पूर्वीनवलपरासी — कावासोतीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयदेखि पूर्वमा रहेको ३ कठ्ठा जग्गामा निर्माण हुने भवनको जिल्ला ट्राफिक प्रहरी निरीक्षक अच्युतराज आचार्यले बुधबार शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको ३ करोड २ लाख लगानीबाट निर्माण सुरु गरिएको भवन आगामी १६ महिनाभित्र निर्माण सम्पन्न हुने प्रहरी निरीक्षक आचार्यले जानकारी दिए । प्रहरीको नाममा रहेको जग्गामा दुई तल्ले पक्की भवन निर्माण हुने छ ।
गत १७ वर्षदेखि निजी घर भाडामा लिएर संचालन हुँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अब आफ्नै भवनबाट सेवा सञ्चालन हुनेछ । हाल भाडाको भवनमा कार्यालय संचालनमा रहेको छ ।
भवन निर्माण अघिल्तिर २२ कठ्ठा जग्गामा नेपाल प्रहरीले पेट्रोलपम्प निर्माण सुरु गरेको छ । आगामी १८ महिनाभित्रमा निर्माण भइसक्ने यो पम्प नेपालकै नमूना हुने प्रहरीको दाबी छ ।
प्रकाशित : भाद्र २०, २०८१ ०८:१२