले जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग र बलात्कार लगायतका घटनालाई गम्भीर अपराधको घटना मान्दै न्यायिक प्रक्रिया अघि बढाउनु पर्ने बताए । ‘जबरजस्ती करणीको घटना मानवको अस्मितामाथिको अपराध भएकाले निस्पक्ष छानविन गर्नुपर्ने हुन्छ,’ उनले भने । जबरजस्ती करणी र बलात्कार घटनाको प्रमाण संरक्षण गर्न, निस्पक्ष अनुसन्धान गर्न तथा जाहेरीकर्ता र साक्षीको सुरक्षा गर्न प्रहरीलाई निडर भई लाग्न निर्देशन समेत दिए ।

प्रकाशित : चैत्र २२, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?