कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भर्‍याङ उक्लिँदै पुग्नपर्छ गाउँ

श्रावण २५, २०८१
भर्‍याङ उक्लिँदै पुग्नपर्छ गाउँ

लमजुङ — कास्कीको सिमानामा पर्छ लमजुङको सिङ्दी र पसगाउँ । जहाँ ५ वर्षअघिमात्रै मोटर पुगेको थियो । त्यै पनि लमजुङबाट नभइ पोखराबाट ।

क्व्होलासोथार गाउँपालिका-५ सिङ्दी र ६ पसगाउँबासीलाई आफ्नै पालिका केन्द्र मालिङ पुग्न समेत पोखरा पुगेर सदरमुकाम बेंसीसहर हुँदै जानु पर्थ्यो, एकतर्फीमात्रै २ दिन लाग्थ्यो ।

मिदिमखोलामा पुल बनेपछि दुवै गाउँलाई पालिका केन्द्र मालिङदेखि सदरमुकाम बेंसीसहर पुग्न सहज भयो । तर, रुदीखोला र आसपासको खोलामा आएको बाढीपहिरोले पालिका केन्द्रदेखि सदरमुकाम बेंसीसहर र प्रदेश राजधानी पोखरा पुग्ने बाटो बन्द गरिदिएको छ ।

बाढीपहिरोले खोलाछेउका सडक बगाएका छन् । धान फल्ने खेतहरु पनि बगाएका छन् । पोखराबाट नियमित आउजाउ हुने बस चल्न छाडेको छ । लमजुङबाट नियमित सवारीसाधन चल्दैन । काम्रो खोलामा बाढीले क्षति पुर्‍याएपछि सिङ्दीका बासिन्दा पसगाउँ तर्फसमेत आउजाउ गर्न सकेका छैनन् ।

पोखरा साथै गाउँपालिका केन्द्र मालिङबाट भोंजे–चरागाउँ हुँदै गाउँ आउने सडक सिङ्दीबेंसीबाट पसगाउँ र सिङ्दीका लागि छुट्टिन्छ । पोखराबाट थुम्सीकोट, मुङ्ग्रेबेंसी, रबैडाँडा हुँदै पसगाउँ सिङ्दी पुग्ने बाटोको उगीकुना (मादी गाउँपालिका-८, कास्की) मा रुदीखोलाले भीरकुनाबाटै सडक बगाइदिएको छ । मानिसहरु जोखिम मोलेर हिँड्न बाध्य भएको क्व्होलासोथार गाउँपालिका-५, सिङ्दीका वडाअध्यक्ष गीतबहादुर गुरुङले बताए ।

उनका अनुसार साउन १२ गते रातिको बाढीले उगीकुना (पसगाउँ लघु जलविद्युत आयोजनापारी) करिब २५ मिटर बाटो बागएको छ । सिङ्दीबेंसी मोटरेबल पुलमाथि करिब ५० मिटर मोटरबाटो बगाएको छ । रुदी ‘ए’ जलविद्युत आयोजनाको पेनस्टक पाइपलाइनबाट जोखिमले हिँड्न बाध्य भएको उनले बताए । ‘सडकमै खोला बगेको छ । बगाएकै सडकमा भर्‍याङ राखेर हिँड्नु परेको छ, गाउँ उक्लिनु परेको छ’ उनले भने । सिङ्दीबेंसी मोटरेबल पुलदेखि सिङ्दीको हिमालय माविसम्मको सडक ८ ठाउँमा पहिरो खसेको उनले बताए ।

मानिस हिँड्न खोलाले बगाएको अप्ठ्यारो ठाउँमा करिब ६ मिटरको भर्‍याङ राखिएको छ । गाउँ आउँदा भर्‍याङ नआउँदै खोलामै हिँड्नुपर्ने हिमालय माविका शिक्षक मीरा गुरुङले बताइन् । ‘खोलामै हिँड्नुपर्दा बगाउने खतरा छ । भर्‍याङमा चढ्दा खस्ने जोखिम छ,’ उनले भनिन् ।

बाढीले सिङ्दीस्थित रुदीखोला छ्योम्रो झोलुङ्गे पुल पूर्ण रुपमा क्षति पुर्‍याएको छ । पुलबाट पश्चिम भागमा खोला बग्दा पमा, थमा, थुजी खेतबारीमा काम गर्न जाँदा साढे १ घण्टा हिँडेर पोंजे खोला झोलुङ्गे पुल प्रयोग गर्नु परेको गाउँले बताउँछन् । पहिरोले छ्योंडेहुँ, कुल्तुलगायत खेत समेत बगाएको छ ।

सिङ्दी र पसगाउँमा साउन १३ गतेयता सवारी आवागमन ठप्प छ । सडक बन्द भएपछि बिरामीलाई उपचारको लागि लैजान गाह्रो परेको वडाअध्यक्ष गुरुङले बताए । ‘धन्न हामी यसअघि नै पोखरा गएर सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्‍यौं, मालपोत कर उठायौं । नत्र, न हामी जान सक्नु, न गाउँले गाउँ आउन सक्नु हुने रहेछ । नवीकरण नै रोकिने सम्भावना हुन्थ्यो,’ उनले भने ।

क्व्होलासोथार गाउँपालिका ६, पसगाउँका अध्यक्ष मनलाल गुरुङका अनुसार पसगाउँ र सिङ्दी बाटो छुट्टिएको ठाउँ नआउँदै १ किलोमिटर पर रुदीखोलाका बाढीले सडक बगाएको छ । ‘बाढीले सडक बगाएपछि मान्छे नै हिँड्न नमिल्ने भयो । हामी भर्‍याङबाट आउजाउ गर्नु परेको छ । खोला बढेमा अझ बगाउने डर छ,’ उनले भने ।

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार पसगाउँ–सिङ्दीको सडक पूर्वाधार विकास कार्यालयले स्तरोन्नति गरिरहेको सडक हो । कास्कीमा पर्ने सडक पहिले नै निर्माण भएको हो । खोलाले कास्कीतर्फको सडक बगाउँदा लमजुङको सिङ्दी–पसगाउँलाई समस्या परेको उनले बताए ।

‘हामी सडक मर्मतको प्रयासमा छौं । केही दिनमा सुरु गर्छौं,’ उनले भने । पूर्वाधार विकास कार्यालय प्रमुख विवेक सिग्देलले सडक मर्मतको तयारी भइरहेको बताए । ‘८–१० ठाउँमै पहिरो छ । हाम्रोतर्फबाट कन्ट्याक्टर (निर्माण व्यावसायी) को मेशिन छ । हाइड्रोपावर (विन्ध्यवासिनी–रुदीखोला आयोजना) को पनि एउटा मेशिन हुन्छ । हामी मर्मत गर्छौं,’ उनले भने ।

प्रकाशित : श्रावण २५, २०८१ १२:१०
x
×