यी हुन् समृद्धिका आधार

-ऐतिहासिक धरोहर -कृषि उद्यम -उद्योग, कलकारखाना -धार्मिक पर्यटन -हिमाल आरोहण  -पैदलयात्रा
‘भौगोलिक विविधता नै मूल सम्पत्ति’

दाङ — प्रदेशलाई समृद्ध बनाउन विभिन्न सम्भावना रहेको विज्ञले बताएका छन् । रुकुमपूर्व हिमाली जिल्लामा पर्छ । रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा र गुल्मी पहाडी जिल्लामा छन् भने पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तराईमा पर्छन् ।

यी हुन् समृद्धिका आधार

रुकुमपूर्वको सिस्ने हिमाल र रोल्पाको जलजला हिमाली क्षेत्रका गहना हुन् । सिस्ने हिमाल आरोहण गर्न र जलजला पहाडको सुन्दरतामा रमाउन पर्यटकलाई आकर्षित गर्न सकिन्छ । सिस्ने हिमालसम्म पैदल मार्गको समेत तयारी गरिएको छ । पहिलोपटक सिस्ने आरोहण गरेका रुकुम पश्चिम बाँफिकोटका मनबहादुर खत्री हिमाल आरोहण र पैदल मार्गका हिसाबले पनि यस प्रदेशमा धेरै सम्भावना रहेको बताउँछन् ।

यसैगरी धार्मिक पर्यटनका हिसाबले पनि यहाँ धेरै सम्भावना छन् । गौतम बुद्धका कारण लुम्बिनी र कपिलवस्तुमा अहिले पनि धार्मिक पर्यटन फस्टाइरहेको छ । लुम्बिनीमा भइरहेको विकासले अझै ठूलो मात्रामा पर्यटक तान्न सकिने सम्भावना छ । पाल्पा दरबार, प्यूठानको स्वर्गद्वारी, गुल्मीको रिडी, अर्घाखाँचीको सुपादेउराली, दाङको धारपानीस्थित देशकै अग्लो त्रिशूल, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रुकुमपूर्वको कमल दहलगायत पर्यटकीय क्षेत्रले यस प्रदेशलाई समृद्ध बनाएको छ ।

अहिले पनि बर्दियाको ठाकुरद्वारामा ठूलो मात्रामा पर्यटक आइरहेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको तयारी, बाँके र दाङमा रहेका विमानस्थल पनि पर्यटक प्रवद्र्धनमा सहयोगी छन् । रुकुम पूर्व र रोल्पामा विभिन्न ऐतिहासिक युद्ध संग्रहालय र युद्ध पर्यटनको विकास गरिँदैछ । रुकुमको चुनबाङ, रोल्पाको थबाङजस्ता युद्ध पर्यटनका केन्द्र यहीं छन् ।

कृषि उत्पादनका हिसाबले पनि दाङ, बाँके, बर्दिया, कपिलबस्तु, रूपन्देही र पश्चिम नवलपरासी उर्वर क्षेत्र छन् । तराईका फाँट कृषिमा राम्रो उत्पादन दिन पर्याप्त छन् । बर्दियाको राजापुर क्षेत्र लामो समयदेखि खाद्य भण्डारका रूपमा परिचित छ । तराई क्षेत्र जमिनकै हिसाबले धनी रहेको अर्थशास्त्रका सहप्राध्यापक प्रियवर्त आचार्य बताउँछन् । ‘तराईमा पर्याप्त खेतीयोग्य जमिन छ । पानीका स्रोत सदुपयोग गर्न सकेमा कृषि उत्पादनमा राम्रो प्रगति गर्न सकिन्छ,’ उनले भने, ‘पशुपालन पनि अर्को सम्भावना हो । पहाडी र जंगल क्षेत्र धेरै भएकाले यसको सम्भावाना छ । कुखुरापालनको पनि त्यत्तिकै सम्भावना छ ।’

उद्योग धन्दाको पनि ठूलो सम्भावना रहेको उनले बताए । कृषिसँग सम्बन्धित राइसमिल, फ्लोर मिल, बेकरीजस्ता व्यवसाय फस्टाउन सहज रहेको उनको भनाइ छ । ‘पहाडतिर भूबनोटका हिसाबले अदुवा, मालागिरी, फलफूलजस्ता उत्पादनको सम्भावना छ । ठाउँठाउँमा बोरिङको पानीबाट सिँचाइ गर्न सकिने पर्याप्त सम्भावना छन् ।’

सडकको विस्तार हुनबित्तिकै उत्पादित वस्तुको बजारसँग सीधै सम्बन्ध हुने आचार्यले बताए । ‘चक्रपथ निर्माण गरेमा कृषि उपजको बजारमा पहुँच हुन्छ,’ उनले भने, ‘पूर्वाधार विकासमा सबभन्दा पहिले ध्यान दिनुपर्छ ।’ जडीबुटीका हिसाबले पनि पहाडी जिल्लामा पर्याप्त सम्भावना रहेको उनले बताए । उद्योगका हिसाबले तराईका जिल्ला ठूलो सम्भावना रहेको उनी बताउँछन् । अहिले पनि दाङ, बाँके र रुपन्देहीमा ठूल्ठूला उद्योग सञ्चालित छन् ।

वनजंगल, पानी र जलविद्युत्का हिसाबले पनि यो प्रदेश समृद्ध रहेको भूगोल शास्त्रका प्राध्यापक डा. धरणीकुमार शर्माले बताए । तिनाउ, राप्ती, बबई, माडी, भेरी, रुकुम गाड, कर्णालीजस्ता नदीमा जलद्यिुत् उत्पादन र सिँचाइको पर्याप्त सम्भावना छ । रुकुमपूर्व, रोल्पा र प्यूठानमा अहिले पनि विभिन्न लघु जलविद्युत् उत्पादन भइरहेका छन् ।

पहाडी क्षेत्रमा चुनढुंगाको पर्याप्त सम्भावना भएकाले सिमेन्ट उद्योगको राम्रो विकास भइरहेको शर्माले बताए । अहिले दाङमा मात्रै तीनवटा सिमेन्ट उद्योग छन् । अर्घाखाँची र कपिलवस्तुमा पनि उद्योग सुरु भएको छ । सुनौली, कृष्णनगर, कोइलावास, रुपैडिहा, राजापुरजस्ता भारतीय नाकाले दुई पक्षीय व्यापार व्यवसाय प्रबद्र्धनमा सहयोग मिलिरहेको छ ।

भौगोलिक विविधता नै प्रदेश ५ को सम्पत्ति भएको प्राध्यापक शर्माले बताए । ‘प्रविधि र दक्षताको अभावले भएका स्रोत साधनको खोजी गर्न कठिनाइ छ । उपयोग गर्न नसकेका स्रोत साधन धेरै छन्,’ उनले भने, ‘नदीहरूमा पानीको बहाव घटिरहेको छ । पानीको स्रोत घट्दो क्रममा छ । यसलाई संरक्षण गर्न सके बहुउपयोगी बनाउन सकिन्छ ।’

यस प्रदेशमा तराई बढी भएकाले माटो विकसित र उर्वरायुक्त भएको उनले बताए । पहिले तराईबाट धान, तोरी, मसुरो भारत निकासी भइरहेकामा अहिले आयात गर्नुपर्ने अवस्था आएकोमा उनी दु:खी छन् । ‘खाद्यान्नमा परनिर्भरता बढ्दै गएको छ । हाम्रो आवश्यकता पूरा गर्ने उत्पादन छैन । त्यसकारण जमिनलाई बढी उपयोग गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

पहाडी भेगमा भिरालो जमिन बढी भएकाले अन्य उत्पादनमा समस्या रहेको उनले बताए । त्यस्ता क्षेत्रको विकास गर्न कृषि क्षेत्रमा अनुदान बढाएर आयमूलक काममा प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । ‘किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्नुपर्छ । पशुपालनमा कमी आइरहेको छ । यसलाई बचाउन जोड गर्नुपर्छ,’ उनले भने, ‘पर्यटन विकासका धेरै कुरा भएका छन् तर लुम्बिनीबाहेक अन्य क्षेत्रमा पूर्वाधार अभाव छ ।’

कृषि र पर्यटन आधार

बाँके– प्रदेश पहिलो बैठकले विकास र समृद्धिमा जोड दिएको छ । त्यसका लागि बाँके र बर्दियाले कृषि, पर्यटन, औद्योगिक क्षेत्रमा योगदान गर्न सक्ने बिज्ञले औल्याए । उपयोगका लागि प्रदेश सरकारले दिर्घकालीन योजना अगाडि बढाउनु पर्ने उनीहरूको सुझाव छ । नेपालगन्ज औद्योगिक क्षेत्रका रूपमा परिचित छ । बाँके र बर्दिया निकुञ्ज छन् । राप्ती, बबई र कर्णाली नदी छन् । नेपालगन्ज भन्सारले दैनिक एक करोडभन्दा बढी राजस्व संकलन गर्छ । यी जिल्ला कृषिमा अत्मनिर्भरसँगै निर्यात क्षमता राख्छन् । मानसरोबर तीर्थयात्राका लागि नेपालगन्ज विमानस्थल ‘हब’ हो । प्रत्येक वर्ष हजारौं भारतीय पर्यटक नेपालगन्ज हुँदै तीर्थयात्रामा जान्छन् । बाँकेको सिक्टा सिँचाइ योजना र बर्दियामा बबई सिँचाइ योजना छन् । बर्दियाको बढैयाताल गाउँपालिकामा सयभन्दा बढी बिघामा फैलिएको सिमसार छ । तत्कालीन जिविसले एक करोडमा माछापालन ठेक्का दिँदै आएको थियो ।

‘प्रदेशलाई विकास र समृद्धि बनाउन यस क्षेत्रमा थुप्रै प्राकृतिक स्रोत र साधन छन् । तर उपयोगका लागि सरकारी नीतिमा भर पर्छ,’ राजनीतिक विश्लेषक प्राडा जनार्दन आचार्य भन्छन्, ‘सरकारले ठोस नीति ल्याउनु पर्‍यो । त्यहीअनुसार योजना बनाएर कार्यान्वयन गरे विकास र समृद्धि सम्भव छ ।’ दुईवटै राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रसँगै आर्थिक प्रयोजनका रूपमा प्रयोग गर्ने सम्भावन उत्तिकै छ । त्यसो त बर्दियाको ठाकुरद्वारा पर्यटकीय क्षेत्रका रूपमा परिचित भइसके पनि बाँके निकुञ्ज विस्तारै त्यसतर्फ अग्रसर हुने क्रममा छ । राप्ती, कर्णाली र बबई नदीमा र्‍याफ्टिङको सम्भावना उत्तिकै छ । बढैया सिमसारमा बोटिङ गराएर करोडौं रुपैयाँ शुल्क उठाउन सहयोग पुग्छ ।

फड्को मार्ने आशा

पाल्पा– तानसेन नगरपालिका २ मेहल्धाराका ८० वर्षीय भेमप्रसाद भट्टराई पैदल हिँडेर बुटवल पुगेको सम्झन्छन् । हेर्दाहेर्दै सिद्धार्थ राजमार्ग बन्यो । गाडीमा सरर बुटवल जाने अवसर मिल्यो । तर बनेको बेलाभन्दा अहिले बिग्रेको बाटो हेर्दा उनलाई दिक्क लाग्छ । दैनिक बजार डुल्ने र राजनीतिक खबर बुझ्ने भट्टराईसँग वैदेशिक भ्रमणको पनि अनुभव छ । ‘प्रदेशको अस्थायी मुकाम बुटवल तोक्दा र प्रदेशसभा सञ्चालन भएको देख्दा लाग्छ अब केही फरक अनुभूति गर्न पाइन्छ कि,’ उनले भने, ‘बुटवल र भैरहवामा तिव्र विकास हुने तर पाल्पा ओझेलमा पर्नु भएन ।’ उनले भौतिक पूर्वाधार र पर्यटनको विकासमा यहाँ फड्को मार्नुपर्ने बताए । युवा नेता माधव नेपाल पनि भौतिक पूर्वाधार र पर्यटनको विकासमा फडको मार्ने आशा व्यक्त गर्छन् । उनले प्रदेशको अब स्थायी राजधानीको पहल गर्ने हो भने यस क्षेत्रको विकासमा धेरै आशा गर्ने ठाउँ रहने बताए । ‘बुटवल राजधानी बन्दाको फाइदा सिद्धबाबा क्षेत्रको सडक र सिद्धार्थ राजमार्गको स्तरोन्नतिलाई पुग्नुपर्छ ।’ उनले यहाँका पर्यटकीय क्षेत्रहरू बल्ढेङगढी, रिब्दीकोट, रैनादेवी, रिडी, रानीमहल, राम्दी, केलादी, श्रीनगर, तानसेन, ताहँु, कौडे लगायतका स्थानको विकास हुनुपर्नेमा जोड दिए । पर्यापर्यटनको नमुना झिरुवास, सुकेताल, प्रभासताल, सत्यवती तालको पनि विकासका योजना बन्नुपर्ने बताए ।

बुद्धिजीवी निर्मल श्रेष्ठले मानव संशाधन होस् वा तिनाऊ नदी, चुरेलगायत प्रदेश राजधानी बुटवल हुँदा सामथ्र्यसंग जोडिनुपर्ने बताए । ‘प्राकृतिकमात्र होइन, इतिहाससँग जोडिएको रूपन्देही र पाल्पा हो,’ उनले

भने, ‘जसले गर्दा भोलिका दिनमा विकासले फडो मार्न पनि सक्ने देखिएको छ ।’ यस क्षेत्रबाट निर्वाचित सांसदले यस विषयमा गहिरो अध्ययन जरुरी छ ।

संविधानले दिएको अधिकार प्रयोग गरेर नामाकरण, राजधानी सार्न पनि सक्ने भएको उनले बताए । ‘तर अहिले जुन अवस्था देखिएको छ अब बुटवल नै राजधानी बस्ने पक्का छ,’ उनले भने, ‘यस प्रदेशको विकासका लागि प्रदेश र राष्ट्रिय अर्थनीति बलियो हुनुपर्छ ।’ उनले अब गरिने कृषि, पशुपालन निर्यातमुखी बनाउनुपर्नेमा जोड दिए ।



जनसंख्या

विवरणघरधुरीपुरुषमहिलाजम्मा जनसंख्या

उपमहानगरपालिका१,२८,६५१२,७८,१६९२,९७,२१६५,७५,३८५

नगरपालिका३,५०,६१९८,२९,०३९९,२०,६३३१७,४९,६७२

गाउँपालिका४,०५,४८७१०,०३,३९०११,३६,७३८२१,४०,१२८

संस्थागत४४६२९,७१८४,३६९३४,०८७

जम्मा८,८५,२०३२१,४०,३१६२३,५८,९५६४४,९९,२७२

स्रोत : केन्द्रीय तथ्यांक विभाग

प्रकाशित : माघ २३, २०७४ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?