कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पारिवारिक विखण्डनले समस्यामा

ज्येष्ठ नागरिक राष्ट्रिय सम्मेलन
दुर्गालाल केसी

दाङ — ज्येष्ठ नागरिकको राष्ट्रिय सम्मेलन शनिबार घोराहीमा सुरु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले बढदो सहरीकरण र पारिवारिक विखण्डनले ज्येष्ठ नागरिकको उचित सम्मान र संरक्षण हुन नसकेको बताए ।

पारिवारिक विखण्डनले समस्यामा

‘सहरीकरणसँगै भौतिक सुखसुविधाको पछि दौडने संस्कृतिले परिवार एक ठाउँमा हुन सकेको छैन,’ उनले भने, ‘गाउँले भन्दा सहरीया जीवनमा पारिवारिक विखण्डन बढी छ । एकै ठाउँमा भएका परिवारका सदस्यको पनि मन फरक–फरक ठाउँमा हुने गरेको छ ।’ जीवनभर लालनपालन गर्ने र शिक्षादीक्षा दिने आमाबाबुलाई छोराछोरीले पालेको छु भन्ने संस्कार विकास भइरहेकोमा उनले दु:ख व्यक्त गरे । ‘बुबा आमालाई पालेको होइन, म उहाँहरूसँग बसेको छु भनेर गर्व गर्ने संस्कार विकास हुनुपर्छ,’ उनले भने, ‘बाआमाले दु:ख गरी हुर्काएको कुरा सन्तानले भुल्नु भएन । छोराछोरीले आफ्नो कर्तव्य भुल्नु हुँदैन ।’

घर्तीले ज्येष्ठ नागरिक ज्ञान, अनुभव र क्षमताले भरिपूर्ण भएको उल्लेख गर्दै उनीहरूको ज्ञानलाई राज्यले सदुपयोग गर्न आवश्यक रहेको बताए । ‘ज्येष्ठ नागरिकले जीवनको लामो कालखण्ड विभिन्न पेसा, व्यवसाय र कर्ममा बिताएका छन्,’ उनले भने, ‘उनीहरूको शैक्षिक र व्यावहारिक अनुभव राष्ट्रको आवश्यकता अनुसार सम्बन्धित क्षेत्रमा उपयोग गरे देशलाई फाइदा पुग्छ ।’ ज्येष्ठ नागरिकमैत्री कानुन निर्माण गरी समाजमा राम्रो संस्कार बसाल्ने दायित्व पनि राज्यको भएको घर्तीले बताए ।

प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले पछिल्लो समय अग्रजरूप्रतिको आदरभाव र सेवाभाव घटदै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । ‘समाजमा अनुशासन हराउँदै गयो । मानवीय मूल्य र दायित्व मर्दै गएको छ,’ उनले भने, ‘परिवार र समाजका पाका मानिसलाई उचित सम्मान र आदर हुन सकेको छैन । नयाँ पुस्ताले पुरानाबाट सिक्न पनि कञ्जुस्याइँ गरिरहेको छ ।’ कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती गौतम, माओवादी केन्द्रका नेता लुमबहादुर कार्की, लमही नगरपालिका प्रमुख कुलबहादुर केसी र घोराही उपमहानगरपालिका उपप्रमुख सीता न्यौपानेले राजनीतिक दल र स्थानीय सरकार ज्येष्ठ नागरिकप्रति जिम्मेवार भएर नीति निर्माणतर्फ लागिरहेको जनाए ।

प्रदेश नम्बर १ का ज्येष्ठ नागरिक भवानीप्रसाद दाहाल, २ का शंकरमान दास, ३ का देवीप्रसाद देवकोटा, ४ का कुसुमकेशव पराजुली, ५ का विनबहादुर पौडेल, ६ का बालकृष्ण श्रेष्ठ र ७ का शारदा चन्दले वृद्धाश्रम कारागारजस्तै भएको गुनासो गर्दै घरमै सम्मानित जीवन जिउने वातावरण आवश्यक रहेको बताए । ज्येष्ठ नागरिकले घरमा बसेर घरबारीको चौकिदारी, बालबालिकाको हेरचाह गरेर केयर गिभर र परिवारका सदस्यलाई सूचना आदानप्रदान गरेर जनसम्पर्कको काम गरिरहेको उनीहरूले बताए । ज्येष्ठ नागरिकलाई बोझका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने धारणा उनीहरूको थियो । कार्यक्रममा निर्वाचन अधिकृत नारायणप्रसाद धितालले निर्वाचन तालिका, महासचिव छत्र प्रधानले प्रगति प्रतिवेदन र भावी कार्ययोजना तथा डा. चिन्तामणि योगीले प्रमुख वक्ताका रूपमा प्रवचन दिएका थिए । कार्यक्रममा मदनदास श्रेष्ठ, भोलानाथ योगी र हरिप्रसाद पाण्डेले ज्येष्ठ नागरिक हरेक परिवारको गहना भएको बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिकको क्षेत्रमा सेवारत व्यक्ति र संस्थाहरूलाई सम्मान गरिएको थियो । उक्त अवसरमा विभिन्न व्यक्तिले अक्षयकोष स्थापनाका लागि सहयोगको घोषणा गरे । सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

प्रकाशित : चैत्र १९, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?