कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

न्याय निरुपणसम्बन्धी ‘मेलमिलाप’ सार्वजनिक

श्रावण २३, २०८१
न्याय निरुपणसम्बन्धी ‘मेलमिलाप’ सार्वजनिक

गोरखा — धार्चे गाउँपालिकाको न्यायिक समितिले तयार पारेको जनचेतनामूलक लघु चलचित्र ‘मेलमिलाप’ सार्वजनिक गरिएको छ । गाउँपालिकाले न्याय निरुपणसम्बन्धी सचेतनामूलक लघु चलचित्र निर्माण गरेको हो । एक कार्यक्रमका बीच जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटले मंगलबार उक्त चलचित्र विमोचन गरेका हुन् ।

वडा स्तरको मेलमिलाप केन्द्र र न्यायिक समितिको काम, कर्तव्य, अधिकार लगायत विषयलाई लघुचलचित्रमार्फत सन्देश दिन खोजिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले बताइन् । ‘न्यायिक समितिको भूमिकालाई अझै प्रभावकारी बनाउन भिडियो बनाएका हौं, कतिपय स्थानीयलाई न्यायिक समितिमा उजुरी दिनुपर्छ भन्ने विषय थाहा भएन, दुःख र पीडा लुकाएर बस्नुभयो,’ उनले भनिन्, ‘कुन उजुरी न्यायिक समितिमा दिने, कुन प्रहरीलाई दिने अलमल भएर पनि जनतालाई दुःख भयो, स्थानीयलाई कानुनी सचेतना दिने उद्देश्यले पनि भिडियो तयार पारेका हौं ।’

न्यायिक समितिबारे थाहा नहुँदा कतिपय स्थानीय उजुरी लिएर जिल्ला प्रहरी कार्यालयसम्म पुग्दा दुःख र झन्झट बेहोर्नुपरेको उनले बताइन् । वडा स्तरमा सचेतना दिन लघु चलचित्रले सघाउने उनले बताइन् ।

लघु चलचित्रमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहेको छ । धार्चे गाउँपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्ष २०८०/०८१ मा ३५ वटा उजुरी दर्ता भएका थिए । धेरै जसो उजुरी झैझगडा, छाडा चरिचरन, घरेलु हिंसा तथा ज्याला नदिएको लगायत विषयमा पर्ने गरेको पनि उपप्रमुख गुरुङले बताइन् । गत आर्थिक वर्ष न्यायिक समितिमा परेका ३५ मध्ये ३२ वटा उजुरीको फर्स्योट भएको छ । न्यायिक समितिका बारेमा जानकारी दिने उद्देश्यले गत आर्थिक वर्ष न्यायसम्बन्धी अन्तर्क्रिया कार्यक्रम पनि गरिएको उनले बताइन् ।

प्रकाशित : श्रावण २३, २०८१ १६:४४
x
×